म पर्दाभित्र मात्र होइन बाहिर पनि ‘फाइट’ गर्छु : विराज भट्ट

सोमबार, २३ बैशाख २०७६, १४ : १६
म पर्दाभित्र मात्र होइन बाहिर पनि ‘फाइट’ गर्छु : विराज भट्ट

काठमाडौँ ।डेढ दशक अगाडिसम्म नेपाली फिल्ममा अभिनेता विराज भट्टको ठूलो बोलबाला थियो । फिल्ममा उनी भएपछि निर्माताको लगानी सुरक्षित हुने ग्यारेन्टी हुन्थ्यो । पोस्टरमा उनको टाउको राखे मात्र पनि फिल्मले ब्लकबस्टर व्यापार गर्थे । एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनको एक जमाना लोभलाग्दो स्टारडम थियो । नेपाली फिल्ममा उनको आगमनले निखिल उप्रेतीको साम्राज्य समेत डगमगाएको थियो । फिल्ममा विराजको प्रवेश हुनुभन्दा अगाडि एक्सन फिल्ममा निखिलले एकछत्र राज गरेका थिए ।
 
एक्सन फिल्ममा निकै रुचाइएका विराज बिस्तारै संख्यात्मक अभिनयमा जोड दिन थालेपछि दर्शकको चासो पनि घट्दै जान थाल्यो । फिल्महरु एकपछि अर्को बक्सअफिसमा असफल हुन थाले । मेकरहरु पनि उनलाई फिल्ममा लिएर जोखिम उठाउन छाडे । आफ्नो खस्किँदै गएको स्टारडमलाई बुझेर उनी अचानक भोजपुरी फिल्ममा आफ्नो साम्राज्य बनाउन लागे । त्यहाँ पनि उनले आफ्नो बलियो उपस्थिति जनाए । भोजपुरीका जल्दाबल्दा अभिनेताका लागि उनी चुनौती बनेका थिए । 
 
नेपालमा भन्दा ठूलो दाम र नाम मिलेका कारण उनी झण्डै ५ वर्ष भोजपुरी मार्केटमै रमाए । ३ दर्जनभन्दा बढी ब्लकबस्टर भोजपुरी फिल्म दिएका उनको अझै केही फिल्म रिलिज हुन बाँकी छन् । उनले करीब ३ वर्ष अगाडि रोज राणा निर्मित तथा निर्देशित फिल्म जय परशुराम मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए । तर, कमब्याक सफल भएन । कतिपयले बाघ बुढो भएको टिप्पणी पनि गरे । यो फिल्मपछि उनी फेरि लामो समय हराए । 
 
बिस्तारै भोजपुरी मार्केटमा आफ्नो स्टारडम खस्किँदै गएपछि अब विराज नेपाली फिल्ममा नै आफ्नो पुरानो क्रेज फर्काउने धाउन्नमा छन् । उनले पहिलो पटक आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘साङ्लो’ बनाउँदैछन् । यस फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । यसमा उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गर्दैछन् । फिल्मको बैशाख २४ गतेबाट छायांकन सुरु हुँदैछ । 
 
यो फिल्म फ्लोरमा नजाँदै विवादमा फसेको थियो । फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेमाथि हातपात गरेपछि विराजले माफी नै माग्नु परेको थियो । प्राविधिकमाथि हातपात गरेपछि उनले आफ्नो वास्तविक चरित्र देखाएको भन्दै फिल्मवृतमा टिका-टिप्पणी पनि भए । तर, यस घटनालाई लिएर मौन रहेका विराजले फिल्म ‘साङ्लो’ को घोषणा सभामा मुख खोलेका छन् । प्राविधिक पाण्डेकै गल्तीका कारण आफूले हात उठाउन पुगेको उनले बताए । 
 
उनले भने - कुटपिटका घटना हुनु राम्रो होइन । मैले त्यसप्रकारको घटना होस् भन्ने चाहेको पनि थिइनँ । उहाँ ९शंकर पाण्डे० को गल्तीकै कारण मैले हात उठाउन पुगेको हुँ । मैले हात उठाउनु हुँदैन थियो । मैले उहाँसँग माफी मागिसकेको छु । र, फिल्मबाट पनि निकालि सकेँ । उहाँ राम्रोसँग गएको भए ठिक हुन्थ्यो, तर स्टाइलले जानुभयो । प्रोडक्सन म्यानेजरको लापर्वाहीका कारणले पनि निर्माताको करोडौं डुब्ने उनको भनाई छ । 
 
उनी आफ्नो लागि कसैसँग कुटपिट हुनु नौलो कुरा नभएको पनि बताउँछन् । विराज अगाडि भन्छन्, मबाट कुटाइ खाएर जानेहरु फिल्म क्षेत्रमा आउनुभन्दा पहिलादेखि पनि थिए । म पर्दाभित्र मात्र फाइट गर्दिनँ । कहिले काहिँ बाहिर पनि फाइट गर्छु । यो मेरो नेचर नै हो । तर, म फटाइ गर्ने, अन्याय गर्ने मान्छेलाई मात्र कुट्छु । सोझो मान्छेले कहिले पिटाइ खाँदैन । उनले अब निरन्तर नेपाली फिल्म गर्ने प्रतिवद्धता पनि जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस