रामपुरवासीले भने, धुर्मुस सुन्तली जिन्दावाद (भिडियोसहित)

रंगशाला बनाइछाड्ने चितवनवासीको प्रतिवद्धता

सूर्यप्रकाश कँडेल

शनिबार, १८ जेठ २०७६, १२ : २६
रामपुरवासीले भने, धुर्मुस सुन्तली जिन्दावाद (भिडियोसहित)

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी तारबार भत्काउनेहरुप्रति आक्रोश व्यक्त गर्दै स्थानीयवासीले धुर्मुस र सुन्तलीको जयजयकार गरेका छन् । उनीहरुले धुर्मुस सुन्तली जिन्दावाद, भत्काउनेले बनाउनै पर्छ भन्ने नारा लगाएका थिए ।
गणतन्त्र दिवसको बिहानै अराजक समूहले डोजर लगाएर तारबार भत्काएपछि ठप्प रहेको रंगशाला निर्माणको काम शनिबार बिहान पुनः सुरु गरिएपछि स्थानीयवासीले धुर्मुस र सुन्तलीको जयजयकार गरेका हुन् । शुक्रबार राति भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ का पाँच वटा टोल विकास संस्थाको संयुक्त बैठकले डोजर लगाएपछि भत्केको तारबार उठाउने, सुरक्षा दिने, रंगशाला निर्माण पुनः सुरु गर्न आग्रह गर्ने निर्णय गरेपछि रंगशाला निर्माणको काम शनिबारदेखि सुरु भएको हो ।  
बैठकको निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मीनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मीनबहादुर बस्नेत, रामपुर टोल विकास संस्थाकी रिता बस्ताकोटी, प्रकृति टोल विकास संस्थाका रामचन्द्र बस्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका सुशील लामाले हस्ताक्षर गरेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो घटनामा संलग्न कसैलाई पनि कुनै पनि हालतमा नछाडिने बताएका छन् । आफ्नो जागीर गए पनि, सरुवा भए पनि, बढुवा रोकिए पनि जुनसुकै हालतमा घटनाका सबै दोषीलाई कारबाही हुने र घटनाका मुख्य योजनाकारलाई हदैसम्मको सजाय गरिने प्रजिअ बस्नेतले बताए । उनले निर्माणस्थलमा भएको क्षतिको लगत लिएपछि बिगो उनीहरुबाटै भराइने बताए ।
घटनाका दोषी जो भए पनि कहीँ कतैबाट संरक्षण नगर्ने महानगरमा गत बिहीबार आयोजित बैठकका सहभागी सबैले प्रतिवद्धता जनाएका थिए । बैठकको अध्यक्षता गरेकी महानगर प्रमुख दाहालले घटना जघन्य प्रकारको भएकाले दोषीलाई हदैसम्मको कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरिन् ।

प्रकाश निलम्बित
भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काउने कार्यको नेतृत्व गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तारबार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताएका हुन् । विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, जिल्लाका सबै राजनीतिक पार्टी, भरतपुर महानगरपालिका लगायत सबैको सहयोग र सहानुभूति रहेको रंगशालाको निर्माणमा ठूलै हौसला बोकेर अगाडि बढेको धुर्मुस सुन्तली फाउण्डेसनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हाम्रो पार्टी नेकपा चितवन साथ र सहयोगका लागि हरदम तयार रहेको प्रतिवद्धता जनाउन चाहन्छ ।’
यसैबीच, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पनि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् । उनले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै नेपाली काँग्रेसले ध्वंस र हिंसामा होइन, निर्माणमा विश्वास गर्ने उल्लेख गरेका छन् ।

हदैसम्मको कारबाही माग
भरतपुर महानगर प्रमुख रेनु दाहालले गत बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार डोजर लगाई भत्काउने कार्यमा संलग्न दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेकी छिन् ।
‘यस महानगरको वडा नम्बर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुको नेतृत्वमा भएको तोडफोड र डोजर लगाई सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य भएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ’ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । यस गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारबाही र क्षतिको यकिन गरी बिगो बमोजिम क्षतिपूर्ती भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’


जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस सुन्तली फाउन्डेसनलाई अनुरोध गर्दै महानगर प्रमुख दाहालले उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गरेकी छिन् ।
गत बुधबार रंगशाला निर्माण परिसरमा लगाइएको जस्तापातासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि स्थगित भएको धुर्मुस सुन्तली फाउण्डेसनले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले तत्काल विज्ञप्ती जारी गर्दै सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्मका लागि सम्पूर्ण काम यथास्थितिमा स्थगित गरिएको जनाएका हुन् । यसअघि पनि कर्मचारी र कामदारलाई धम्क्याउने, थर्काउने गरिरहेकोमा एकाएक डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने वातावरण नभएको विज्ञप्तिमा उल्लेख छ । 
फाउण्डेसनका अध्यक्ष कट्टेलले शनिबार रंगशाला निर्माणस्थलमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै आफूले गलत काम गर्ने मनसाय नराखेको र कुनै गलत पुष्टि भएमा रुखमा झुण्डिएर मर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस