अष्ट्रेलियामा दुई नेपालीबीच झडप हुँदा एक जना जेलमा अर्को अस्पताल भर्ना

एजेन्सी

मंगलबार, १९ चैत्र २०७५, १२ : ५७
अष्ट्रेलियामा दुई नेपालीबीच झडप हुँदा एक जना जेलमा अर्को अस्पताल भर्ना

सोमबार मध्य राती सिड्नीको सिबीडीमा दुई नेपालीबीच हिंस्रक झडप हुँदा एक नेपाली युवकको दिमागमा रक्तश्राव र टाउकोको हड्डी भाँच्चिएपछि अस्पताल भर्ना भएका छन् भने उनका अर्का साथी जेलमा छन् ।
एनएसडब्लू पुलिसका अनुसार सोमबार स्थानीय समयानुसार राती साढे १२ बजेको उक्त घटनापछि पार्क स्ट्रिट नजिकै जर्ज स्ट्रिटमा आपतकालीन सेवा बोलाइएको थियो ।

नाइनन्यूजका अनुसार २२ वर्षे एक नेपालीलाई उनका २५ वर्षे साथीले यति बेस्सरी मुक्का हाने कि उनको टाउकोको हड्डी भाँच्चिएको छ भने दिमागमा रक्तश्राव भएको छ । उनको सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ । उनका २५ वर्षे नेपाली साथीलाई प्रहरीले पक्राउ गरेको छ । नाइनन्यूज रिपोर्टका अनुसार उनले आफ्ना साथीलाई बक्स कटरले हमला गरेका थिए ।  

यी दुई नेपालीको जर्ज स्ट्रिट नजिकै बाटो काट्नेबेला दुई दाजुभाइसँग बहस चर्किदाँ उक्त घटना भएको बताइएको छ । ती दुई दाजुभाइलाई पनि पक्राउ गरिएको थियो तर उनीहरुलाई जमानतमा रिहा गरिएको छ ।

सिड्नी क्षेत्रमा नेपालीहरुको बढ्दो जनसंख्याले त्यहाँ उनीहरुका आपराधिक क्रियाकलाप पनि बढ्दो छ ।

एनएसडब्यूका एनआरएनए संयोजक नन्द गुरुङले नेपालीहरुलाई अष्ट्रेलियामा पढ्न आएकाले यस्ता समस्याबाट टाढै बस्न आग्रह गरेका छन् ।  

‘हाम्रो समुदायको निकै राम्रो मानसम्मान छ तर यहाँ दिनानुदिन अन्तरराष्ट्रिय विद्यार्थी एवं आप्रवासीको संख्या बढिरहेकाले युवा जमात क्रमशः समस्यामा फसिरहेका छन् । अहिलेको युवालाई मेरो एउटै सल्लाह छः आफ्नो मनोभाव नियन्त्रण गर्नुहोस्, अहंकार बिर्सनुहोस् र एकअर्कालाई सम्मान गर्नुहोस् । जीवन निकै छोटो र बहुमूल्य छ ।’

प्रतिक्रिया दिनुहोस