आमा निर्देशक छोरी नायिका

सोमबार, ३० बैशाख २०७६, १५ : २०
आमा निर्देशक छोरी नायिका

काठमाडौं । गत वर्ष झन्डै ३० नायिकाले फिल्ममा डेब्यु गरे । तीमध्ये सफल नायिकामा पर्छिन्, सुहाना थापा । नायिका झरना थापाकी सुपुत्री सुहानाले डेब्यु फिल्म ‘ए मेरो हजुर–३’ बाटै सफलता हात पारिन् । २९ चैतबाट प्रदर्शन भएको फिल्म हाल पनि राजधानीका केही हलमा प्रदर्शन भइरहेको छ । 

फिल्मको सफलतासँगै सुहानाको क्रेज पनि बढेको छ । दर्शकले उनलाई छिटै अर्काे फिल्ममा हेर्न चाहेका छन् । सुहाना भने आमा झरनाकै निर्देशनमा बन्ने नयाँ फिल्ममार्फत पुनः पर्दामा आउने सोचमा छिन् । 

गत बुधबार आफ्नो २१औँ जन्मदिन मनाएकी सुहानालाई अभिनय क्षेत्रमा लाग्न पारिवारिक माहोलले सहज बनाएको हो । ‘पहिला त मलाई अभिनयमा आउने चाहना थिएन । पछि मलाई केही कुराले निकै प्रभाव पार्‍यो,’ सुहाना भन्छिन्, ‘ए मेरो हजुर–२ को प्रिमियरमा सहभागी भएकी थिएँ । त्यतिवेला केही मिडियाले मेरो पनि अन्तर्वार्ता लिनुभयो । त्यो अन्तर्वार्तामा आएका कमेन्टले मलाई अभिनयमा करिअर बनाउन प्रेरित गरेको हो ।’

आमा झरना पनि सुहानामा पहिला अभिनयप्रति रुचि नभएको बताउँछिन् । ‘मैले मजस्तै एक्टिङमा करिअर बनाउन भन्दा उनले इच्छा देखाउँदिनथिन् । बरु म फिल्म प्रोड्युस गर्छु, टेक्निकल फिल्डमा सपोर्ट गर्छु भन्थिन्,’ उनी भन्छिन्, ‘अघिल्लो फिल्म ए मेरो हजुर–२ को प्रिमियरमा केही युट्युबका साथीहरूले उनको पनि अन्तर्वार्ता लिएछन् । त्यो अन्तर्वार्तामा दर्शकले दिएको उत्साहजनक कमेन्टले उनमा अभिनयप्रति रुचि बढाइदिएछ ।’

ए मेरो हजुर–२ को सफलतापछि निर्देशक झरना र निर्माता सुनीलकुमार नयाँ फिल्मका लागि हिरोइन खोज्न थाले । छोरी सुहानासँग सल्लाह हुँदा उनले आफू अभिनय गर्न तयार भएको बताइन् । ‘त्यसपछि त के चाहियो र ?’ निर्देशकसमेत रहेकी आमा झरनाले भनिन्, ‘नानीले फिल्म खेल्न इच्छा देखाएपछि हामीले अरू केही सोचेनौँ ।’
आफूले फिल्ममै करिअर बनाएकाले छोरी सुहानालाई पनि यही क्षेत्रमा लगाउने चाहना भएको झरना बताउँछिन् । ‘म त नानीलाई हिरोइन नै बनाउन चाहन्थेँ । किनभने, यो क्षेत्रमा कति इज्जत, माया छ भन्ने त मैले बुझेकी छु नि । त्यसैले सुहानालाई कलाकार बनाउने खास जोड मेरो हो । तर, उनी आफैँले इच्छा नदेखाएसम्म सम्भव भएको थिएन ।’ पहिलो फिल्मबाटै छोरीले प्रचुर चर्चा र सफलता हासिल गरेकोमा आमा खुसी छिन् । ‘आफ्नो सन्तानको सफलतामा निकै खुसी लाग्दो रहेछ,’ झरना भन्छिन्, ‘छोरीले अझै धेरै सफलता हासिल गरून् भन्ने मेरो चाहना छ ।’

