चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

सभामुख पनि चालकमा दोहोरो सुविधा लिँदै

पत्रपत्रिकाबाट

आइतबार, २२ बैशाख २०७६, ०७ : ५१
चालक र सहयोगीमा  आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । 
‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारै जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’ 

प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चार जनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ । याे समाचार कृष्ण कट्टेलले नयाँ पत्रिकामा लेखेका छन् ।

ऐनमा यस्तो व्यवस्था
संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार स्वकीय सचिवालयका कर्मचारीकै नामको बैंक खातामा पारिश्रमिक जम्मा गरिदिनुपर्छ । ‘स्वकीय सचिवालयका कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ,’ ऐनमा भनिएको छ । 

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा सांसद तथा पदाधिकारीको पिएले आफ्नै बैंक खातामा पारिश्रमिक पाउनुपर्ने व्यवस्था भए पनि संघीय संसद् प्रारम्भ भएको १० महिनासम्म पनि सांसदका पिएको तलब सांसदहरूकै खातामा जाने गरेको थियो । यसबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भइसकेपछि संसद् सचिवालयले ऐनको व्यवस्था गत पुसदेखि कार्यान्वयन गरेको हो । हालसम्म सबै सांसदहरूले आफ्नो पिएको खाता नम्बर बुझाइसकेको संघीय संसद् सचिवालयले जनाएको छ । तर, अध्यक्ष तिमिल्सिनाको स्वकीय सचिवालयका चारजना कर्मचारीको तलब भने अध्यक्षकै खातामा गइरहेको हो । 

सभामुख पनि चालकमा दोहोरो सुविधा लिँदै 
सभामुख कृष्णबहादुर महराले निजी चालक राखेका छन् । तर, आवश्यक पर्दा सचिवालयका चालकले पनि चलाउने गरेका छन् । ‘सभामुखज्यूले आफ्नै निजी सवारीचालक राख्नुभएको छ । उनीहरूको नाम मलाई थाहा छैन । वेलावेला सचिवालयका रामनारायण महर्जन, रमेश भट्ट र सानुकाजी महर्जनले पनि चलाइरहेका हुन्छन्,’ स्रोतले भन्यो । तर, सभामुख महराले भने निजी सवारीचालकको मासिक तलब उनीहरूकै खातामा जाने व्यवस्था गरेका छन् । यस्तै, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले भने निजी सवारीचालक नै प्रयोग गर्दै आएको सचिवालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस