मनाइयो कृष्ण सेन ‘इच्छुक’को १७औं स्मृति दिवस

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १६ : ४०
मनाइयो कृष्ण सेन ‘इच्छुक’को १७औं स्मृति दिवस

भरतपुर । प्रगतिवादी कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’को १७औं स्मृति दिवस शनिबार भरतपुरमा एक कार्यक्रमका बीच सम्पन्न भयो । प्रगतिशील लेखक संघ, चितवन शाखाको आयोजनामा भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

भारतको देहरादूनमा जन्मिएका इच्छुक सशस्त्र युद्धकालमा राज्यपक्षबाट मारिएका थिए । समाचार लेखेकै कारण पक्राउ परेका इच्छुकको २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेकै बेला मृत्यु भएको थियो । इच्छुकको स्मृतिमा आयोजित कार्यक्रममा वक्ताहरूले इच्छुकलाई प्रखर राजनीतिक चेतनाका साथ निर्भिक रुपमा जनताको पक्षमा कलम चलाउने लेखकका रुपमा स्मरण गरे ।

इच्छुकलाई सम्झिदैँ साहित्यकार हरिगोविन्द लुइँटेलले उनका रचनाहरूको समीक्षात्मक टिप्पणी गरे । परिवर्तनको निम्ति जनताको पक्षमा लेख्दा लेख्दै जीवन उत्सर्ग गरेका इच्छुकको सपना देश गणतन्त्रकालमा आइपुग्दा समेत वास्तविक अर्थमा पुरा हुन नसकेको उनले टिप्पणी गरे ।

कवि एवँ उपन्यासकार भूपिनले दश वर्षे जनयुद्ध बन्दूकको बलले मात्रै नभई इच्छुक जस्ता कलमजीविहरूले सांस्कृतिक रुपमा पनि लडेको बताए । अर्का वुद्धिजीवि प्रेम रिमालले पूर्ववक्ता भूपिनको टिप्पणीलाई समर्थन गर्दै इच्छुकको वैचारिक चेतना र शब्दको बलमा लडिएको जनयुद्धका नायकहरू सत्तामा पुगेपछि नैतिक रुपमा पतन भएको भन्दै रोष प्रकट गरे ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित भएकी कवि तथा नारी आन्दोलनका अभियन्ता कुन्ता शर्माले मुलुकमा राजनीतिक परिवर्तन आए पनि शासकीय सोच यथास्थितीमै रहेको टिप्पणी गरिन् । कम्युनिष्ट आन्दोलनको लामो चरणमा कम्युनिष्ट एकता र जनताको शासनको परिकल्पना गरिए पनि सत्ता सञ्चालनको वर्तमान स्थितीले जनताको स्थितीमा परिवर्तन ल्याउन नसकेको उनको भनाई थियो ।

इच्छुकको स्मृतिमा आयोजित उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ, चितवन शाखा पूर्वअध्यक्ष सरिता तिवारी र निवर्तमान अध्यक्ष सुमनराज श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । त्यस्तै प्रमुख अतिथी कुन्ता शर्मालाई प्रगतिवादी साहित्य रचनामा लामो समयदेखि अनवरत सक्रिय रहेकामा सम्मान गरिएको थियो । 

कार्यक्रममा सहभागीहरूले कविता समेत वाचन गरेका थिए । प्रगतिशील लेखक संघ, चितवन शाखाका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कवि इच्छुकको स्मृतिमा चितवनमा शाखाले पहिलो पटक कार्यक्रम गरेको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस