होनाहार कलाकार गुमेको वर्ष–२०७५

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १४ : ३२
होनाहार कलाकार गुमेको वर्ष–२०७५

चितवन – २०७५ साल अब हामीबाट केही घन्टामै बिदा हुँदै छ । २०७६ साल चाँडै नै आउँदैछ । २०७५ साल नेपाली चलचित्र जगतको लागि त्यति राम्रो बन्न सकेन । देशका होनाहार कलाकारलाई हामीले २०७५ सालमा गुमाएका छौँ । बिट मार्नै लागेको २०७५ वर्षले चर्चित कलाकारलाई सँगै लिएर गयो । 
भीमबहादुर थापा
वरिष्ठ कलाकार भीमबहादुर थापाको जेठ २९ गते ९३ वर्षको उमेरमा काठमाडौं मैतीदेवीस्थित आफ्नै निवासमा निधन भयो । खोटाङको लामिडाँडामा जन्मिएका बृटिश सेनामा भर्ति भएर दोस्रो विश्वयुद्ध समेत लडेका थिए उनी । पछि उनी नेपाली सेनामा कार्यरत रहे ।
रेडियो नेपाल, नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेका थापाले सैनिक सेवामा हुँदा नै २०४१ सालमा ‘के घर के डेरा’ लगायतका चलचित्रमा अभिनय गरिसकेका थिए । उनी हाँस्य टेलिसिरियल ‘तीतो सत्यमा काम गरेपछि थप चर्चित बनेका थिए ।
थापा कलाकार तथा निर्देशक दीपाश्री निरौलाका धर्म बा थिए । दीपाश्रीसँग उनले सिरियल ‘देवीदेखि नै काम गरेका थिए । ‘तीतो सत्यमा उनी दीपाश्रीको बुवाको भूमिकामा देखिन्थे ।
थापाले ५० बढी नेपाली चलचित्र, १ सय बढी टेलिसिरियल तथा १ दर्जन बढी नाटकमा अभिनय गरेका छन् । तर पछिल्लो केही वर्षयता मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट ग्रसित भएपछि चलचित्र अभिनय कम गरेका थिए ।
बीएस राणा
चलचित्र क्षेत्रका अग्रज कलाकार बीएस राणाको माघ १८ गते ७६ वर्षको उमेरमा निधन भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका बीएसको उपचारका क्रममा निधन भएको हो । २०४१ सालमा ‘अन्याय’बाट चलचित्र क्षेत्रमा होमिएका राणाले १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । 
करोडपति, नेपालीबाबु, कोशेली, दक्षिणा, दुई थोपा आँशु, दासढुंगा, बसन्ती, दाग, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, हवल्दार सुन्तली, काफल पाक्यो, सेतो बाघ, दर्पण छायाँ २ लगायत उनी अभिनित चलचित्र हुन् । हलमा प्रदर्शनरत ‘लभ स्टेशन’मा पनि बीएस छोटो भूमिकामा देखिएका छन् ।
उनले दर्जनौं नाटकमा अभिनय गरेका छन् । जसमध्ये ‘मुक्ति’ उनी अभिनित चर्चित टेलिसिरियल हो । उनी मौलिक अभिनय गर्ने कलाकारका रुपमा लोकप्रिय थिए । 


गणेश न्यौपाने ‘मुनाल’
कलाकार गणेश न्यौपाने ‘मुनाल’को ६८ वर्षको उमेरमा माघ ७ गते निधन भएको हो । दमका रोगी मुनालको काठमाडौंको बौद्ध महांकालस्थित आफ्नै घरमा निधन भयो ।
मुनालले ‘बोल्ड भ्याइस’ र प्रखर अभिनय कलाका कारण चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका थिए । उनले थुप्रै रेडियो तथा स्टेज नाटक, ‘तीतो सत्य’ लगायतका दर्जनौं टेलिसिरियल तथा दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । नारी, दिदीभाइ, नौडाँडा पारी, प्रेमयुद्ध, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ, घामपानी लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनी पछिल्लो पटक माघमा प्रदर्शनमा आएको चलचित्र ‘गोपी’मा छोटो भूमिकामा देखिएका
थिए । हरिप्रसाद रिमाल
यस वर्ष चलचित्र क्षेत्रले गुमाएको अर्का मुर्धन्य व्यक्ति हुन् वरिष्ठ कलाकार, गायक तथा रेडियो नेपालका संस्थापक सदस्य हरिप्रसाद रिमाल । काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको भदौं १५ गते ९३ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं वानेश्वर हाइटमा निधन भयो ।
उनी १४ वर्षको उमेरका बालकृष्ण समको नाटक ‘‘मुकुन्द इन्दिरा’बाट अभिनय यात्रा शुरू गरेका थिए । रिमालले मुनामदन, संयोग, क्रसमा टाँगिएको जिन्दगीजस्ता नाटकमा अभिनय र निर्देशन गरेर ख्याति कमाएका थिए । उनले चलचित्र क्षेत्रमा पनि ख्याति कमाएका थिए । उनले आमा, मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तान लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
उनले ‘सपना’ नामक नेपाली चलचित्रको निर्देशन समेत गरेका छन् । रिमाल गायनमा पनि स्थापित नाम हो । रिमालका ‘फगत् एक नजरमा कसैले लियो मन’, ‘विना बादल असिना आउँदैन’ जस्ता गीत निकै चर्चित छन् । उनले रेडियो नेपालमा थुप्रै कार्यक्रम सञ्चालन गर्थे ।

रामकेशर बोगटी

रामकेशर बोगटीको असोज २३ गते ५८ वर्षको उमेरमा ललितपुरको टिकाथलीमा निधन भएको हो । आफ्नै घर नजिकै रुख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर उपचारको क्रममा बोगटीको निधन भएको थियो ।
सानैदेखि अभिनयप्रति रुचि राख्ने रामकेशर नाटक हुँदै चलचित्र क्षेत्रमा होमिएका थिए । दर्जनौं चलचित्रमा अभिनय गरेका रामकेशरले ‘स्वाभिमान’ र ‘माया गर ल’ नामक चलचित्रको निर्माण गरे । २ वर्षअघि उनी चलचित्र कलाकार संघको अध्यक्षमा विजयी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस