Safal Khabar - ‘हे भगवान ! मेरो छोरालाई बोल्ने बनाइदेऊ’
सोमबार, १३ जेठ २०७६ (Monday, 27 May, 2019)
निर्मला हत्या प्रकरणले निम्त्याएको कालो दिन

‘हे भगवान ! मेरो छोरालाई बोल्ने बनाइदेऊ’
मङ्गलबार, ०३ बैशाख २०७६, १६ : ५५
‘हे भगवान ! मेरो छोरालाई बोल्ने बनाइदेऊ’

चितवन । ‘बोल बाबु, बोल एक पटक भए पनि बोलिदेऊ’ यो चित्कार शिवकला भण्डाराको हो । उनी अस्पतालमा उपचार गराइरहेका छोरालाई हरबखत बोल्न लगाउँछिन् तर छोरा अर्जुन भण्डारा खाली हाँसीमात्र रहन्छन्, चुइक्क बोल्दैनन् । बरु अर्जुन आमालाई पिट्छन, थुक्छन् । 
कुनै चलचित्रको कहानी भए बोल्थे र आफूलाई यस्ता हालत बनाउनेको बदला लिन्थे होलान्, तर यो त सत्य कहानी थियो । अर्जुन सुतेको सुतै छन् आमा उठाउन खोज्दाखोज्दै थाकेकी छन् तर छोरा अर्जुनलाई कुनै प्रवाह छैन । खायो, हाँस्यो, आमाको कपाल लुछ्यो बस् यतिमात्र । 
शिक्षण अस्पताल । न्यूरो विभाग । क्याबिन नं ३१५ । अर्जुन बेडमा लम्पसार छन् । कुनै बेला हाँस्छन्, कुनै बेला आमालाई भुत्लाउँछन्, कुनै बेला थुक्छन्, तर आमाको मन एकछिन गाली गर्छिन्, प्याट्ट हिर्काउँछिन् अनि फेरि माया लाग्छ सुमसुमाउँछिन् । 
पुरानो याद केही छैन, अर्जुनसँग । आफू कसरी अस्पतालको शैयामा छटपटाइरहेको छ, केही पत्तो छैन । मुढाजस्तो लम्पसार छन्, न हिड्न, न बोल्न सक्छन्, कोल्टे फेर्न पनि सक्दैनन् । आठ महिना भयो, उनको यस्तो हालत भएको त्यसअघि त उनी ठीक थिए, पढ्नमा सिपालु थिए । कोहीभन्दा कमी थिएनन् । 
‘पढाइ राम्रो थियो, साइन्समा १२ कक्षा सकेर बसेको थियो । इन्जिनियर बन्छु आमा भन्थ्यो, तर आज यस्तो हुन लेखेको रहेछ’ यसो भन्दा आमा शिवकलाको गहभरि आँसु भरिएको थियो । परिवारकै आशाको दियो थियो अर्जुन । दाई यज्ञराज पनि भाइलाई इन्जिनियर नै बनाउन चाहन्थे । तर आज सबै सपना उडेको छ । 
भदौ ७ गते त्यो कालो दिन 
गएको भदौ ७ गते हो । समय त्यस्तै ११ बजेको थियो होला । अर्जुन घरमै बसिरहेका थिए । आमा भान्साघरको काममा । खाना खाने सुरसार गर्दै थिइन् शिवकला । घरमा अर्जुनको साथी आयो । केहीबेर कुराकानी गरे दुबैले । अर्जुन पनि साथीसँगै महेन्द्रनगर बजारतर्फ लाग्यो । घरबाट केही मिनेटको दुरीमा पर्छ महेन्द्रनगर बजार । आमा भन्दै थिइन्, ‘अर्जुन खाना खाएर जाऊ ।’ भन्दै थियो अर्जुन, ‘भर्खरै आइहाल्छु नि ।’
खाना तयार भयो । अर्जुन आएनन् । केहीबेर कुरिन्, अँहँ, अझै आएन । मोबाइलमा फोन गरिन् । फोन उठेन । केहीबरेपछि हल्ला हावासरी फैलिन थाल्यो । निर्मला हत्याकाण्डको विरोधमा महेन्द्रनगरमा भएको आन्दोलनमा अर्जुनलाई पनि गोली लाग्यो रे ! 
