Safal Khabar - मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
बिहिबार, ०५ असार २०७६ (Thursday, 20 June, 2019)
मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
शुक्रबार, १० जेठ २०७६, २० : ४४
मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता

रोजगारी नपाएर दिनहूँ हजारौँ युवा रोजगारीको खोजीमा भौँतारिरहेका बेलामा स्याङ्जाकी अनिता गन्धर्व भने मादलमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । 

पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको घरमा २१ वर्षीया अनिता मादल बनाएर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । अनिताको दैनिकी बिहानदेखि साँझसम्म मादल बनाउने र खरी लगाउँदैमा बित्ने गर्छ । 

मादलमा खरी लगाउँदै गर्दाको अवस्थामा भेटिनुभएकी अनिताले पहिला लजाउँदै कुरा गर्न अलि अप्ठेरो मान्नुभयो । केही बेरको कुराकानीपछि खुलेरै आफ्नो व्यवसायका बारेमा बताउनुभयो । घरमा यत्तिकै बस्नुभन्दा काम गर्दा समय कटाउन सजिलो हुने उहाँले सुनाउनुभयो । शुरुमा अप्ठ्यारो जस्तो भए पनि काम गर्दै जाँदा अहिले आएर कमाइको राम्रो माध्यम हुनेरहेछ भन्ने बुझेपछि यसैमा अभ्यस्त हुन थालेको अनिताले अनुभव सुनाउनुभयो ।  । 

दुई वर्षदेखि मादल बनाउँदै आउनुभएकी अनिताले मासिक रु २५ देखि रु ३० हजारसम्म कमाइ हुने बताउनु हुन्छ । “काम भन्ने कुरा सानो ठूलो हुँदैन यतिकै बसेर अरूको कमाइको आश गर्नुभन्दा आफूले सकेअनुसारको काम गर्दा आवश्यक खर्च जुटाउन सकिन्छ”, अनिताले भन्नुभयो । परिवारको आश गर्न नपर्ने र घरपरिवार चलाउन सजिलो हुने भएकाले सीपअनुसारको काम गर्दा राम्रो हुने उहाँको सुझाव थियो । अनिताले यो पेशाबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । कमाउनकै लागि विदेश जानुभन्दा आफ्नै देशमा घर परिवार सँंगसंँगै बसेर सानोठूलो आफ्नो क्षमतानुसारको काम गर्न अनिताले आग्रह गर्नुभयो ।  

एउटा मादल रु तीन हजारदेखि रु पाँच हजारसम्ममा विक्री हुन्छ । मादल बनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था घरपरिवारले जुटाइदिने गरेका छन् । उत्तिस, गोएलो, सिरिसलगायतको काठ र छालाको प्रयोग गरेर मादल बनाइने अनिताले सुनाउनुभयो ।

उहाँको श्रीमान्ले ठेक्कापट्टाको काम गर्नुहुन्छ । अनिताको काममा घर परिवारका सबैको सहयोग रहेको छ । एउटा मादल बनाउन चारदेखि पाँच दिनसम्म लाग्छ । सीप र जाँगर भए परिवार पाल्नकै लागि विदेशिनु पर्दैन भन्दै उहाँले आफ्नै देशमा इलम गरेर घरपरिवारको खर्च चलाउन सकिन्छ भन्ने उदाहरण देखाउनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस