२०७२ सालको महाभूकम्पमा २२ घण्टा पुरिएका भाइरल बालक

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, १३ : १५
२०७२ सालको महाभूकम्पमा २२ घण्टा पुरिएका भाइरल बालक

चितवन । २०७२ साल वैशाख १२ को नेपालमा विनाशकारी महाभूकम्प आयो । भूकम्पले झन्डै १० हजार मानिसको इहलीला समाप्त पारेको थियो । कोही यस्ता व्यक्ति थिए, जसलाई नेपाल प्रहरी र नेपाली सेनाले जिवितै उद्दार गरेको थियो । ज्यानको बाजी लगाएर सुरक्षाकर्मीहरुले भूकम्पले भत्काएको भग्नावशेषबाट निकालेको थियो । भाग्यले बाँचेका उनीहरुले पुनः जन्मको अवसर पाएका थिए । 
पुनः जन्म पाउनेमा सोनिस अवाल पनि एक हुन् । भग्नावशेषमा पुरिएका सोनिसको २२ घण्टापछि जिवितै उद्धार भएको थियो । जतिबेला सोनिस ४ महिनाका मात्र थिए । चार महिनाको सोनिसको २२ घण्टापछि जिवितै उद्दार हुँदाको तस्बिर त्यतिबेला भाइरल भएको थियो । 
सोनीस अवाल अहिले पाँच वर्षका भएका छन् । त्यति बेलाको समयमा उनको चर्चा देशमा मात्र नभई विदेशमा पनि चलेको थियो । भूकम्पले भक्तपुरस्थित घर भत्केपछि सोनिस पुरिएका थिए। भुकम्प गएलगत्तै भत्केको घरबाट सोनिसकी दिदी सोनिया अवाललाई नेपाली सेना र स्थानीय मिलेर उद्दार गरेका थिए । सोनिसको कुनै पत्तो लागेको थिएन । परिवारका सदस्यले आस मारेका थिए । तर सोनिसको कुनै पत्तो नलागेपछि सेनाले उद्दार कार्य बन्द गरेर फर्केको थियो । 


अर्को दिन बिहानै सोनिसकी आमाले बच्चा रोएको मधुरो आवाज सुनिन् । उद्दारको लागि सेनालाई खबर गरियो । सेना आएपछि उनीहरुले पनि बच्चा मधुरो आवाजले रोएको सुने । फर्केर गएको सेनाल फेरि उद्दार कार्य शुरु गरेको थियो । भूकम्पमा पुरिएका २२ घण्टापछि सोनिसको जिवितै उद्धार गरिएको थियो । अहिले सोनीसको परिवार भक्तपुरमा ब्यासी नजिकै कोठा भाडामा लिएर बसेका छन्। सोनिस अहिले चार वर्ष चार महिना भएका छन् । 
सोनिसलाई नेपाली सेनाका जवानले उद्धार गरेका थिए भने सो तस्बिर नयाँ पत्रिकाका फोटो जर्नालिस्ट अमुल थापाले क्यामेरामा कैद गरेका थिए । उद्दारको सोही तस्बिर नै विश्वप्रसिद्ध भएको थियो ।
सोनिस अहिले भक्तपुरस्थित एभरेस्ट इङ्लिस स्कुलमा कक्षा नर्सरीमा पढ्छन्। सोनिस अहिले टोल छिमेकका अरू मानिससँग घुलमिल हुँदैछन्। एकै ठाउँमा बस्न उनलाई अझै पनि समस्या पर्छ। उनी चञ्चले स्वभावका छन्।
सोनिस खेलप्रति रुचि राख्छन्। स्कुलका अतिरिक्त क्रियाकलापमा उनी भाग लिन्छन्। स्कुलमा कहिलेकाहीँ भूकम्पको कुरा सुन्दा घरमा आएर त्यस बारेमा थप बुझ्ने प्रयास गर्छन्। छोराको रुचिअनुसार पढाउने र सद्मार्गमा लगाउने उनको अभिभावकको चाहना छ।
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उनीहरूले अझै घर बनाउन सकेका छैनन्। पहिले घर भएको जग्गा सडक मापदण्डमा परेपछि अहिले अवाल परिवार नजिकै भाडाको कोठामा बस्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस