अकासे पुलमा भेटवालको रजाइँ : महानगरपालिकालाई वार्षिक साढे ४ करोड घाटा

पत्रपत्रिकाबाट

विहीबार, १९ बैशाख २०७६, ०७ : १७
अकासे पुलमा भेटवालको रजाइँ : महानगरपालिकालाई वार्षिक साढे ४ करोड घाटा

काठमाडौं । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । 

नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् । महानगरपालिकाका अनुसार रकम असुल्ने धन्दामा मनोज भेटवालका दाइ भैरव भेटवाल पनि संलग्न छन् ।

टुँडिखेल, रत्नपार्क, जमल र नयाँबसपार्कको गेटसहित महानगरपालिकाभित्र नौवटा अकासे पुल छन् । तिनका दुई सय १० सटर र शौचालयबाट प्रतिमहिना न्यूनतम साढे ३८ लाख रुपैयाँ संकलन हुन्छ ।

यसबापत ठेकेदार कम्पनीले महानगरपालिकालाई प्रतिमहिना एक लाख ८३ हजार रुपैयाँ मात्रै रोयल्टी बुझाउँछ । बाँकी ३६ लाख ६५ हजार रुपैयाँ ठेकेदार कम्पनीले लिन्छ । जसबाट महानगरपालिकाले प्रत्येक वर्ष चार करोड ३८ लाख रुपैयाँ गुमाउँदै आएको छ ।

यसबाहेक, ठेकेदार कम्पनीले प्रत्येक अकासे पुलमा बहुराष्ट्रिय तथा स्थानीय कम्पनीको होर्डिङ बोर्ड लगाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस