हावाहुरी पीडितलाई सांसद बिनोद चौधरीको सहयोग, सय बण्डल जस्तापाता दिइने

सूर्यप्रकाश कँडेल

विहीबार, ०९ जेठ २०७६, १५ : १६
हावाहुरी पीडितलाई सांसद बिनोद चौधरीको सहयोग, सय बण्डल जस्तापाता दिइने

– सूर्यप्रकाश कँडेल

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा हावाहुरीले छानो उडाएका परिवारलाई सांसद बिनोद चौधरीले एक सय बण्डल जस्तापाता सहयोग गर्ने घोषणा गरेका छन् । 
चौधरी फाउण्डेशनका अध्यक्ष सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा हुरीबतासले विपन्नहरु बिस्थापित भएको जानकारी पाए लगत्तै त्यहाँका घरबारविहीनलाई सघाउन ब्यक्तिगत खर्चमा एक सय बण्डल रंगीन जस्तापाता दुई दिनभित्रै उपलब्ध गराउने भएका हुन् ।
सांसद चौधरीले हुरी प्रभावित पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई बिहीबार पठाएको पत्रमा तत्काल उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । बजार मूल्य अनुसार १० लाखभन्दा बढी रकम पर्ने जस्तापाता घरबारविहीनलाई वितरण गर्न लागिएको हो । 
चौधरी उद्योगका महाप्रबन्धक मधु पौडेलले दिएको जानकारी अनुसार दुई दिनभित्र देवचुली नगरपालिकालाई त्यति परिणामको जस्तापाता उपलब्ध गराउने र खास घरबारविहीनलाई प्राथाकिमतामा राखेर नगरपालिकामार्फत वितरण गरिने ब्यवस्था मिलाइएको छ । चौधरी फाउण्डेशनले नगरपालिकालाई जस्तापाता उपलब्ध गराउने र नगरपालिकाले वितरण गर्ने बताइएको छ । 
गत मंगलबार राति डेढ मिनेट आएको हावाहुरीले देवचुली नगरपालिकाको सीतावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका २ सयभन्दा बढी घर, गोठको छानो उडाएको छ । हुरीले छानो उडाउँदा बास बस्न सक्ने अवस्था छैन । हुरीसंगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत पुरै भिजेको सीताबासका हुरीपीडित आशीष भुर्तेलले जानकारी दिए । उनले बर्षाद र चर्को घाममा हुरीबतासले छानो उडाउँदा बिचल्ली भएको सुनाए ।
देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले आफ्नो एउटै वडामा १ सय ९७ घरमा आंशिक क्षति र २५ भन्दा बढी घरमा पुरै क्षति भएको जानकारी दिए । पीडित पार्वती भुसालले छानो उडाएका कारण घरका डाँडाभाटा र पर्खाल समेत भत्किएकाले अधिकांशले नयाँ घर बनाउनु पर्ने अवस्था रहेको र बर्षाअघि आफूहरुको बिचल्ली भएको सुनाइन् । 
हावाहुरीले विपन्न अवस्थाका कम्तीमा ३ दर्जन घरधुरी घरबारविहीन भएका छन् । धरै क्षति भएर बास बस्ने उपाय नै नभएका परिवारलाई प्राथामिकतामा राखेर जस्ता वितरण गर्न देवचुली नगरपालिकालाई आग्रह गरिएको पौडेलले जानकारी दिए । 
देवचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले नेपालका उद्योगपति तथा कांग्रेस सांसद बिनोद चौधरीले सहयोग गर्ने घोषणाले आफू उत्साहित भएको बताए । मानवीय बिपतका बेलामा सांसद चौधरीले एक सय बण्डल रंगीन जस्तापाता दिने घोषणाले ठुलो राहत मिलेको उनले बताए । उनले घरबारविहीन र आर्थिकरुपले विपन्न परिवारलाई प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने बताए । 
चौधरीको ब्यक्तिगत सहयोगले अरु दाताहरु पनि उत्साहित भएर सहयोगमा आउन सक्ने भन्दै उनले बिपदको बेला नै सहयोगको खाँचो पर्ने भएकोले हावाहुरीबाट पीडित बासिन्दालाई सघाउन आग्रह गरे । मेयर श्रेष्ठले पूर्ण क्षति भएका परिवारलाई प्रतिघर २० हजार र आंशिक क्षति भएकाहरुलाई १० हजार दिने कार्यपालिकाको बैठकले निर्णय गरेर प्रकृया अघि बढाएको जानकारी दिए । 
आफुूले केन्द्र सरकार र प्रदेश सरकारलाई पनि २ सयभन्दा बढी घर तत्काल निमार्ण गर्नु पर्ने भएकाले आपतकालीन सहयोग गर्न आग्रह गरेको जानकारी दिए । वेगसँग आएको हावाहुरीले प्रत्येक घरको छानो उडाएकोले अधिकांश घर पुनर्निमार्ण गर्न आबश्यक रहेको उनले जानकारी दिए । 


हावाहुरीले घरको छानो उडाउँदा जस्तापाता अड्याउने डाँडाभाटा उखेलिएको र भित्तासमेत चर्केकाले स्थानीय बासिन्दा खर्चिलो अवस्थामा पुगेका छन् । घर निर्माण गर्ने रकम अभाव रहेकाले सरकारले तत्काल कम्तीमा प्रतिपरिवार ५ लाख रुपैयाँ उपलब्ध गराउन मेयरले माग गरका छन् । राहतमा ढिलाई हुँदा वर्षा शुरु भैसक्ने र घरबास नभएका परिवारहरुले थप कष्ट ब्यहोर्नु पर्ने उनले सुनाए ।
मंगलबार राति पौने आठ बजे डेढ मिनेट आएको हुरीले देवचुली नगरपालिकाको २ सय घरपरिवारको छानो उडाएको थियो । भोलिपल्ट बुधबार राति पुनः आएको हावाहुरी र असिनाले अघिल्लो दिन हल्लाएका घरगोठको छानो उडाएको देवचुली नगरपालिकाले जनाएको छ । 
हुरी प्रभावित क्षेत्रमा बिहीबारसम्म पनि सरकारले कुनै राहतको घोषणा गरेको छैन । हुरी प्रभावित क्षेत्रमा मेयर पूर्णकुमार श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि र नगरपालिकाका प्राविधिक उद्धारसँगै क्षतिको अवस्था बुझ्न स्थलगत निरीक्षणमा खटिएको नगरपालिकाले जनाएको छ ।
खानेपानीमा समस्या 
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालले बिद्युत पोल ढल्दा खानेपानी ट्यांकीमा पानी आपूर्ति हुन नसकेको जानकारी दिए । बिद्युत आपूर्ति नहँुदा ओभरहेड ट्यांकीमा पानी पठाउन नसकिएको र त्यसैको ब्यवस्थापनको काम भैरहेको ृउनले जानकारी दिए । शुक्रबार साँझसम्म नयाँ पोल राखेर बिद्युत आपूर्तिको ब्यवस्था मिलाइने उनी बताउँछन् । 
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु भुसालले क्षतिको विवरणको यकिन गर्नका लागि खटिएका प्राविधिकले छिट्टै पूर्ण विवरण दिने बताए । प्रभावित क्षेत्रमा राजनितिक दलका प्रतिनिधि प्रशासन, रेडक्रस, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु उद्धार र राहतका लागि सकृय भएका छन् ।

प्रतिक्रिया दिनुहोस