यी हुन्, प्रियंकाका विवादित अभिव्यक्ति

मंगलबार, २४ बैशाख २०७६, १६ : ४६
यी हुन्, प्रियंकाका विवादित अभिव्यक्ति

बलिउडदेखि हलिउडसम्म आफ्नो प्रभाव छाड्न सफल अभिनेत्री प्रियंका चोपडाको आफ्नै परिचय छ । उनले बलिउडमा केही यादगार फिल्म दिएकी छिन् । बलिउड हँुदै हलिउड प्रवेश गरेकी उनलाई बोल्ड हिरोइन मानिन्छ । अभिनय र फिल्मका साथै प्रियंका कैयौँपटक विवादित बयानका कारण पनि चर्चामा आउने गरेकी छिन् । वेलावेलामा ट्रोलसमेत बन्ने गरेकी उनको विवादित केही अभिव्यक्तिबारे भारतीय मिडियाले उल्लेख गरेका छन् । 

रुद्राक्षमा भारतीय राष्ट्रवाद 
क्वान्टिको ३ को एक इपिसोडलाई लिएर प्रियंका विवादमा तानिएकी थिइन् । क्वान्टिको सिरिजमा प्रियंका जुन सिनलाई लिएर विवादमा तानिएकी थिइन्, त्यसमा उनले एक आतंकको पहिचान गरिरहेकी थिइन् । उक्त समयमा उनी भन्छिन्, ‘उसले घाँटीमा रुद्राक्ष लगाउनुपर्छ, यो पाकिस्तानी हुन सक्दैन । यो भारतीय राष्ट्रवादी हो र पाकिस्तानका विरुद्ध षड्यन्त्र गरिरहेको छ ।’ 
सोको त्यस इपिसोडमा भारतीयलाई आतंककारी भनेकोमा भारतीयले खुब आलोचना गरेका थिए । इपिसोड प्रसारण भएपछि निर्माता र प्रियंकाले माफी मागेका थिए । 

हिप्स र बुब्स सबथोक 
एकपटक प्रियंकाको एउटा यस्तो भिडियो भाइरल भएको थियो, जसका कारण उनी विवादमा फसेकी थिइन् । भिडियोमा प्रियंका ६८औँ एमी अवार्डका क्रममा पत्रकारसँग कुराकानी गरिरहेकी थिइन् । त्यसमा उनले हिन्दी फिल्मको पनि मजाक उडाइरहेकी थिइन् । प्रियंकाले भनेकी थिइन्,  ‘इन्डियन फिल्ममा हिप्स र बुब्स सकथोक हो ।’ प्रियंकाको त्यो अभिव्यक्ति बाहिर आएपछि उनको खुब ट्रोल भएको थियो ।

प्रधामन्त्रीसामुन्ने छोटो कपडामा
बर्लिनमा प्रियंकाको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो । जब प्रियंका मोदीसँग भेट गर्न गइन्, त्यतिवेला उनी छोटो ड्रेसमा थिइन् । जसका कारण उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेकी थिइन् । सञ्जाल प्रयोगकर्ताले प्रियंकालाई प्रधानमन्त्रीलाई भेट्दा कस्तो कपडा लगाउने भनेर थाहा पाउन जरुरी छ भनेर सम्झाएका थिए ।

रोहिंग्या क्याम्पको तस्बिरले ट्रोल
प्रियंका चोपडालाई युनिसेफले गुडविल एम्बेसडर बनाएको छ । प्रियंकाले जब रोहिंग्या मुसलमानसँग भेटघाट गरिन्, केही भारतीय रिसाए । सामाजिक सञ्जालमा प्रियंकाको खुब ट्रोल बनाइयो । केही सञ्जाल प्रयोगकर्ताले प्रियंकाको उक्त तरिकालाई राजनीतिक फन्डासमेत भनेका थिए । 

सिक्किमबारे बयानले विवादमा
गत वर्ष प्रियंकाले सिक्किमलाई लिएर आफ्नो विचार राखेकी थिइन् । त्यस अभिव्यक्तिले उनलाई विवादको घेरामा तान्यो । प्रियंकाले टोरेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलका क्रममा एक अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा उनले भारतको राज्य सिक्किमका उग्रवादबाट आफू आजित भएको बताएकी थिइन् । - नयाँ पत्रिकाबाट  
 

प्रतिक्रिया दिनुहोस