‘ए मेरो हजुर ३’ ले मनाउला ५१ औं दिन ?

सोमबार, २३ बैशाख २०७६, १५ : ०९
‘ए मेरो हजुर ३’ ले मनाउला ५१ औं दिन ?

काठमाडौँ । गत वर्षको अन्तिम फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ अहिले चौथो हप्तामा प्रदर्शनरत छ । गत वर्षमा दशैंमा रिलिज भएको फिल्म 'छक्का पञ्जा ३' पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चलायमान बनाएको यस फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो व्यापार गर्‍यो । फिल्मले पहिलो हप्तामै ४ करोडमाथि व्यापार गरेको थियो । अहिलेसम्म फिल्मले ९ करोडको आँकडा छोएको हुनसक्ने फिल्म विश्लेषकको अनुमान छ । 

यस फिल्मको दुई हप्ता लामो दबदबा हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स : इन्ड गेम’ ले तोडेको थियो । तेस्रो सातामा यस हलिउड फिल्मको कारण ‘ए मेरो हजुर ३’ मल्टीप्लेक्समा न्यूज सोजमा खुम्चिएको थियो । मुलुकको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई तेस्रो साताको शुक्रवार १४ सोजबाट हटाएर तीन सोजमा झारेको थियो । चौथो हप्ताको शुक्रवार फ्रेस नेपाली फिल्म ‘दाल भात तरकारी’ का कारण थप दुई सोज घट्यो । 
तर, दोस्रो साताबाट हलिउड फिल्म ‘एभेन्जर्स’ मा दर्शकको घडेरी लागेको छ । ‘दाल भात तरकारी’ को माउथ पब्लिसिटी पनि कमजोर हुँदा ‘ए मेरो हजुर ३’  लाई लोट्री लागेको छ । चौथो हप्ताको शुक्रवार क्यूएफएक्समा एक सोजमा खुम्चिएको फिल्मले आइतबारबाट फ्रेस फिल्म बराबरकै सोज हात पारेको छ । आइतवार फिल्मले पाँच सोज र सोमवार ६ सोज पाएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि फिल्मलाई अझै राम्रो सोज छ । 

क्यूएफएक्सले ठूलो संख्यामा सोज घटाएर फेरि बढाउनुले ‘ए मेरो हजुर ३’ हेर्ने दर्शक अझै राम्रो रहेको प्रस्ट्याउँछ । निर्माण टिम फिल्मले केही हलमा ५१ औं दिन मनाउनेमा विश्वस्त छ । समीक्षकबाट खासै राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्मलाई दर्शकले भने रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रिय भूमिकामा छन् । यो फिल्मले अनमोलको फिल्म करिअरको पर्खालमा एउटा इट्टा थपेको छ । 

आजसम्म उनका कुनै फिल्मले बक्सअफिसमा ८ करोडमाथि व्यापार गरेको रेकर्ड छैन । 'क्याप्टेन' र 'कृ' को कमजोर व्यापारले उनको स्टारडममाथि धेरैले प्रश्न उठाएका छन् । ‘ए मेरो हजुर ३’ ले उनको स्टारडमलाई फेरि उत्कर्षमा पुर्‍याएको छ । झरना पुत्री सुहानालाई पनि यस फिल्मबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । उनले 'डि सिने अवार्ड' मा नव-अभिनेत्रीको रुपमा अवार्ड समेत उचालिसकेकी छन् । 

प्रतिक्रिया दिनुहोस