फोटो फिचर

मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटो फिचर)

सूर्यप्रकाश कँडेल

विहीबार, ०७ चैत्र २०७५, १८ : २७
मनमोहक देखियो कुहिरोभित्र केबुलकार (फोटो फिचर)

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा बेस स्टेसन र गोरखाको मनकामना गाउँपालिकामा अपर स्टेसन रहेको मनकामना केबुलकारमा चढेर मनकामना मन्दिर पुग्ने, पूजा गर्ने र फर्कनेहरुको भिड सधैं हुन्छ । बिहीबार फागुपूर्णिमा परेकोले यो भिड अलि ठूलै थियो । बिहानैदेखि बच्चादेखि वृद्धासम्म, स्वदेशीदेखि विदेशीसम्म केबुलकार चढ्न लाइनमा बसेर पालो कुरिरहेका थिए ।

एउटा डब्बा (गोण्डोला) मा ६ जनाका दरले यात्रु झटपट चढिरहेका थिए । उनीहरुलाई लिएर लठ्ठामा झुण्डिएका गोण्डोला जतिजति माथि  पुग्थे, उतिउति गोण्डोलाभित्र रहेका भक्तजन रोमाञ्चित बनिरहेका थिए । उनीहरुलाई थप रोमाञ्चित बनायो बिहीबार बिहानको वातावरणले । तीन किलोमिटर लामो नौ मिनेटको केबुलकार यात्रामा दुई किलोमिटर जति दुरी पार भएपछि अनौठो दृश्य देखियो । एकछिनका लागि केबुलकार कुहिरोभित्र हराए । बुधबार राति कुरिनटारमा पानी परेकोले बिहीबार कुहिरो देखा परेको थियो ।

हेलीकप्टर वा हवाइजहाज भएको भए यसरी कुहिरोभित्र हराउँदा दुर्घटनाको सम्भावना रहन्थ्यो, तर केबुलकारको यात्रालाई यस्तो कुहिरोले केही लछारपाटो लगाउन सक्दैन । लठ्ठामा स्थिर गरिएका गोण्डोला लठ्ठाको गतिसँगै माथि जाने र तल आउने भएकोले केबुलकारको यात्रामा तलमाथि हुने सम्भावना नै रहँदैन । त्यसैले त बिहीबार बिहान केबुलकारमा यात्रा गर्नेहरुले कुहिरोभित्र केबुलकारलाई देख्न पाउँदा भने, दामी देखियो कुहिरोभित्र केबुलकार ।

चितवनको कुरिनटारबाट दस मिनेटमा गोरखाको मनकामना मन्दिरसम्म पुग्ने गरी २०५५ सालमा स्थापना भएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो । गतवर्षदेखि काठमाडौंको चन्द्रागिरीमा अर्को केबुलकार सञ्चालनमा आएको छ । कास्कीको सराङकोट र ताप्लेजुङको पाथीभरामा पनि केबुलकार थपिँदै छन् ।

प्रतिक्रिया दिनुहोस