Safal Khabar - मेलापक प्रथा एवम् नाडीदोष परिहार
आइतबार, ०८ बैशाख २०७६ (Sunday, 21 April, 2019)
ज्योतिष

मेलापक प्रथा एवम् नाडीदोष परिहार
दाम्पत्यसुखका निम्ति अष्टकूट मिलानमात्र छैन यथेष्ट
आइतबार, १७ चैत २०७५, १४ : ४०
मेलापक प्रथा एवम् नाडीदोष परिहार

- प्रा. कपिल अज्ञात

फलित ज्योतिष विज्ञान र कलाको समन्वित रूप हो । यसले अन्यौल र दुविधामा रहेका जातकलाई मार्ग प्रशस्त गर्ने काम गर्दछ । वैवाहिक सन्दर्भमा शास्त्रको सतही उपयोगले कहीँ सहजता उत्पन्न गरेको छ त कहीँ जटिलता निम्त्याएको छ । कहीँकहीँ त भ्रम र धोकाको अनुभव पनि नभएको होइन । सूक्ष्म अध्ययनविना गरिने ज्योतिषीय परामर्शले लाभभन्दा हानि अधिक भएको छ । नेपाली समाजमा जन्म–नक्षत्र तथा जन्मराशिका आधारमा अष्टकूट मिलानमा गुणात्मक सङ्ख्या एवम् विशेषतः नाडीको आधारमा निर्णय लिने गरिन्छ । वरकन्याको मिलनका निम्ति गुणस्तर जाँच्ने यही पद्धति नेपाली समाजमा अधिक प्रचलित छ । यस लेखमा मेलापक मिलानको दोष–परिहारसम्बन्धी विषयमा सङ्क्षिप्त विवेचना गर्ने जमर्को गरिएको छ ।

विवाहमा यही अष्टकूट मिलान हेरी नक्षत्रका आधारमा ३० भन्दा अधिक गुण प्राप्त गरेका विवाहित जोडीहरू पनि दाम्पत्य जीवनको असफलता भोगिरहेका छन् । गुण मिलाएर गरिएको विवाहमा पनि सामञ्जस्य देखिँदैन । उनीहरूको दैनिक जीवन पारस्परिक आरोप–प्रत्यारोप, अविश्वास, तनाव र मनमुटावमा बितेको पाइन्छ । ज्योतिष ग्रन्थहरूमा यसै विषयसँग सम्बन्धित चर्चाका लेखहरू पनि भेटिन्छन् । यसबाट के बुझिन्छ भने दाम्पत्यसुखका निम्ति अष्टकूट मिलानमात्र यथेष्ट छैन । ग्रहभाव मिलान र माङ्गलिक दोषले नै दाम्पत्य सम्बन्धमा निकै प्रभाव पार्ने तथ्य अस्वीकार गर्न सकिँदैन तर यो ग्रहभाव मिलान हेर्ने पद्धति जटिल भएकाले अष्टकूट मिलानको पद्धति हेरी निर्णय लिने गर्दा दाम्पत्य जीवन विघटित भएका उदाहरण पनि प्रशस्तै भेटिन्छन् ।

विवाह मेलापक प्रकरणमा अनेक चक्रहरू छन् – पञ्चशाला चक्र, चतुर्नाडी चक्र, त्रिनाडी चक्र, नाडीचक्र, ग्रहमैत्री चक्र, आयचक्र, रज्जुचक्र, पञ्चरज्जुचक्र, योगिनी कूटचक्र, चन्द्रयोग चक्र, त्यस्तै योनिकूट विचार, स्त्रीदीर्घ विचार, गणकूट विचार, माहेन्द्र विचार, आयुवर्ग विचार, जातिकूट विचार, वेधवर्ग विचार, पञ्चपक्षी विचार, योगिनीकूट विचार, लिङ्गवर्ग विचार आदि । यसरी मेलापक सन्दर्भमा अनेकौँ चक्र र विचारको चक्करमा पर्ने हो भने कुनै वरकन्याको विवाह हुन नै मुश्किल पर्छ । यसको तात्पर्य ती सबैको उपेक्षा गरेर चल्नुपर्छ भन्ने होइन । द्वन्द्व र दुविधा परेको स्थितिमा मात्र तिनको उपयोग गर्ने हो ।

ब्राह्मणका लागि नाडीदोष, क्षत्रीयका लागि वर्गदोष, वैश्यका लागि गणदोष, शूद्रका लागि योनिदोष विशेष विचारणीय छ भन्ने पनि शास्त्रीय ग्रन्थहरूमैं उल्लेख भएको पाइन्छ । यथार्थमा यो सब भ्र्रम हो । ज्योतिष कुनै जाति र वर्गलाई लक्ष्यित गरेर बनेको हुँदैन । प्रभाव परे ग्रहस्थितिअनुसार सबै मानवमाथि समान रूपले प्रभाव पर्छ, नपरे त्यो कसैमाथि पनि पर्दैन । त्यसैले जातीय रूपमा प्रभाव छुट्याउनु व्यर्थको अभिव्यक्ति हो ।

मेलापक प्रथामा महŒव दिनु पनि जाति र वर्गअनुसारका आ–आफ्नै प्रचलन छन् । हिन्दू संस्कारअनुसार प्रायः नाडीलाई अधिक महŒव दिने गरिन्छ । नाडी योगशास्त्र र वैद्यकशास्त्रमा प्रयुक्त शब्द हो । शारीरिक नशनलीमा रक्तप्रवाह राम्रो रहेमा मानिसको स्वास्थ्य स्वच्छ हुन्छ भन्ने वैद्यशास्त्रीय मान्यता छ । त्यसैले यो स्वास्थ्यप्रति लक्ष्यित शब्द हो । नाडी तीन छन् – आद्य, मध्य र अन्त्य । यिनमा समान नाडी हुनु हुँदैन । एकै प्रकारका नाडीले व्यक्ति एक–अर्काप्रति आकर्षित हुँदैनन्, यसमा विरोध हुन्छ भनेरै भिन्न नाडी हुँदा शुभ मानिएको हो । एक प्रकारले यो रक्तसमूहजस्तै वैज्ञानिक व्यवस्था हो भन्ने बुझिन्छ । यो प्रथा ब्राòण, क्षत्री समाजमा अधिक प्रचलित छ । गुरुङ समुदायका मानिसहरू आफ्नै वर्गज्योतिषमा विश्वास राख्दछन् । उत्तरी भारत र नेपालमा अष्टकूट मिलान नै अधिक प्रचलनमा छ । दक्षिण भारततिर भने गुणगणना गरी निर्णय लिने प्रथा छैन, त्यसतर्फ माहेन्द्र विचार, स्त्रीदीर्घ विचार, रज्जुचक्र, वेध आदि हेरी निर्णय लिने गरिन्छ । नेपाली समाजमा अष्टचक्र मिलानको पात्रेचक्र नै बढी हेरी गुणगण र नाडीका आधारमा निर्णय लिने गरिन्छ । नक्षत्रका आधारमा हुने यस पद्धतिमा अष्टकूट मिलान नै उपयोग गरिन्छ तर यसैको पादवेध वा अंशवेधजस्तो सूक्ष्म पद्धतिमा गएर विचार गरिँदैन, पात्रोमा त्यसको व्यवस्था पनि देखिन्न । ग्रहमैत्रीबाट हुने परिहार एवम् ग्रहभाव मिलानको परिणामतर्फ पनि त्यति विचार राखिँदैन । अन्यको बढी निधिखोजी नगरिए पनि नाडीदोष लागेपछि वर्वाद नै हुन्छ भनी विवाह निषेध नै गर्ने प्रवृत्ति, संस्कारगत रूपमैं विद्यमान छ । नाडीदोषको पनि परिहार हुन्छ र विवाह सफल हुन्छ भन्ने सोच विकसित भएको पाइन्न । यस्तै स्थूल पद्धति मात्रै हेरी निर्णय लिने प्रवृत्तिले कति योग्य जोडीहरू पनि वैवाहिक मधुर सम्बन्धबाट वञ्चित हुन पुगेका छन् । त्यसैले पेशागत ज्ञानमा पनि गहनता र समाजमा पनि गुणग्राहीपन आउन आवश्यक देखिन्छ । यही उद्देश्य र प्रयोजनका निमित पनि यस विषयसम्बन्धी आवश्यक तथ्यहरूलाई प्रकाशमा ल्याउने प्रयास गरिएको छ ।

अष्टकूट मिलानमा जम्मा आठ घटक हुन्छन् । सबभन्दा बढी अङ्क नाडीको र सबभन्दा कम अङ्क वर्णको हुन्छ । अङ्कक्रमानुसार नाडी – ८, भकुट – ७, गण – ६, ग्रहमैत्री – ५, योनि – ४, तारा –३, वश्य – २ र वर्ण – १ गरी समग्र जोड ३६ रहेको हुन्छ । महŒवको आधारमा अङ्कविधान हुँदा नाडीलाई सबैभन्दा बढी अङ्क दिइएको छ । अन्य सबैको अधिकाधिक मिलान भएर गुणाधिक रहेको स्थिति भए पनि नाडी लागेमा विवाहकै निषेध गरिन्छ । गुण कम आए पनि नाडी लाग्न हुँदैन भन्ने मान्यताले बढी बल पाएको पाइन्छ ।

सबै घटकले आ–आफ्ना विषयलाई इङ्गित गरेका छन् । जस्तै – नाडीले स्वास्थ्य र सन्तान, राशिले दाम्पत्यसुख, गणले स्वभाव वा प्रकृति, ग्रहमैत्रीले प्राकृतिक सामञ्जस्य, योनिले कामभावना, ताराले सम्पत्ति, वश्यले नियन्त्रण, वर्णले व्यवहार एवम् दृष्टिकोणलाई इङ्गित गर्दछन् । वैवाहिक जीवनमा स्वास्थ्य र सुख नै अधिक महŒवका विषय हुन् । स्वास्थ्य राम्रो रहे सन्तान पनि स्वस्थ जन्मन्छन् । सुखको स्थिति बनेपछि समृद्धि पनि स्वतः बढ्दै जान्छ, तसर्थ नाडी, भकूट, गण र ग्रहमैत्रीलाई अधिक महŒव दिइएको छ ।

मेलापक प्रथामा आ–आफ्नो रीतिरिवाज, परम्परा र संस्कृतिअनुसार अष्टकूट मिलानका अतिरिक्त पोरुथुम, नागनाडी, षड्नाडी, मंडल हेर्ने पद्धति पनि प्रचलित छन् । नागनाडी नाडीकूटजस्तै हो तर यसको क्रम कृतिका नक्षत्रबाट हुन्छ । षड्नाडी जन्मनक्षत्रका आधारमा हेरिन्छ । यसका वरकन्या नक्षत्रदेखि दसौँ नक्षत्रबाट कर्मनाडी, १५औँ नक्षत्रबाट मानसनाडी, १६औँ नक्षत्रबाट साङ्घातिक नाडी, १८औँ नक्षत्रबाट समुदाय नाडी हुन्छ । त्यस्तै २३औँ नक्षत्रलाई वैनाशिक नाडी भनिन्छ । कर्मनाडीले कर्महानि, मानसनाडीले मानहानि अर्थात् गरिबी, साङ्घातिक नाडीले वैधव्यहानि, समुदाय नाडीले परिवारबाट विच्छेद, वैनाशिक नाडीले पति–पत्नी दुवैको मृत्यु हुने नामानुसारी अर्थ दर्साउँछ । त्यस्तै मण्डल विचारको पनि कुरा छ । यी सबै मिलान विधि हेर्दा समग्र घटक मिलेको स्थिति पाउन अत्यन्त दुर्लभ छ ।

नाडीका अतिरिक्त नक्षत्रहरूका बीच वेधको पनि कुरा छ, जस्तै मृगशिराको चित्रा एवम् धनिष्ठाका बीच वेध हुन्छ, जसलाई शिखरवेध भनिन्छ । रोहिणी, हस्ता, श्रावण, आद्र्रा, स्वाती, शतभिषाका बीच पनि वेध हुन्छ, जसलाई कण्ठवेध भनिन्छ । त्यस्तै कृतिका, उत्तरफाल्गुनी, उत्तरषाढा, पुनर्वसु, विशाखा एवम् पूर्वभाद्रका बीच पनि वेध हुन्छ, त्यसलाई कुशीवेध भनिन्छ । त्यस्तै भरणी, पूर्वफाल्गुनी, पूर्वषाढा, पुष्य, अनुराधा एवम् उत्तर भाद्रपदका बीच पनि वेध हुन्छ । त्यस्तै अश्विनी, मघा, मूल, अश्लेषा, ज्येष्ठा एवम् रेवतीका बीच पनि परस्पर वेध हुन्छ । यसलाई यात्रावेध भनिन्छ । यसरी २७–२८ नक्षत्रमध्ये नाडी लागेर तीन भागको एक भाग नक्षत्र पाखा लाग्छन् । त्यस्तै कति वेध लागेर घट्छन् । त्यस्तै षड्नाडीका जन्म, कर्म, मानसबाट निर्धारित नक्षत्रहरू घट्ने स्थिति पनि छँदै छन् । कतै घातले पनि घट्छन् । शुभयोगका निम्ति जम्मा कति नै नक्षत्र बाँकी रहन्छन् । कतिसँग कतिको मेल हुन आउँछ र ? वास्तवमा नाडी, वेध, घात आदि समग्र घटक हेर्दै जाने हो भने भनेजस्तो वरकन्याको मिलान मिल्न नै मुश्किल पर्छ । निकाष खोज्ने क्रममा यी धेरै कुराले दिग्भ्रमित मात्र पार्दछन् । रूप, सीप, योग्यता, शारीरिक बनोटका अतिरिक्त यति धेरै गुणगणको चक्र, चक्रव्यूहमा फसेर उम्कनु कम गाह्रो कुरा होइन, तसर्थ मुख्य मिल्नै पर्ने घटक वा तथ्य कुन हो ? त्यो नमिले त्यसको परिहार कसरी हुन्छ ? त्यो हेरेपछि दोषको उपयुक्त परिहार देखियो भने निर्णयमा पुगिहाल्नु पर्छ । स्मरनार्थ :

कहीँ नाडी भनी रोक्यो कहीँ रोक्दछ वेधले
कहीँ घात भयो छोड्यो कहीँ जेष्ठ नक्षत्रले
हुन्छ जुराउनै गाह्रो अष्टकूट मिलानमा
मन मिल्यो, भयो राम्रो दैवकै नै छ हातमा ।
गुणकै खजना हेरी परिन्छ अलमल्लमा
नहेरी हुन्न सर्वत्र दोषकै परिपत्रमा
परिहार भए राम्रो निर्णय गर्नु पर्दछ 
दुवै योग्य भए वेश मन्तव्य हेर्नु पर्दछ ।।

वास्तवमा मेलापक प्रथामा शास्त्रीय आधार लिएर अनिर्णयको बन्दी भएर रहनुभन्दा प्राकृतिक आधार लिएर उन्मुक्त हुनु उत्तम हो । प्राकृतिक नियमकै रक्षाका निम्ति शास्त्रीय नियमहरूको रचना हुने हो । गार्हस्थ जीवनका निम्ति दुवैको प्रकृति–प्रवृत्ति एवम् सामाजिक स्तर मिल्यो भने शास्त्रकै किन शरण पर्नुप¥यो ? आत्मविश्वास र कर्मले नै जीवनको गाडी हाँक्ने हो । सबै कुरामा लगन र मुहूर्त हेरेर सम्भव हुने कुरा पनि होइन । ग्रह गुणधर्म र प्रकृतिलाई प्रतिकूल तुल्याउँछु भनेर प्रारब्ध बदल्न सकिन्न । त्यसको प्रतिकूलताबाट बच्ने र आत्मरक्षाका लागि हरसम्भव प्रयास गर्ने मात्र मानवको जीवनधर्म र कर्तव्य पनि हो ।

नाडी, वेध, घात आदिले बढी नै जटिल र अव्यावहारिक हुने सम्भावनालाई देखेर ऋषि–मनीषीले परिहार हुने पाटोलाई पनि प्रशस्तमात्रामा नदेखाएका होइनन् । दोष लागेपछि परिहारबाट मुक्ति हुने उपायको खोजतर्फ सरोकार पक्ष पनि त्यति गहिरिएर नलाग्दा शास्त्रको सही उपयोग भइरहेको देखिन्न । लौ नाडी दोष लाग्यो तर विवाह गर्नै पर्ने स्थिति छ, त्यस्तै वैकल्पिक पात्र खोजेरै पनि भेट्न मुश्किल छ भने परिहारतर्फ पनि जानै प¥यो । शास्त्रले परिहारतर्फ पनि मार्गप्रशस्त पारेको छ । नाडीदोष शमनका सम्बन्धमा नाडीदोष लागेपछि त्यसैभित्र परिहारको पनि व्यवस्था छ । त्यसबाट पनि निकास भेटिएन भने जन्मपत्रीको भावचक्रमा गई कुण्डलीको पञ्चमभाव विचार गर्नु भन्ने पनि शास्त्रविज्ञले उल्लेख गरेका छन् । पञ्चमभाव प्रियतम वा प्रियतमाको भाव हो । यदि पञ्चमभाव एवम् भावेशको स्थिति बहुतै राम्रो छ, शुक्र–वृहस्पति पनि शुभस्थितिमा छन् भने नाडीले केही बिगार्न सक्दैन । यदि पञ्चमभाव नै बिग्रेको छ, शुक्र–वृहस्पति दुषित छन् भने जतिसुकै गुणगण मिले पनि सम्बन्ध सुमधुर हुँदैन । यही ग्रहभाव चक्रको विशेषतालाई ध्यानमा राखी नाडी लागेर आठ अङ्क घटेकै छ भने त्यसलाई थपेर निर्णय लिनु भन्ने धारणा ज्योतिषीय ग्रन्थहरूमैं उल्लेख भएको पाइन्छ (मनोजकुमार, सन् २०१६ ः ७८) । यसैगरी वरकन्याको राशि एकै भएमा वा दुवैको राशिस्वामी परस्पर मित्र भएमा भकूट दोष पनि रहँदैन, त्यसमा पनि सात थपेर विचार गर्नु भनेको पाइन्छ । त्यस्तै वरकन्या दुवैको लग्न एकै भएमा ती दुवै बीच गाढा प्रेम र आपसी समझदारी हुन्छ । ती दुवैले पारिवारिक दायित्व निर्वहण गर्न सक्छन् भन्ने मान्यताले १५ भन्दा कम गुण आए पनि विवाह गर्न हुन्छ भन्ने पनि ग्रन्थमैं उल्लेख भएका छन् तर शास्त्रीय नियमको सूक्ष्म उपयोग व्यवहारमा गरिएको देखिँदैन ।

परिहारका अतिरिक्त दोषलाई एक–अर्का गुणले काट्ने प्रावधान पनि ज्योतिषमै छ । जस्तै – गणदोष छ भने राशिस्वामी अथवा नवांश स्वामीमा मैत्री छ भने त्यो दोष दोष रहँदैन । त्यस्तै परस्पर ग्रहको मित्रताले दुष्ट भकूटको दोषलाई पनि नाश गर्दछ । केही ज्योतिषीहरूका मतमा नाडी विचारमा आदि वा अन्त्य नाडीमा कुनै एक नाडी दुवैको छ भने त्यसमा रज्जुकूट अनुकूल छ, राशिकूट शुभ छ, दुवैको राशिस्वामी एक छ वा दुवै राशिस्वामीमा मैत्री छ भने नाडीदोष विशेष अनिष्टकर हुँदैन । यसले पनि तीनै नाडीमध्ये मध्यनाडी विशेष दोषप्रद रहेको बुझिन्छ । नक्षत्रानुसार नाडीदोष परिहार हुनेभित्र केही नक्षत्रहरू पर्छन्, तिनको सूचीभित्र पनि नपर्ने नक्षत्र प¥यो भने नाडीदोषको शमन कसरी हुन्छ ? यो गम्भीर विचारणीय विषय रहेको स्थिति छ । जस्तै – मृगशिरा र पूर्वफाल्गुनीबीच नाडीदोष लाग्यो, त्यसको निरस्त हुने शास्त्रीय उपाय देखिँदैन । गुण मिलान केवल मनोविचारको मेल मात्र हो, अधिक गुण रहेमा अनुकूलता वा सामञ्जस्य हुनसक्छ तर भाग्यवृद्धि हुन सक्दैन भन्ने ज्योतिषीय मत रहेकाले महादोष रहेको नाडीदोष निरस्त हुने स्थिति हेर्न ग्रहभावचक्रकै व्यवस्थामा जानुपर्ने देखिन्छ । यसका अतिरिक्त स्थूल रूपमा हेरिने नक्षत्रका आधारमा हुने नाडीदोषलाई पादवेध वा अंशवेधको आधार हेरेपछि त्यसका पूरै पाउ वा अंश नाडीदोषभित्र नपर्ने देखिन्छन् । त्यसैले मेलापक चक्रमा स्थूलनाडी वेधमात्र होइन सूक्ष्म नाडीवेध चक्र पनि विचार गरी नाडीको स्थिति बताएको खण्डमा नाडीको गलत भ्रमबाट धेरै नै जोगिने स्थिति भएकाले यस लेखमा गणना परिहार, अंशवेध चक्र पनि प्रस्तुत गरिएको छ । नाडीको लागि अंशवेध हेर्ने रीति :

चू चे चो ला ली लू ले लो अ इ उ ए 
छ ङ घ कु कि का वो बे बु वी वा ओ 
के को ह ही हु हे हो डा डी डु डे डो 
पि प टो टे टू टि टा मो मे मु मी मा 
पु ष ण ठ पे पो र री रु रे रो ता 
यू यी या नो ने नू नी ना तो ते तू ती 
ये यो भा भी भू ध फा डा भे भो ज जी जू जे जो खा
सु सी सा गो गे गू गी गा खो खे खू खी 
से सो द दी दू थ झ ञ दे दो च ची 

यसै तालिकालाई नक्षत्रानुसारको चरणागत अङ्कक्रममा पनि राखेर हेर्न सकिन्छ । अङ्कक्रममा राख्दा दायाँ र बायाँ गरी डोरीझैं घुमाएर राखिन्छ । सरल रेखामा हेर्दा जुन पाउको जुनसँग वेध हुन्छ, त्यसको निश्चित अक्षर वा चरण तथा त्यसले प्रतिनिधित्व गर्ने अङ्क सजिलै बुझिन्छ । यसमा नक्षत्रक्रमको गणनामा पाउको नम्बर जानी हेरे स्पष्ट हुन्छ :

1 2 3 4 5 6 7 8 9 10 11 12

24 23 22 21 20 19 18 17 16 15 14 13

25 26 27 28 29 30 31 32 33 34 35 36

48 47 46 45 44 43 42 41 40 39 38 37

49 50 51 52 53 54 55 56 57 58 59 60

72 71 70 69 68 67 66 65 64 63 62 61

73 74 75 76 77 78 79 80 81 82 83 84

96 95 94 93 92 91 90 89 88 87 86 85

97 98 99 100 101 102 103 104 105 106 107 108

नक्षत्रका चार चरणमध्ये जुन चरण वरको छ त्यही तीन नक्षत्र अर्थात् १२ चरणमा दायाँबायाँ हुँदै नागबेली क्रममा रहेको चरण ठाडो वा सोझो हेर्दा एकै रेखामा प¥यो भने मात्र नाडीवेध पूरा मानिन्छ । पूरै २७ नक्षत्र नागबेली क्रममा रहने हुँदा कुनै एकको जन्म नक्षत्रको प्रथम चरणमा र दोस्रो चतुर्थ चरणमा हुँदा नै नाडी पादवेध मानिन्छ । विघ्न नपर्ने चरण चाहीँ स्वल्प मात्र दोष दिने हुन्छ भन्ने नरपति जयाचर्याको कथन सटीक र तर्कसम्मत लाग्दछ । जब एकै क्रमको नक्षत्र नाडी लाग्दा चरणभेद भै राशिभेद हुँदा नाडी लाग्दैन अर्थात् नक्षत्र समान राशि भिन्न हुँदा नाडीदोष लाग्दैन । त्यस्तै नक्षत्र भिन्न राशिस्वामी एक हुँदा पनि नाडीदोष लाग्दैन ।

गणना परिहार – रोग लागेपछि उपचारको खोजी भएजस्तै मेलापक प्रथामा पनि नाडी लागेपछि त्यसको परिहार हुन्छ कि हुँदैन भन्ने तथ्यको खोज गर्नु आवश्यक हुन्छ । स्थूलमा यो तथ्य देखिँदैन तर सूक्ष्ममा यो रहस्य खुल्दछ । परिहारबाट दोष मेटिने हो तर गुण मिल्ने चाहिँ होइन । जस्तै – कोही शत्रु कसैका निम्ति हान्न उद्यत रह्यो, त्यही अवस्थामा कसैले उसको हात बाँधिदियो वा समातिदियो भने उसले मार्न सक्दैन, तर ऊ मित्रचाहिँ हुँदैन । परिहार भन्नुको तात्पर्य पनि यही हो । अघि नै भनियो अष्टकूट मिलानका सबै घटक मिल्नु असम्भव नभए पनि गाह्रो कुरा हो । अरू नमिल्नु सामान्य मानिए पनि नाडी लाग्नु महादोष मानिन्छ । गुणको आधिक्य रहे पनि नाडी लागेपछि विवाहको अनुमति दिइँदैन । नाडीदोष महादोष मानिएकैले अरूभन्दा यसको अङ्क पनि अधिक छ । नेपाली समाजमा नाडीलाई अधिक महŒव दिने गरिन्छ । सबै गुणगण मिले पनि नाडी मिलेन भने विवाह गर्ने आँट प्रायः गरिँदैन । जप, दान आदिबाट हुने शमनप्रति पनि त्यति विश्वास राखिँदैन । नक्षत्रलाई मात्र आधार मानेर नाडी हेर्ने स्थूल पद्धतिबाट धोका नहोस्, राम्रो लागेपछि सकेसम्म विवाह गर्न पाइयोस् भन्ने हेतुले नाडीको लागि अंशवेध देख्ने रीतिलाई यहाँ दर्शाइएको हो ।

मानिस देश, काल, परिस्थितिअनुसार चल्नु पर्छ । वरकन्याका बीच जब कुनै शर्त छ, त्यो शर्त पूरा हुन्छ भने त्यस स्थितिमा मेलापकको विचार गर्नु आवश्यक छैन । कन्याका पिता वरको व्यक्तित्वबाट प्रसन्न भएर कन्यादान गर्ने इच्छा राख्छन् भने त्यस्तोमा पनि मेलापक विचार गर्नुपर्ने आवश्यकता देखिँदैन । यदि कन्या स्वयम् कुनै योग्य पुरुषलाई वरणको इच्छा राख्छिन् र प्रस्ताव गर्छिन् भने पनि मेलापक हेर्न जरुरी छैन । यस्तै पुनर्विवाह र विवाहयोग्य उमेर ढल्किसकेको स्थितिमा पनि मेलापक हेर्नु पर्दैन भन्ने ज्योतिर्विदहरूको धारणा पाइन्छ । नाडी लागेपछि देवता, राजा, गुरु, मन्दिरको आश्रय लिएर विवाह गर्ने सन्दर्भमा नाडीवेधको विचार आवश्यक छैन भन्ने पनि प्राचीन आचार्यहरूको मत भेटिन्छ ।

निष्कर्ष :
मेलापक गूढ विषय हो । पात्रोमा निहित चक्रको गुण, गण र त्यसको प्राप्ताङ्कमात्र होइन परिहार र अंशवेधको सूक्ष्म स्थितिसमेतलाई विचार गरी हेर्नुपर्छ । यसरी हेर्दा पनि वाधा–व्यवधान देखिन्छ भने भावचक्रको पञ्चमस्थानलाई समेत आधार बनाउनु पर्छ । साथै सप्तमभाव, सप्तमेश, शुक्र र वृहस्पतिको स्थितिलाई पनि विचार गरिनु पर्दछ । मेलापकका पनि दुई भेदहरू छन् – नक्षत्र मेलापक र ग्रह मेलापक । नक्षत्र मेलापकमा अष्टकूटको आधार लिइन्छ भने ग्रह मेलापकमा नौवटै ग्रहको स्थिति विचार गरिन्छ । नक्षत्र मेलापक हेर्ने रीति सहज भए पनि ग्रह मेलापक हेर्ने रीति जटिल छ । चन्द्र मनको प्रतिनिधि र लग्न शरीरको प्रतिनिधि हो । प्रेम मनबाटै हुने हुँदा चन्द्र राशिबाटै मेलापक हेर्ने प्रचलन अधिक रहेपनि परिस्थितिको जटिलतालाई ध्यानमा राखी ग्रह मेलापक समेत हेर्नुपर्ने हुन आउँछ । यसरी शास्त्रीय विधिलाई समयसापेक्ष सहीरूपले हेरिएन भने मानवको हितभन्दा अहित हुने सम्भावना अधिक हुन जान्छ र शास्त्रप्रतिको गरिमामा नै आघात पुग्न थाल्दछ ।

भरतपुर–१२, चितवन

प्रतिक्रिया दिनुहोस