सांसद विनोद चौधरी पुगे हावाहुरीबाट प्रभावित गाउँमा, मलहम लगाउन पीडितको घाउमा

सूर्यप्रकाश कँडेल

शनिबार, ११ जेठ २०७६, १८ : ०३
सांसद विनोद चौधरी पुगे हावाहुरीबाट प्रभावित गाउँमा, मलहम लगाउन पीडितको घाउमा

देवचुली । उद्योगपति एवं सांसद विनोद चौधरी पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा हावाहुरीबाट प्रभावितहरुको अवस्था बुझ्न शनिबार गाउँमै पुगेका छन् । 
आफ्नो निर्वाचन क्षेत्रमा हुरीले तहसनहस पारेको खबर पाउने बित्तिकै सांसद चौधरीले ब्यक्तिगत सहयोगमा हुरी प्रभावितलाई वितरण गर्न दस लाख रुपैयाँ बराबरको एक सय बण्डल रंगीन जस्तापाता २४ घण्टाभित्रै गाउँमा पठाएका थिए । गाउँ पुगेका सांसद विनोद चौधरीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् ।
गत बुधबार साँझ आएको हावाहुरीले देवचुली नगरपालिकाका विभिन्न वडामा हुरीले २ सय घरको छानो उडाएको थियो । सांसद चौधरीले शनिबार दिउँसो हुरी प्रभावित क्षेत्रको मुण्डे, रामबास, विशालटार, सीतावास लगायतको क्षेत्रका हुरीपिडतहरुलाई घरदैलोमै गएर भेटेका हुन् । 
आफ्नो निर्वाचन क्षेत्रमा हुरी गएको खबर सुन्नासाथ बास बस्नै नहुने परिवारलाई तत्काल बासको ब्यवस्था गर्न सघाउन आफूले नगरपालिकामार्फत एक सय बण्डल जस्तापाता उपलब्ध गराएको सांसद चौधरीको भनाइ छ । सरकारले थप सहयोग गर्ने आश्वासन दिएको उनले बताए । 
“हुरीले घरको छानो उडाएको २४ घण्टाभित्र टिन दिनुभयो, यस्तो पो नेता हुनु पर्छ” हुरीपीडित टीकाराम भुर्तेलले भने, “सरकारले सहयोग पहिले गर्ला ?” हुरी पीडितहरुले सांसद चौधरीलाई सरकारबाट तत्काल क्षतिपूर्ति दिलाईदिन पहल गरिदिन माग गरेका छन् । 
सांसद चौधरीले संसद र सरकारको ध्यानाकर्षण भैसकेको जानकारी दिँदै हुरीपीडितहरुलाई नगरपालिकाले क्षतिको यकिन गरेर विवरण तयार गरेपछि सरकार र अन्य निकायले सहयोग गर्दै जाने बताए । सरकारी निकायबाट सहयोगको आश्वासन पाएको स्थानीय भुपराज पाठकले बताए । 
चार दिनअघि गत बुधबार राति ८ बजे आएको हुरीले देवचुलीको २ सय घरगोठको छाना उडाएको थियो । तीमध्ये बास बस्नै नसक्ने र घर निर्माण गर्न पनि आर्थिक हैसियत नभएका २५ परिवारको छानो निर्माण गर्न सघाउन उद्योगपति तथा त्यहाँका सांसद चौधरीले २४ घण्टाभित्रै एक सय बण्डल जस्तापाता सहयोग गरेका थिए । 
देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले हुरीपीडितहरुको यकिन तथ्यांक संकलन गर्ने भैरहेको र चाँडो सरकारलाई विवरण पठाउने जानकारी दिए । मेयर श्रेष्ठले नगरपालिकाको तर्फबाट पुरै क्षति भएका परिवारलाई नगद २० हजार र आंशिक क्षति भएका परिवारलाई १० हजार नगद सहयोगको घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस