नहरका सिसौका रुख रातारात तस्करी, सरोकार वाला मौन

प्रकाश सिग्देल

शुक्रबार, २७ बैशाख २०७६, १८ : २१
नहरका सिसौका रुख रातारात तस्करी, सरोकार वाला मौन

चितवन । नारायणी लिफ्ट सिंचाई अन्तर्गत रहेका सिसौका रुखको भोगाधिकारमा सरोकारवालाबीच विवाद हुँदा काठ तस्करले त्यसको फाइदा उठाएका छन् । तस्करले लाखौं मुल्यका रुख रातारात सिध्याएका हुन् ।
हुर्किएका रुखहरु संरक्षण र उचित रेखदेखको अभावमा आँखै अगाडि रातारात मासिएकोमा स्थानिय उपभोक्ताहरुले दुख प्रकट गरेका छन् ।  

भरतपुरदेखि पश्चिम चितवनतर्फ जाने नहरको छेउमा ३० वर्ष अगाडि तराई भुपरिधि कार्यक्रमले तराई सामुदायिक वन कार्यक्रम अन्तर्गत हजारौंको सङ्ख्यामा सिसौका विरुवा रोपिएका थिए ।
कति रुख रोपियो भन्ने तथ्याकं कुनै निकायसँग नभएपनि हजारौंको संख्यामा रुख रोपिएको सरोकारवालाहरु बताउँछन् ।

नारायणी लिफ्टको नहर छेउको खाली जमिन संरक्षणका लागि भन्दै सो क्षेत्रमा सिसौका विरुवा रोपिएको थियो । पछि जिल्ला वन कार्यालय, नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापन कार्यालय र जल उपभोक्ता समितिबीच भोगाधिकारको विषयमा कुरा नमिल्दा सिसौका रुखमा तस्करको आँखा परेको हो ।


सरोकारवाला निकायबीच हुर्किएका सिसौको भोगाधिकारमा विवाद भएपछि त्यसको फाइदा काठ तस्करहरुले उठाएका स्थानीय वासिन्दा बताउँछन् । नारायणी लिफ्ट सिंचाई अन्तर्गत रहेका झण्डै ९५ प्रतिशत सिसौका रुख यतिबेला तस्करले सखाप पारिसकेका छन् । बाँकी केहि सिसौ समेत हरेक रात तस्करी भइरहेको बताइएको छ । गीतानगर, केसरबाघ, देवनगर हुँदै जाने नहर छेउमा काटिएका सिसौका ठुटा देख्न सकिन्छ । सो क्षेत्रमा काठ तस्करहरुले रातारात रुख काटेर बेच्ने गरेको स्थानीयले बताएका छन् । सुरक्षाको कारणले आफुहरु खुलेर बोल्न नसकेको उनीहरुले बताए । रुखको भोगाधिकारको बारेमा विवाद गर्ने सरोकारवाला निकायहरु सिसौका रुख धमाधम काटेर लग्दा समेत चुपचाप बसिरहेका छन् ।

नारायणी लिफ्ट खगेरी सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले संरक्षण कसले गर्ने भन्ने नै यकिन नभएकोले रुख हराएको बताउनुभयो ।
२०४४ सालमा तत्कालिन गाबिसहरुले रेखदेख गर्ने गरी तराई भु परिधि कार्यक्रमले बिरुवा वितरण गरी रुख रोपिएको भएपनि पछि संरक्षणमा कसैले पनि ध्यान नदिदा रुख हराएको बताउनु हुन्छ ।

जिल्ला वनदेखि सबै निकायले रुख आफनो भनेर दाबि गर्ने तर रुख संरक्षणमा कसैको ध्यान नजाने गरेकाले पनि समस्या भएको रानाभाट बताउनु हुन्छ । त्यस्तै नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापन कार्यालय चितवनका प्रमुख खेमबहादुर पाठकले आफुहरुले नहरको कुनै पनि रुख नकाटेको बताउनुभयो । जिल्ला वनको अनुमति बिना रुख काट्न नपाईने र त्यो रुख संरक्षण गर्ने दायीत्व उपभोक्ता, वन र आफनो कार्यालयको भएपनि तिनै निकायले ध्यान दिन नसक्दा रुख काटिएकोे हुन सक्ने पाठक बताउनु हुन्छ ।

कार्यालयले रुखको रेखदेख तथा नहर संरक्षणका लागि हेरालु समेत खटाएको भएपनि पछिल्लो समय हेरालुले समेत हेर्न नसक्दा समस्या आएको बुझिएको छ । यता डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद पौडेलले भने नहरका छेउका सिसौको संरक्षणको दायीत्व आफुहरुमा नभएको बताउनु हुन्छ । त्यो वन क्षेत्रभित्र नपर्ने र नहरको जग्गामा भएकाले नहरले नै त्यसको संरक्षण गर्नु पर्ने उहाँको भनाई छ ।

कार्यालयलाई त्यसको विषयमा खासै जानकारी नभएको पौडेलले बताउनुभयो । सरोकारवाला निकायहरुबीचको मनमुटावका कारण सिसौका काठबाट आम्दानी हुने करोडौं रुपैयाँ बराबरको राजस्व गुमेको छ ।
सरकारी जमिनमा भएका सिसौका रुखहरुको स्वामित्व जिल्ला वन कार्यालय चितवनले लिनुपर्ने भएपनि त्यसो भएको छैन । नारायणी लिफ्ट अन्र्तगत क्षेत्रपुर, भरतपुर ओरोलो हुदै पश्चिम चितवन पुग्ने ‘बि, नहर, बसेनी, कलेज अफ मेडिकल साईन्सेज भरतपुर, हाकिम चोक हँुदै जाने ‘सि एल वान’ नहर र भोजाड, गोन्द्राङ हुदैं पश्चिम चितवन लगिएको ‘सि म्यान’ नहर क्षेत्रमा करोडौं मुल्य बराबरको सिसौका रुखहरु बेपत्ता छन् । त्यहाँको रुखमात्र होइन नहर पनि पुरै मासिएको छ ।  यतिबेला भरतपुरको आर्मी क्याम्पको पछाडी केहि सिसौका रुख हरु रहेका छन् भने अन्य ठाउमा सबै काटीएका छन् ।

सो क्षेत्रमा रहेका सिसौंका बोटहरुको सन्दर्भमा पनि जिल्ला वन कार्यालय, र नारायणी लिफ्ट खगेरी  सिंचाई जल उपभोक्ता समितिले वास्ता गरेको छैन ।
नहर क्षेत्रका सिसौका काठहरु कस्ले लग्यो भन्ने विषयमा तीन वटै सरोकारवाला निकायले जानकारी नभएको बताएका छन । यसरी सरोकार वाला निकायहरु मौन भै दिँदा त्यसको फाइदा काठ तस्करहरुले लुटीरहेका छन् । यो विषयमा तिनवटै सरोकार वाला निकायको ध्यान पुग्न जरुरी छ ।
 

प्रतिक्रिया दिनुहोस