अमेरिकामा स्नातक अध्ययनरत सुहानालाई डेब्यु फिल्मको सफलताले निकै उत्साह थपेको छ । पहिला ‘खेलिहेरुँ न त’ भनेर ‘ट्राई’ गरेकी सुहाना अब अभिनयलाई नै करिअरका रूपमा अघि बढाउन चाहन्छिन् । ‘अहिले त उनी अनलाइन पढेर एक्जाम दिन्छु बरु, रेगुलर फिल्म खेल्छु भन्न थालेकी छिन्,’ झरना भन्छिन्, ‘दर्शकबाट पाएको तारिफले उनलाई फिल्म अभिनयमै केही गर्न प्रेरित गरेको पाएकी छु ।’ 

आमा निर्देशक, बाबु निर्माता, छोरी हिरोइन । फिल्मका बारे नजानेको, नबुझेको केही छैन । ‘सबैको माया, तारिफ र साथले मलाई यही क्षेत्रमा करिअर अघि बढाउन मार्ग प्रशस्त गरेको छ,’ सुहाना भन्छिन् । 

छोरीलाई निर्देशन गर्दा कहिल्यै पनि असहज नभएको निर्देशक आमा झरना बताउँछिन् । भन्छिन्, ‘सुहाना र म साथीजस्ता छौँ । हरेक कुरा सेयर गर्छाैं । त्यसैले कुनै कुरामा असहज लाग्दैन ।’ सुहाना पनि भन्छिन्, ‘म र मम्मीबीच साथी–साथीको जस्तो सम्बन्ध छ । त्यसैले कुनै कुरामा पनि अप्ठ्यारो मान्नुपर्दैन ।’ आफूहरूको सोच, विचार मात्र होइन, ड्रेस, जुत्ताको साइज पनि मिल्ने झरना बताउँछिन् । 

‘कहिलेकाहीँ सुहाना र म एक–अर्काको ड्रेस चेन्ज गरेर पनि लगाउँछौँ । उनको र मेरो जुत्ताको साइज पनि एउटै हो । त्यसैले सजिलो हुन्छ ।’ झरना छोरी सुहानालाई अनि सुहाना आमा झरनालाई ‘बेस्ट फ्रेन्ड’ मान्छन् । 

‘घरमा म आमा हुँ, सुहाना छोरी हो । तर, सेटमा म मात्र निर्देशक हुँ । सुहाना मेरो कलाकार । मैले कहिल्यै पनि सेटमा मेरो मातृत्व जागृत हुन दिइनँ । कलाकारबाट उत्कृष्ट काम लिने, त्यही मात्र मेरो ध्यान हुन्थ्यो ।’

सुहाना पनि आमा झरनाको कुरामा सहमत छिन् । भन्छिन्, ‘सेटमा मैले म कलाकार हुँ । मैले कसरी हुन्छ उत्कृष्ट काम गर्नुपर्छ भन्ने मात्रै सोच्थेँ । निर्देशकले मबाट के निकाल्न खोजेको छ, म त्यसमा दत्तचित्त हुन्थेँ ।’ सुटिङ सुरु गर्नुअघि झन्डै दुई महिना वर्कसप गरेकाले पनि सुहानालगायतका कलाकारलाई सेटमा सहज भएको झरना बताउँछिन् । 

सुहाना अझ राम्रा फिल्म दर्शकलाई दिन चाहन्छिन् । आमा झरनाको चाहना पनि त्यही छ । एकपछि अर्काे गर्दै फिल्म निर्देशनमा पाइरहेको सफलताले आफूलाई अझै चुनौती थपिएको झरना बताउँछिन् । भन्छिन्, ‘आगामी दिनमा अझ उत्कृष्ट फिल्म बनाउने ध्याउन्न मेरो हुनेछ ।’ सुहाना पनि आमाकोझैँ उत्कृष्ट अभिनय र फिल्म दिन जतिसुकै कडा मिहिनेत गर्न पनि पछि नपर्ने पक्षमा देखिन्छिन् । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस