नगरप्रमुखको कार्यकक्षमा उपप्रमुखको धर्ना

रासस

सोमबार, २० जेठ २०७६, २१ : ४१
नगरप्रमुखको कार्यकक्षमा उपप्रमुखको धर्ना

फाईल फोटो

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरप्रमुखको कार्यकक्षमा धर्ना दिएका छन् । नपाको विशेष नगरसभाको माग गर्दै उहाँहरुले धर्ना दिनुभएको हो । 

गत बिहीबार ज्ञापनपत्र बुझाउँदै विशेष नगरसभा माग गरेका जनप्रतिनिधिहरुले नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बेवास्ता गरेको भन्दै आज प्रमुखको कार्यकक्षमा धर्ना दिएका हुन् । दिउँसो २ बजे शुरु भएको धर्ना कार्यक्रम साँझ ७ः३० बजेसम्म चलेको थियो ।

जनप्रतिनिधिहरुले नगरप्रमुख श्रेष्ठलाई कार्यकक्षबाहिर जान नदिई धर्ना बसेका थिए । धर्नापछि नगरप्रमुख श्रेष्ठले उपप्रमुखलगायतको विशेष नगरसभाको माग पत्र दर्ता गर्ने तोक आदेश दिएको वडा नं १ का वडाध्यक्ष सुरज खड्काले बताउनुभयो । 

उपप्रमुख मधिकर्मीलगायत नपाका ३५ जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१९) को उपदफा (३) र ३ नं प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम नगरका विभिन्न पाँच वटा विषयमा छलफल गर्न आवश्यक भएको भन्दै विशेष नगरसभा बोलाउन माग गरेका थिए ।

    नगरपालिकाले उठाउँदै आएको करको दर समसामयिक बनाई पुनरवलोकन गर्न, भौतिक पूर्वाधार विकासको (मापदण्ड) संशोधन सम्बन्धमा, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा (क) मा भएका नगरप्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगरप्रमुखले काम गरेको आरोप लगाइएको छ ।  

प्रतिक्रिया दिनुहोस