किन रोकियो ‘धुर्मुस-सुन्तली’ को फिल्म ?

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १५ : ४९
किन  रोकियो ‘धुर्मुस-सुन्तली’ को फिल्म ?

काठमाडौँ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘धुर्मुस-सुन्तली’ को चरित्र निभाएपछि आम दर्शकमाझ चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे केही वर्षयता कलाकारिताबाट ब्रेक लिएर समाजसेवामा होमिएका छन् । दुईलाई लामो समयदेखि न टेलिभिजन स्क्रिनमा देखिएको छ न त सिल्भर स्क्रिनमा नै । बस्ती निर्माणपछि अहिले उनीहरु चितवनको भरतपुरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । 
 
सन्तपुर बस्तीमा एकीकृत नमूना बस्ती निर्माण गरेपछि ‘धुर्मुस-सुन्तली’ कमेडी फिल्म निर्माण गर्ने अन्तिम तयारीमा थिए । फिल्मको नाम ‘एन्टिभाइरस’ समेत जुराइएको थियो । लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको थियो । गत वर्ष सितारामको जन्मदिनमा नै फिल्मको घोषणा गर्ने तयारी भएको थियो । तर, तयारी नपुगेको भन्दै उनले फिल्म घोषणा गरेनन् । निर्देशन कुञ्जनाले गर्ने चर्चा थियो । 
 
केही महिनाअघि ज्योतिषको सल्लाहमा ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘एन्टिभाइरस’ बाट ‘सेन्टिभाइरस’ बनाए । तर, लगानी ठूलो लाग्ने भएपछि उनीहरुले फिल्म निर्माणलाई तत्काल रोकेको जानकारी प्राप्त छ । अहिले सिताराम र कुञ्जना नयाँ कथामा काम गरिरहेको स्रोत बताउँछ । केही महिनायता क्रिकेट रंगशाला निर्माणमा खटिरहेका उनीहरुले ढिलो-चाँडो फिल्म बनाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस