जग खनियो देखेनन्, घर ठडिएपछि देख्नेछन् : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

सोमबार, ०२ बैशाख २०७६, १६ : ४६
जग खनियो देखेनन्, घर ठडिएपछि देख्नेछन् : अर्थमन्त्री खतिवडा

चितवन । अर्थमन्त्री डा युवराज खतिवडाले गएको एक वर्ष देशको समग्र विकासको जग खन्ने काममात्र भएको बताउनुभएको छ । 
आज चितवनको भरतपुरमा प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश नं ५ का उद्यमीहरुबीच पूर्व बजेट छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, ‘जग त खनियो, जग तल भएकाले कसैले देखेनन्, अव विस्तार पर्खाल बन्दै गएपछि देख्नेछन्, कतिले पर्खाल पनि देख्दैनन्, घर ठडिएपछि देख्नेछन् ।’
अर्थमन्त्री खतिवडाले देशको सम्पूर्ण कानुन निर्माण भएको र यही नै देशको विकासको जग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब विकासको घर ठडिदै जान्छ ।’ देशमा लगानीको वातावरण बनिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘सम्पूर्ण कानुन निर्माणका काम सकिएका छन्, यो आधार हो, अब विकास सुरु हुन्छ ।’ उद्योगीले राखेको समस्याहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले उद्योगमैत्री नीति ल्याएको बताउनुभयो । 
कार्यक्रममा उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालनको लागि भूमिको समस्या छैन, अब औद्योगिक क्षेत्रमा गएर उद्योग सञ्चालन गर्न सक्नुहुन्छ ।’ हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘उद्योगीहरु उद्योग चलाउन अब औद्योगिक ग्राम र औद्योगिक क्षेत्रमा जान सक्नुहुन्छ ।’

अर्थमन्त्री खतिवडाले कुनै वस्तुको भन्सार बढाएर एकदुई उद्योगलाई एकाधिकार गर्ने छुट सरकारले नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ प्रशस्त उद्योगहरुले कुनै वस्तु उत्पादन गरेका छन्, प्रतिस्पर्धा चर्को छ, त्यस्तो अवस्थामा बाहिरबाट आउने वस्तुको भन्सार बढाउन सकिन्छ ।’
अब उद्योग सञ्चालनका लागि एकद्वार प्रणाली बनाइको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘एकद्वार प्रणाली आएपछि उद्योग खोल्न कुनै झन्झट हुँदैन ।’ उद्योगीहरुले लिएको कर्जाको व्याज स्थिर पार्नलाई बैंकहरुलाई निर्देशन दिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘बैंकहरुले व्याजदरमा मनपरी गर्न पाउँदैनन्, बैंकहरुलाई पनि उत्पादन क्षेत्रमा २५ प्रतिशत लगानी गर्न सरकारले भनिरहेको छ ।’
उद्योगीहरुलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक हातले अनुदान दिने, अर्को हातले कर लगाएर असुल्ने हो । अनुदान दिने तर नउठाउने हो भने त देश डुव्छ ।’ 
सरकारले बढी कर तिर्नेलाई नै बढी अनुदान दिने नियम ल्याउन लागेको उहाँले बताउनुभयो । उद्योगीहरुलाई उहाँले श्रमको ज्याला उच्च दिन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘श्रमको ज्याला तल राखेर उद्योग माथि जाँदैन, बढी गुणस्तरीय वस्तु उत्पादन गरे माथि जान्छ ।’ उहाँले उद्योगीहरुको सुुझाव खेर नजाने बताउँदै भन्नुभयो, ‘यस वर्षको बजेटमा परे, मेरो सुझाव समेटियो भनेर बुझ्नुहोला, नपरे अर्को वर्ष पर्ला भनेर बुझ्नुहोला । अर्को वर्ष पनि नपरे मेरो सुझाव गलत रहेछ भनेर बुझनुहोला ।’


 

प्रतिक्रिया दिनुहोस