"अचम्म जो मैले देखेँ" सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १२ : २८
"अचम्म जो मैले देखेँ" सार्वजनिक

काठमाडौं । बोधिसत्व स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ । शनिबार ओशो तपोवनमा आयोजित एक भव्य समारोहका बीच पुस्तक लोकार्पण गरिएको हो ।

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा। सुन्दरमणी दीक्षित, घटना र विचारका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
अन्य पुस्तक विमोचन समारोह भन्दा पृथक रुपमा गरिएको कार्यक्रममा पुस्तक विमोचन गर्नुअघि पाँच मिनेटको ध्यान पनि गरिएको थियो । सार्वजनिक गरिएको सो कार्यक्रममा प्रदीप गिरिले मार्क्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म सो दर्शनले आध्यात्मलाई सही परिप्रेक्षमा बुझ्न नसक्ने दाबी गर्दै स्वामी अरुणको यो पुस्तकले आध्यात्मको रहस्यमय आयामलाई सही रुपले प्रतिनिधित्व गर्ने बताउनुभयो ।

यस्तै, नाराणकाजी श्रेष्ठले सो कृति मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा भएको बताउनुभयो भने डा। सुन्दरमणी दीक्षितले गहन आध्यात्मिक संस्मरणात्मक यस पुस्तकले पाठक र लेखक दुबैलाई मंगल गर्ने धारणा राख्नुभयो ।

पत्रकार देवप्रकाश त्रिपाठीले यो कृतिले गुरु र शिष्यको सम्बन्धलाई एक नयाँ उचाईमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो भने गुणराज लुईंटेलले यो कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताउनुभयो ।

पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सांन्निध्यमा आफुले भोगेका कुराहरू लेखेको बताउँदै ओशो एक क्रान्तिकारी दृष्टा तथा भविष्यका मसिहा भएको बताउनुभयो । नेपालका धार्मिक स्थलहरूलाई विश्व मानचित्रमा चिनाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभएको थियो ।

विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति विमोचन समारोहमा देखिन्थ्यो । पूर्वसभामुख दमननाथ ढुंगाना, वरिष्ठ कलाकार मनकृष्ण श्रेष्ठ, कलाकार निखिल उप्रेती, सञ्चिता लुईंटेल, वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकार टिकाराम यात्री, डा। ऋषि काफ्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, लोकेश ढकाल, पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, साहित्यकार शारदा शर्मा, अमर न्यौपाने, जलश्रोतविज्ञ अरुण सुवेदी, सांसद रामवीर मानन्धर, नेपाल सरकारका सचिव देवेन्द्र कार्की लगायतको उपस्थितिले विमोचन समारोहमा भव्यता थपिएका थियो ।

बुकहिल्स पब्लिकेशनले प्रकाशन र वितरण गरेको सो पुस्तक शनिबारदेखि नै देशका प्रमुख पुस्तक पसल तथा ओशो केन्द्रहरूमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस