टुप्पी बाँधेर दूध र दुग्धजन्य वस्तु बिक्री गर्न नपाइने

स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ कडाइका साथ पालना गराउने तयारीमा सरकार

प्रकाश सिग्देल

आइतबार, २९ बैशाख २०७६, २० : ००
टुप्पी बाँधेर दूध र दुग्धजन्य वस्तु बिक्री गर्न नपाइने

चितनव । साना डेरी पसलले टुप्पी बाँधेर दूध र दुग्धजन्य पदार्थ बिक्री गर्न नपाउने भएका छन् । दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ मा खाद्य नियमावली २०२७ अनुसारको लेवल विवरण भएका प्रशोधित दूध तथा दुग्ध पदार्थहरुमात्र खरिद तथा बिक्री वितरण गर्न पाइने उल्लेख छ । यो निर्देशिकाले दूध र दुग्धजन्य वस्तुलाई प्लास्टिकको झोलामा हालेर रवरले बाँँधेर बेच्न रोक लगाएको छ । 
यसरी बिक्री वितरण भए बिक्रेतालाई खाद्य ऐन अन्तर्गत जरिवना हुने ब्यवस्था ऐनमा रहेको छ । गत चैत ४ गतेदेखि यो निर्देशिका लागू भएको र पहिलो चरणमा आफूहरुले प्रारम्भिक चरणको अनुगमन गरी व्यवसायीलाई निर्देशिकाको बारेमा जानकारी गराएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदीप काफलेले बताउनुभयो । अब दोस्रो चरणमा आफूहरुले अनुगमन गर्ने र अब पनि निर्देशिका पालन गर्न व्यवसायीले अटेर गरे कारबाही समेत हुने काफ्लेले बताउनुहुन्छ ।
दूध तथा दुग्धपदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ को पालना नगरे प्रचलित खाद्य ऐनअन्तर्गत कारबाही हुने कार्यालयका प्रमुख बिक्की राउतले बताउनुभयो । एनमा ५० हजारदेखि ५ लाख वा २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको राउतले बताउनुभयो । यो ऐन दूध र दुग्धजन्य उत्पादनको बिक्री वितरणलाई व्यवस्थित बनाउन आएकाले यो ऐन सबैले पूर्ण रुपमा पालना गर्नु पर्ने राउत बताउनुहुन्छ ।
दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ मा व्यवस्था भएको प्रावधानले दुग्ध उत्पादन तथा बिक्री वितरणमा संलग्न सम्पूर्ण पक्षहरुलाई समेट्न खोजेको उहाँको भनाइ छ । किसान, दुग्ध उत्पादक सहकारी डेरी पसल र डेरी उद्योगहरुलाई समेटिएको निर्देशिका सबैले पालना गर्नु पर्ने काफलेले बताउनुभयो ।
निर्देशिकाले गोठदेखि उपभोक्ताको घरसम्म पुग्दा अपनाउनुपर्ने सबै सुरक्षा व्यवस्था बारेमा प्रष्ट पारेको कार्यालय प्रमुख राउतले बताउनुभयो । निर्देशिका कडाइका साथ लागू गराउनु आफूहरुको दायित्व भएको र अब त्यस दिशामा अगाढी बढेको उहाँको भनाइ थियो । निर्देशिकाले प्लास्टिकका क्यान पूर्ण रुपमा बन्देज गरेको छ । दूध ढुवानीका लागि स्टेन्लेस स्टील वा एल्मुनियमको भाडाको प्रयोग गर्नुपर्ने  उल्लेख छ । 
यो निर्देशिका पूर्ण रुपमा कार्यान्वयन हुने हो भने चितवनमा हाल टुप्पी बाँधेर दूध र दुग्धजन्य पदार्थ बेच्ने  डेरी पसलहरु बन्द हुने बताएको छ । चितवनमा ३०० बढी डेरी पसलहरु १०४ बढी दुग्ध उत्पादक सहकारी र चार वटा प्रशोधित दूध उत्पादन उद्योगहरु रहेको र  तीमध्ये केही सहकारी र प्रशोधित दुध उत्पादन उद्योगहरुमा समस्या नभएको र बाँकी सबै डेरी पसलहरुमा समस्या रहेको काफलेले बताउनुभयो । 
प्रशोधित दूध उत्पादन उद्योगहरुले पनि आफनै ल्याव राख्न नसकेको तर अन्य प्राविधिक पाटाहरु भने सवल रहेको र साना डेरीको हकमा भने समस्या नै समस्या देखिएको काफलेले बताउनु हुन्छ । आफूहरु निर्देशिका कडाइका साथ पालना गराउन पूर्ण रुपमा प्रतिबद्ध रहेको र छिट्टै आफूहरु एक्सनमा जाने तयारीमा रहेको कार्यालयका प्रमुख राउत बताउनुहुन्छ ।
यता चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघका सचिव किशोर बगालेले निर्देशिका झट्ट हेर्दा ब्यवसायीमैत्री नदेखिए पनि राज्यको नियम मान्दिनँ भन्न कसैले नपाउने बताउनुभयो । अहिलेको कानुनसँग डराएर भाग्ने भन्दा पनि यसलाई सुधार्दै लौजानेतर्फ सबै लाग्नुपर्ने उहाको भनाइ छ ।
गुणस्तर कमजोर पार्ने काम कसैले गर्न नहुने र एकैचोटी सुधार गर्न नसके पनि बिस्तारै सुधार गर्दै लैजानुपर्नेमा उहाँको भनाइ छ ।  नियमनकारी निकायले पनि सुरुमै व्यवसायीलाई विस्थापित गर्ने बाटोमा लाग्नुभन्दा पनि सचेत बनाउँँँदै समय दिएर निर्देशिका पालना गराउनतर्फ सरकारी निकाय लाग्नुपर्ने बगाले बताउनु हुन्छ । यो नियम सबैले मान्नुपर्ने र गुणस्तरयुक्त चिज खाने उपभोक्ताको पनि अधिकार भएकाले गुणस्तरयुक्त चिज बिक्री बितरणमा सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस