विश्वमा चिनिएका पाँच नेपाली : जसले नेपालको गौरव बढाए

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०७५, १५ : १६
विश्वमा चिनिएका पाँच नेपाली : जसले नेपालको गौरव बढाए

काठमाडौँ । केही नेपालीको एकल प्रयासबाट सुृरु भएका कामले विश्वभरी चर्चा पाएका छन । सामाजिक क्षेत्रमा उच्च योगदान दिएकै कारण उनीहरुलाई दुनियाले मन पराएका छन् । तल हामीले यस्ता पाँच व्यक्तिहरुको बारेमा चर्चा गरेका छौं । 

अनुराधा कोइराला
अनुराधा कोइरालालाई नेपालको मदर टेरेसाको नामले पनि चिनिन्छ । प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अनुराधा बालअधिकार तथा महिला अधिकारको क्षेत्रमा सक्रिय नाम हो । विशेष गरेर अनुराधा चेलिबेटी तथा बालबालिका बेचबिखन रोक्ने काममा सक्रिय छिन । उनले कयौं बेचिएका चेलीहरुको पनि उद्धार गरेकी छिन ।  उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन । खासगरी भारतीय कोठीहरूमा बेचिएर नरकीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुर्नस्थापनामा उनको संस्था क्रियाशील छ । 
कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमा सन २०१० मा आयोजित कार्यक्रममा सीएनएन हिरो उपाधी जितेकी छिन । त्यस्तै, भारतको सुप्रसिद्ध पद्यश्री अवार्ड प्रदान दिएको थियो । 


सन १९४९ मा ओखलढुङ्गाको रुम्जाटारमा जन्मिएकी अनुराधाले १० कक्षासम्मको पढाइ भारतको कालिम्पोङमा गरेकी थिइन । उनले भारतकै कोलकाताबाट बीए पास गरेकी हुन । १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि प्रयास नेपाल नामको गैरसरकारी संस्था चलाउँदै आएका छन् । 

डा. सन्दुक रुइत  
सन्दुक रुइत सन २००६ मा रोमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली हुन । आँखाका डाक्टर रुइतले बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धती  रुईतेक्टोमीको सुरु गरेका थिए । उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् ।  
उनले नेपालीलाई मात्रै होइन विश्वका करिव ५० राष्ट्रका नागरिकहरुको उपचारमा उनी लागिपरेका छन । उनै सन्दुकलाई गत वर्ष भारत सरकारले पद्यश्री अवार्ड प्रदान गरेको हो । उनै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुकलाई पद्यश्री सम्मान दिनकालागि भारतीय राजदूत मञ्जिभ पुरीले राति ११ बजे फोन गरेका थिए ।


डा. रुइत ताप्लेजुङको ओलाङचुङगोलामा हुर्किए । उनका बुबा नेपाल  तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्थे । डाक्टर बन्ने सपना पूरा गर्न उनी १५ दिन हिँडेर दार्जिलिङ पुगे । तर, चीन भारतबीचको सीमा युद्धले दार्जिलिङका स्कूल बन्द भए । त्यसपछि उनलाई बुबाले काठमाडौँको सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिए । सन १९७० मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास भए । त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे । एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तीन वर्ष बिताए । फेरि भारत गए र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले । तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे भए । त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए । अस्ट्रेलिया बसेकै वेला उनलाई अमेरिका, युरोप, अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो । उनले ती प्रस्तावलाई हेरेनन र नेपालमै आए । उनले एउटा आँखा अस्पतालको सपना देखेका थिए, जसलाई अस्ट्रेलियाका डा. हलोजले साथ दिए । साथै अन्य व्यक्तिहरुको सहयोगमा १९९४ मा तिलगंगा आँखा केन्द्रमा मानव संसाधन तालीम केन्द्र निर्माण गरे । 

महाविर पुन
म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मीएर भेडाबाख्रा गोठाले बनेर आफ्नो बाल्यकाल बिताएका महाविर पुन वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व हुन ।
आफ्नो उच्च माध्यमिक शिक्षा सकेपछि पुनले १२ वर्ष शिक्षण पेशा गरे । सन १९८९ मा पुनले नेब्रास्का विश्वविध्यालयबाट बिज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । स्नातकोत्तर सकाएर २४ वर्षपछि आफ्नो गाउँ नांगी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरे । त्यसपछि उनले कम्प्युटर शिक्षा र आयश्रोत वृद्धिलाई ध्यानमा राखेर आफ्नो कार्यक्रम अगाडि बढाउँदै लगे ।


यसरी देशकै विकासमा लागिपरेका पुनले सन २००७ मा एशियाको नोबेल पुरस्कार भनिने रमन म्याग्सेसे पुरस्कार पाएका छन् । उनै पुनले २०१२ मा सूचना तथा प्रबिधीमार्फत विश्वभरका सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे । सरकारी तवरबाट हुनुपर्ने यस्तो विसाल योजनालाई मुर्तरुप दिन उनले जनस्तरबाट आर्थिक संकलन गरिरहेका छन् ।

उत्तम सञ्जेल
शिक्षा क्षेत्रमा रहेको एउटा नमुना बिद्यालयको नाम हो समता शिक्षा निकेतन । यस स्कुलको बारेमा थाहा नपाउने कमै होलान । समतामा भर्ना शुल्क १ सय ५० रुपैयाँ त्यो पनि एक पटक मात्रै गरे पुग्ने तथा मासिक शुल्क १ सय रुपैयाँ तिरे गुणस्तरीय शिक्षा लिन सकिन्छ । यिनै समताका संस्थापक हुन उत्तम सञ्जेल । उनै सञ्जेल गरिव विद्यार्थीका सारथी भनेर समेत चिनिन्छ ।
काठमाडौंको गोठटारमा ४४ वर्ष अघि जन्मिएका सञ्जेल विद्यालय पढ्दै गर्दा साथीहरु जम्मा गरेर नाटक निर्देशन गर्दथे । कलाकारिता क्षेत्रमा सक्रिय सञ्जेलले कुनै समय मुम्बई पनि पुगेका थिए । तर, टिक्न सकेनन । मुम्बईमा रहँदा उनले प्रत्येक मान्छेले अंग्रेजी बोलेको सुनेपछि सन्जेलको जीवनको यू र्टन गर्न सघायो । त्यसपछि उनी नेपाल फर्केर समता खोलेका हुन । एक सय रुपैयाँमा सबैको सहभागिता होस भनेर खोलेको समताको सुरुमै भर्ना हुनेको संख्या ८ सय ७५ जना भए । 


सञ्जेलले नेपालका ७७ जिल्लासहित मित्र राष्ट्र भारत, श्रीलंका, बंगालदेशका करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका छन । 
त्यस्तै सञ्जेलले बौद्ध कुमारीगलमा समता अस्पताल पनि चलाएका छन । यहाँ पनि उपचार गर्न आउनेले सय रुपैयाँ शल्क तिरे पुग्छ । शिक्षा सबैको पँहुचमा ल्याउन समताले भूमिका खेलेजस्तै स्वास्थ्य पनि सबैको पहुँचमा ल्याउन सञ्जेलले समता अस्पलत खोलेका हुन् ।

कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाली जनताहरुलाई निकै ठूलो गुन लगाएका छन । प्राधिकरण सम्हालेको केही महिनामा नै उनले लोडसेडिङको चरम मार हटाइदिए । उनकै भाषामा भन्ने हो भने उपलब्ध बिजुलीको सही व्यवस्थापनको कारण लोडसेडिङ हट्यो । हो नेपालीहरुले दैनिक १८ घण्टासम्म लोडसेडिङको मार भोगेका थिए । रामेछापको दुर्गम गाउँ बेथानमा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै बित्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे ।

अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन १९९४ मा इलेक्ट्रीकल इन्जिनियरिङ् गरे । पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्टसमा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन् ।
११ औं तहका कर्मचारी रहेका घिसिङ सन २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए । नियुक्त भएको दोस्रो महिना अर्थात अक्टोबर ३० (२०७३ कात्तिक १४ गते लक्ष्मी पूजा) मा काठमाडौंबाट लोडसेडिङ्ग मुक्त गर्ने कार्य परीक्षणको रुपमा शुरु गरे । सो परीक्षण सफल भएको आधारमा २०७३ चैत्र १ देखि देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।  

 

 

प्रतिक्रिया दिनुहोस