के दयाहाङको उकास्ला त करिअर ?

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, २० : १३
के दयाहाङको उकास्ला त करिअर ?

काठमाडौँ । करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट’ पछि अभिनेता दयाहाङ राईले नेपाली फिल्ममा केही वर्ष राम्रै वर्चश्व जमाए । त्यसअघि उनले सानातिना रोल गरेरै आफ्नो फिल्म करिअर जेनतेन अगाडि बढाइरहेका थिए । ‘लुट’ उनको जीवनको टर्निङ प्वाइन्ट साबित भएको थियो । यसपछि उनले आजसम्म करिअर पछाडि फर्केर हेर्नुपर्ने अवस्था सृजना भइसकेको छ । तर, उनले बिस्तारै आफ्नो साख भने गुमाउँदै गएका छन् । 
 
कति फिल्म उनले सम्बन्ध बनाउन र बचाउनका लागि गरे भने धेरैजसो पैसाको मुख हेरेर गरेको बताइन्छ । 'नेप्टे', 'भैरे', 'कान्छी', 'लाल्टिन' लगायतका करीब एक दर्जन फिल्म उनले स्क्रिप्ट वा आफ्नो भूमिकाभन्दा पनि पैसाको लोभले गरेको चर्चा छ । यी फिल्मले उनको करिअरमा नयाँ इट्टा थप्न कुनै मद्दत गरेनन् । बरु बलियो करिअरको पर्खाल नै कमजोर बन्यो । पैसामुखी हुँदा उनको लोभलाग्दो करिअर यतिबेला बालुवाको घरझैँ भएको छ ।
 
गएको दुई वर्षमा उनले अभिनय गरेका कति फिल्म हलमा लागे सायद दयाहाङलाई सम्झना पनि छैन होला । कति फिल्म आएको/गएको नै उनलाई पत्तो भएन । गत वर्ष मात्र उनका पाँचभन्दा बढी फिल्म प्रदर्शनमा आएका थिए । कुनै महिना हलमा उनी अभिनीत फिल्मका पोस्टर हप्तैपिच्छे समेत फेरिएका थिए । कम स्तरका धेरै फिल्म गर्दा धेरैले उनलाई ‘दोस्रो राजेश हमाल’ भएको आरोप पनि लगाएका छन् । 
 
गत वर्ष फिल्म 'भैरे' रिलिजताका उनले अब फिल्मको संख्यामा कमी गर्ने र सम्झनलायक फिल्म बढी गर्ने बोलेका थिए । तर, उनी आफ्नै बोलीमा टिक्न सकेनन् । 'भैरे' पछि न उनले कुनै सम्झनलायक फिल्म गरेको कसैले महशुस गर्न पाएका छन् न त फिल्मको संख्यामा नै कमी आएको छ । अहिले उनको पाइपलाइनमा गर्न बाँकी र रिलिज हुन बाँकी फिल्मको संख्या आधा दर्जन बढी छ । 

प्रतिक्रिया दिनुहोस