शिवकलाको होस्हवास उड्यो । छाँगाबाट खसेजस्तो भइन् । असिनपसिन, के गरुँ र कसो गरुँ । महाकाली अस्पताल पुगिन्, अर्जुनलाई हेर्न सकिनन् । रगताम्य थियो । होस् थिएन । अर्जुनलाई कञ्चनपुरबाट उपचारको लागि धनगढी लगियो, आमालाई जान दिइएन । 
झन्डै एकमहिना हुन लागेको थियो निर्मला पन्तको बलात्कारपछि हत्या भएको । त्यही बेला चलेको आन्दोलनमा सुरक्षाकर्मीबाट चलेको गोली लागेर घाइते भएका अर्जुन अहिले पनि शिक्षण अस्पतालमा उपचाररत अवस्थामा छन् । 
धनगढीमा पनि उपचार सम्भव नभएपछि अर्जुनलाई शिक्षण अस्पताल काठमाडौँ ल्याइयो । आमा शिवकला कञ्चनपुरमा बस्न सकिनन् । छोराको अवस्था बुझ्नुपर्यो अब त ठीक भयो होला भन्दै अस्पताल आइन्, तर छोराको अवस्था झन् नाजुक भएको पाइन् । भदौ १८ देखि उनी लगातार अस्पतालमा छोरा कुरिरहेकी छन् । 
अर्जुनको दाहिने खुट्टा घुँडा मुनि काटिएको छ । बोल्न मात्र नसक्ने होइन् कुनै इशारा बुझ्दैनन् । घरपरिवार आमा चिन्दैनन् । धेरैपटक शिवकलाले छोरालाई आमा भन्न लगाइन् तर छोरा हाँस्नेबाहेक केही गर्दैन । बेलाबेला भक्कानिन्छिन् शिवकला । आँसुको धारा बगिरहन्छ...।
चिकित्सकहरुका अनुसार दिमागमा रगत नपुगेर सुकेको अवस्था छ, उसले पुरानोे कुरा कुनै सम्झन सक्दैन । डाक्टरले शिवकलालाई भन्ने गरेका छन्, ‘रगत धेरै बगेको थियो, बचाउन सक्यौँ, यसमा ठूलो कुरा मान्नपर्ने अवस्था आयो ।’
शिवकला रोइकराइ गर्छिन्, मेरो छोरालाई बोल्ने बनाइदेऊ भन्छिन् । बिन्ती बिसाउँछिन् । छोरोलाई उपचार गर्न आएकी आमा आफैँ बिरामी परिन् । कञ्चनपुर फर्किन । छोरालाई यस्तो अवस्थामा छोड्न कुन आमाको मन मान्छ र ! गएको असोज २५ गते फेरि शिक्षण अस्पताल आइन् । छोरा कुरिरहिन् । 
डाक्टरहरुले शिवकलालाई भन्ने गरेका छन्, अब अर्जुन बोल्न सक्दैनन् । घर लैजानूस् । अँहँ, शिवकलाको मन मान्दैन, विश्वास लाग्दैन । उनी सञ्चो बनाएर छोरालाई घर लैजाने अठोट गरेकी छन् । सरकारले उपचार खर्च त दिएको छ, तर आफ्नो मुनाजस्तो छोराको यस्तो हालत देख्दा शिवकलाको आँखा सदैव रसाइरहेका छन् । 
शिवकलाका श्रीमान १७ वर्षअघि बितेका हुन् । ३ छोरा २ छोरीको लालनपालन उनले नै गरिन् । चिया पसल चलाएकी थिइन् । जेठो छोरो यज्ञराजले मोबाइल पसल चलाएका थिए । जसोतसो जीवन चलिरहेको थियो । आफ्नो माटो त थिएन, अरुकै माटोमा भाडा तिरेर झुपडी हालेकी छिन शिवकला । त्यही माटोमा हाँसीखुसी थियो परिवार । 
अर्जुनको स्याहार गर्न दुई जना मान्छेले सम्भव छैन । ओल्टोकोल्टो फेर्नेदेखि खुवाउन समेत मान्छे चाहिन्छ । ‘जीवनभर पालन पोषणको व्यवस्था गर्नुपर्यो’ उनी भन्छिन् ।  उनी आफू निर्मला पन्तको आमा दुर्गादेवी जत्तिकै पीडित भएको सुनाउँछिन् । भन्छिन्, ‘कतिञ्जेल अस्पतालमा बस्नुपर्ने हो केही थाहा छैन ।’ 

प्रतिक्रिया दिनुहोस