गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

पत्रपत्रिकाबाट

बुधबार, ०४ बैशाख २०७६, ०६ : ४८
गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

तस्बिर : नयाँ पत्रिका

काठमाडौं । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ  अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन । बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी  फर्किइन् ।

लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहिक फोटो सेसन गर्दै मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचयपत्र यसपटक मुख्य  पदाधिकारी र कर्मचारीको अभावमा वितरण हुन सकेन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा आठको नतिजा प्रकाशन पनि रोकिएको छ ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले ग-यो अनुमगन
सेवाग्राहीको गुनासो आएपछि मंगलबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले सानीभेरी गाउँपालिका कार्यालयको अनुगमन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले सानीभेरी कार्यालय रित्तो बनेको र सेवाग्राहीले दुःख पाएको बताए । 

‘गाउँपालिका नै खाली गरेर भ्रमणमा निस्किएको पाइयो, गाउँपालिकाको सेवा प्रवाह केही दिनदेखि ठप्प नै रहेछ,’ शर्माले भने । ठूलो संख्यामा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्किए पनि कुनै निर्णय भएको प्रमाण नभेटिएको उनले बताए । आफ्नो जिम्मेवारी कसैलाई नतोकी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भ्रमणमा निस्किएको भेटिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । यो समाचार आजको नयाँ पत्रीका दैनिकमा मनीष खड्काले लेखेका छन । 
   

प्रतिक्रिया दिनुहोस