भ्रष्टाचारी कर्नेल जेल चलान, जागिरबाट बर्खास्त

पत्रपत्रिकाबाट

आइतबार, १२ जेठ २०७६, ०७ : ४२
भ्रष्टाचारी कर्नेल जेल चलान, जागिरबाट बर्खास्त

काठमाडौं । ४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् । 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत अन्य आर्थिक हिनामिनामा सैनिक अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले ५ जेठमा सदर गरेका थिए । प्रधानसेनापतिको कार्यालयले सजायसम्बन्धी फैसला बिहीबार सुनाएको थियो । सेवाबाट बर्खास्त उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ । प्रधानसेनापति थापाको कार्यकालमा यति ठूलो रकम भ्रष्टाचार भएको र आरोपीले जागिरबाट बर्खास्तीको सजाय पाएको यो पहिलो घटना हो । 

कर्नेल कार्कीविरुद्ध गत फागुनमा सेनाको सिकायत जाँचबुझ निर्देशनालयमा उजुरी परेपछि छानबिन सुरु भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको प्रारम्भमा निर्देशनालय गठन भएको थियो । निर्देशनालयले उजरीका लागि अधिकांश सैनिक ब्यारेकमा पत्रमञ्जुसा बाकस राखेको छ । प्रमाणसहित परेको उजुरीमाथि छानबिन गर्न सेनाले कर्नेल शोभित अधिकारीको नेतृत्वमा कोर्ट अफ इन्क्वाएरी गठन गरेको थियो । कार्कीले गरेको भ्रष्टाचार पुष्टि भएको भन्दै कोर्ट अफ इन्क्वाएरीले २३ वैशाखमा कारबाहीका लागि सिफारिस गरेको थियो । लगत्तै उनलाई सैनिक प्रहरी हिरासतमा राखिएको थियो । 

उनको मुद्दा हेर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले     १८ नम्बर बाहिनीपति सहायकरथी हिमांशु खड्काको अध्यक्षतामा समरी सैनिक जनरल अदालत गठन गरेका थिए । सैनिक अदालतले २ जेठमा कार्कीलाई भ्रष्टाचार गरेको रकम असुल्न र पदबाट बर्खास्त गर्न आदेश दिँदै तीन महिना जेलसजाय पनि सुनाएको थियो । सेनाका अनुसार उनले भ्रष्टाचार गरेको रकम सरकारको राजस्वमा दाखिला भइसकेको छ । 

भ्रष्टाचार अभियोगमा सेनाले यसअघि भर्ना छनोटका ८१ जनालाई कारबाही गरिसकेको छ । पछिल्लोपटक बाँसबारीस्थित सेनाको रिपुमर्दिनी स्कुलका प्रधानाध्यापकसहित तीनजनालाई विद्यार्थी भर्नाका वेला अभिभावकबाट पैसा असुल गरेको अभियोगमा बर्खास्त गरेको थियो । सैनिक प्रवक्ता पाण्डेले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रधानसेनापतिको कमान्ड मार्गनिर्देशनअनुसार भ्रष्टाचार मुद्दामा छानबिन भइरहेको बताए । यो समाचार आजको नया पत्रिका दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस