भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री ओली(अन्तर्वार्ता)

सोमबार, ३० बैशाख २०७६, १० : १६
भियतनाम भ्रमण अत्यन्तै सफल : प्रधानमन्त्री ओली(अन्तर्वार्ता)

फाईल फोटो

– विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ ।  
अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ ।

१)  प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ?
    यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः

पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, यी दुवै सन्दर्भबाट यो भ्रमण सफल र सार्थक रह्यो ।

२) यो भ्रमणले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कतिको सफल र सहज रहँला ?

हो, नेपाल  र भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको छ तर प्रधानमन्त्रीको स्तरमा यो मेरो भ्रमण पहिलो हो । यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन् । अब हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ । व्यापार विस्तार हुन्छ । नेपाली उत्पादनको निर्यात बढ्छ । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ ।  यो भ्रमणबाट ती काम हुन्छन् ।

३)    यहाँले विश्व समुदायसँग आगामी वर्ष वैशाख दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्ने उद्घोष गर्नुभएको छ, त्यसको तयारी के छ ?

मैले यस विषयमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको छु र केही आन्तरिक तयारी पनि हुँदैछ ।

४)    यो भ्रमण साना र विकासशील देशको सहकार्य र एकताको लागि पनि हो कि ?

अवश्य पनि, हामी हाम्रा जस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ । हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएका थियौँ, अब फेरि यस्ता सामयिक मुद्दा सशक्तरूपले अगाडि बढाउनुपर्ने छ ।

५)    यो भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहँला ?

यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन् । यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ यसले आजबाटै काम शुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस