कस्तो बन्दै छ नेकपा पोलिटब्युरो ? उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस

पत्रपत्रिकाबाट

विहीबार, १२ बैशाख २०७६, ०७ : ५३
कस्तो बन्दै छ नेकपा पोलिटब्युरो ? उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस

फाईल फोटो

काठमाडौँ । जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ । 

तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटेको नेकपा स्रोतले बतायो । केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो बनाउने नेताबीच सहमति छ । पूर्वएमालेलाई ८१ र पूर्वमाओवादीलाई ६६ जना पोलिटब्युरो सदस्य भागबन्डामा परेको छ । जसअनुसार पूर्वएमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ । 

उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस
तत्कालीन माओवादीका ९९ सदस्यीय सचिवालयमा वरियतामा अघि रहेकामध्ये अध्यक्ष पुष्पकमल दाहालसहित नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत नेकपाको पोलिटब्युरोमा स्वतः समेटिनेछन् ।

त्यस्तै, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुषाल, नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार, लिलामणि पोखरेल, दिननाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, विश्वनाथ शाह, डिलाराम आचार्य, उर्मिला आचार्य, श्रीराम ढकाल पोलिटब्युरो सदस्य बन्नेछन् । 

त्यस्तै, वरियतामा अघि रहेका प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, प्रल्हाद बुढाथोकी, परशुराम तामाङ, सुनील मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालिबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङवुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, अन्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल पूर्वमाओवादीको भागमा परेको ६६ जनाको पोलिटब्युरोमा अटाउन सक्नेछन् ।

पूर्वमाओवादीमा नारायणकाजी श्रेष्ठ, बादल, देवेन्द्र पौडेल र नेकपा संयुक्तबाट एकीकरणमा आउने समूहसमेत समेट्नुपर्ने बाध्यताका कारण प्रचण्डले असहज महसुस गरेका छन् । 

वरियतासँगै अध्यक्ष प्रचण्ड जनयुद्धका वेलाका ९५ सदस्यीय केन्द्रीय सदस्यमध्येबाटै पोलिटब्युरो सदस्य छान्नुपर्ने दबाबमा रहेको निकट स्रोत बताउँछ । बादल समूहबाट उनीनिकट नेता सुरेश आलेमगर, महेश्वर दाहाल, अमृता थापा, सूर्यप्रकाश सुवेदी ‘पथिक’, मायाप्रसाद शर्मा वरियतामा पछि रहे पनि गुट भागबन्डाको सन्तुलन मिलाउन समेट्नैपर्ने दबाब छ । 

पुराना वाम नेता नन्दकुमार प्रसाईं, पूर्वसभामुख ओनसरी घर्ती, कमल चौलागाईंलाई पनि समेट्नैपर्ने दबाबका कारण प्रचण्डमाथि वरियता मिचेरै भए पनि पूर्वमाओवादी समूहबाट सूची छान्नुपर्ने दबाब छ । पूर्वमाओवादीको सचिवालयमा रहेका नेताबाट वरियताका आधारमा छान्दा सहज देखिए पनि नारायणकाजी श्रेष्ठ समूह, रामबहादुर थापा ‘बादल’ समूह, नयाँ शक्तिबाट एकीकरणमा आएको देवेन्द्र पौडेलको समूह, नेकपा संयुक्तबाट एकीकरणमा आएको समूहलगायतलाई समेट्नुपर्ने पूर्वमाओवादीको बाध्यता छ । 

पूर्वमाओवादी समूहबाट वरियता मिचेरै केही नेता नेकपाको स्थायी समिति सदस्यमा सिफारिस भएकाले वरियतामा अघि रहेका पनि पोलिटब्युरोको दौडधुपमा लागेका छन् । पूर्वमाओवादी समूहका केही सचिवालय सदस्य जिल्ला अध्यक्ष र सचिवमा समेत चुनिएका छन् ।कम संख्यामा धेरै नेता समेट्नुपर्ने बाध्यताका कारण पोलिटब्युरो सदस्य चयनमा पूर्वएमालेभन्दा माओवादीमा बढी सकस पर्ने देखिन्छ । यो समाचार आज को नयाँ पत्रीका दैनिक मा शुरोजङ्ग पाण्डेले लेखेका छन ।  

प्रतिक्रिया दिनुहोस