यस वर्षको बहुप्रतिक्षित फिल्म ‘दाल, भात, तरकारी’ भोलीदेखि हलमा

विहीबार, १९ बैशाख २०७६, १९ : ४७
यस वर्षको बहुप्रतिक्षित फिल्म ‘दाल, भात, तरकारी’ भोलीदेखि हलमा

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक हो- ‘दाल भात तरकारी’ । महसञ्चारले निर्माण गरेको यसमा दर्शकमाझ चिनिएका कलाकारहरुको अभिनय छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेललगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । 
 
शुक्रवारबाट मुलुकभर प्रदर्शनमा आउन लागेको यो फिल्म अहिले गीतसंगीतका कारण चर्चामा छ । फिल्मको 'भिजिट भिषा' मा गीतले युट्युबमा करोडभन्दा बढी भ्यूज बटुलिसकेको छ । भने, सार्वजनिक ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन् । विदेश मोहबाट ग्रसित पात्रहरुको कथामा आधारित भएर बनेको यस फिल्मले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने अपेक्षा धेरैको छ । 
 
‘छक्का पञ्जा’ टिमपछि हरिवंश र मदनकृष्णको समुहलाई पनि दर्शकले आँखा चिम्लिएर विश्वास गर्ने गरेका छन् । ‘शत्रु गते’ यसको उदाहरण हो । बक्सअफिसमा यस फिल्मको लाइफटाइम कलेक्सन ११ करोड ग्रस थियो । ‘दाल भात तरकारी’ ले कलेक्सनमा ‘शत्रु गते’ लाई पनि उछिन्नु पर्ने चुनौती छ । फिल्मले पाएको स्क्रिन संख्या हेर्ने हो भने यो सम्भव देखिन्छ । 

रिलिज अगावै ओभरसिज राइट्सबाट लगभग करोड हात पारिसकेको फिल्मले मल्टीप्लेक्समा उच्च सोज पाएको छ । भने, सिंगल थिएटर पनि पर्याप्य पाएको छ । गत हप्ता प्रदर्शनमा आएको हलिउडको ठूलो फिल्म ‘एभेञ्जर इण्ड गेम’ का कारण ‘दाल भात तरकारी’ ले मल्टीप्लेक्समा राम्रो सोज नपाउने धेरैको अनुमान थियो । यसैको डरले फिल्म एक हप्ता पछाडि समेत सरेको थियो । 
 
दोस्रो साता पनि हलिउड फिल्म ‘एभेञ्जर’ ले मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको छ । तर, यसको खासै ठूलो असर ‘दाल भात तरकारी’ लाई परेको देखिएको छैन । नेपालकै ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले अग्रिम बुकिङमा राजधानीका पाँच स्टेशनमा फिल्मलाई २० सोज उपलब्ध गराएको छ । मोफसलतर्फ पनि फिल्मले राम्रो सोज पाएको छ ।
 
राजधानी तथा मोफसलमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मलाई राम्रो सोज बाँडेका छन् । राजधानीको बिग मुभिज र विएसआरमा फिल्मले समान्तार ६/६ सोज पाउँदा क्यूज सिनेमाजमा ४ सोज पाएको छ । सिडिसीमा फिल्मलाई ५ सोज र एफक्यूबमा ७ सोज मिलेको छ । सोलो रिलिजको मौका पाएको फिल्मले सय बढी सिंगल पर्दामा आफ्नो उपस्थिति जनाउँदैछ । 

प्रतिक्रिया दिनुहोस