मुख गन्हाउने समस्याले क्यान्सर पनि हुन सक्छ

आइतबार, १२ जेठ २०७६, १४ : २०
मुख गन्हाउने समस्याले क्यान्सर पनि हुन सक्छ

- डा. सुवास घिमिरे
ओम समाज डेन्टल हस्पिटलका ओरल म्याक्जिलोफेसियल सर्जन

मुख गन्हाउने समस्याले व्यक्तिको व्यक्तित्वमा नै नराम्रो प्रभाव पार्छ । यस्तो समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ । जसले मुख र शरीर स्वस्थ छैन भन्ने स्वतः बुझाउँछ । साथै, मुख गन्हाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिपे्रसनमा हुन्छन् । आफ्नो सास आफैँलाई नगन्हाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ । यदि, लामो समयदेखि मुख गन्हाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ । त्यसैले, यसबारेमा बुझेर समयमै उपचार गरौँ । 

मुख गन्हाउने कारण
प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ नियमित खाँदा ।
पानी कम पिउने कारण मुख सुक्खा हुनाले ।
कफीको अत्यधिक सेवनले ।
दाँत तथा मुख राम्रोसँग सफा नगर्दा ।
सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्नाले ।
लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्नाले ।
लामो समयसम्म एउटै ब्रस प्रयोग गर्नाले ।
खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा ।
चिनी भएको चुइंगम चपाउनाले ।
गुलियोको मात्रा अधिक प्रयोग गर्नाले ।
गिजा सुन्निएर पाइरिया भएमा । 
पिनासको संक्रमण भएमा ।
धूम्रपान, मध्यपान तथा सूर्तीजन्य वस्तुको प्रयोगका कारण । 
दाँत किराले खाएर खाल्डो भएमा ।
मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा ।
टन्सिलाइटिस भयो भने । 
सुतेको वेला घुर्नु, मुख खालेर सुत्नु तथा मुखबाट सास फेर्ने बानी हुनु ।
एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु ।
श्वास नली र फोक्सोमा संक्रमण हुनु ।
खाना नली र पेटमा घाउ हुनु ।
शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुनु ।
पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु । 
नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले ।
जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा ।
कलेजोले काम गरेन भने ।
मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आउँछ । 
रेडियोथेरापी तथा क्यान्सरको उपचार गराउँदा पनि मुख गन्हाउँछ ।

रोकथाम र उपचार 
मुख गन्हाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि, यो ब्रस वा फ्लस गर्दा पनि जाँदैन ।
पर्याप्त मात्रामा पानी पिउने, जसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन । 
जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने । 
कफी र गुलियो खानेकुरा कम खाने ।
सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने ।
कृत्रिम दाँतमा खाना अड्किने भएमा राम्रोसँग सफा गर्ने । अझ ठीक नभएमा चिकित्सककोमा जाने ।
एउटा ब्रसलाई तीन महिनाभन्दा बढी प्रयोग नगर्ने । 
खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने । 
धेरै गुलियो, चकलेट र चुइंगमको प्रयोग कम गर्ने । 
गिजा सुन्निएमा उपचार गरेर ठीक पार्ने ।
पिनास र टनसिलको उपचार गर्ने ।
धूम्रपान अथवा सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
दन्त सडनको उपचार सही ढंले गर्ने ।
मुखका घाउ–खटिराको उपचार समयमै गर्ने ।
मुखमा क्यान्सर भएमा यसको उपचार समयमै गर्ने ।
मुखमा अम्लको मात्रा बढी आउन नदिने ।
खानपानमा ध्यान दिने र पेटको उपचार गर्ने ।
श्वासप्रश्वास नली र फोक्सोको समस्यालाई समयमै उपचार गर्ने ।
मधुमेह नियन्त्रणमा राख्ने ।
नियमित रूपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गन्हाउँछ, त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्ने । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस