नारी दिवसको सान्दर्भिकता

शुक्रबार, २४ फागुन २०७५, ०८ : ४०
नारी दिवसको सान्दर्भिकता

– नरनाथ पाण्डे
अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिख तदनुरुप फागुन २४ गते यस पटक पनि विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदै छ । संसारमा नारीवादी आन्दोलनको शुरुवात भएको दिनलाई अर्थात् मार्च ८ तारिखलाई नारी दिवस भनेर मनाउने प्रचलन छ । संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९ औं शताब्दीदेखि मात्र शुरु भएको हो । उतिबेलादेखि नै मनाउन थालिएको नारी दिवसको प्रगति के कस्तो छ, संसारभरमा नारी दिवस किन मनाउने, नारी दिवस भन्ने बित्तिकै पुरुष दिवस किन नमनाएको वा नारीले किन दिवस नै मनाएर सम्झना गर्नु परेको हो भन्ने जस्ता अनुत्तरित प्रश्नहरुको उत्तर नारी दिवसमा एक दिनमात्र नभएर अन्य दिनहरुमा पनि खोज्नु पर्छ । यसमा नारीवादीहरु बढी अग्रसर हुनुपर्छ जस्तो लाग्छ । नारीवाद के हो, नारीप्रतिको दृष्टिकोण संसारमा के कस्तो छ, पुरुषप्रधान साम्राज्य नै किन ? जस्ता चर्चाहरु नारी दिवसको पूर्वसन्ध्यामा यस आलेखमा सन्दर्भ उठाउने जमर्को गरिएको छ ।

नारीवाद के हो ?
अंग्रेजी शब्द Feminism (फेमिनिज्म्) को नेपाली रुपान्तरण नारीवाद भन्ने हुन्छ । समाजमा चिरकालदेखि प्रचलन रहेको लिंगकेन्द्रित पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र व्याख्याप्रति प्रश्नचिन्ह खडा गर्दै पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परागत मूल्य र विरोधको स्वरुपलाई नारीवाद भनिन्छ । यसरी नारीको हक, हित र समानताको पक्षधर मतलाई नारीवाद भनिन्छ ।
पाश्चात्य मुलुकमा नारीमुक्तिको संघर्ष लामै समयदेखि चल्दै आएको भएतापनि नारीवादी आन्दोलन र नारीवादी सिर्जनाको प्रयास सन् १९६० देखि भएको पाइन्छ । पाश्चात्य प्रसिद्ध दार्शनिक एरिस्टोटलले केही गुणको कमीका कारण नारी भएको हो भन्दै नारीको कमजोरी समेत औंल्याएका छन् । सेन्ट् टमस एक्विनसले पनि नारीलाई अपूर्ण मानिस भनी नारीको खोट देखाएका छन् । फ्रायडले समेत नारीमा पाइने इष्र्या, सोच र शारीरिक बनोटगत अपूर्णताको परिणाम नारी हो भनेका छन् । यसरी संसारमा सबै दार्शनिक, चिन्तक, नेता, वैज्ञानिक, साहित्यकार सबै पुरुष भएका कारण नारीलाई अपमान गर्दै आएको कुरा नारीवादीहरुको आरोप छ । नारीवादीहरु नारीलाई प्रकृतिले ठगेको होइन कि सामाजिक व्यवस्थाले हीन तुल्याएको भनी आरोप लगाउँछन् ।

नारीमुक्ति आन्दोलनको इतिहास
पश्चिमी मुलुकहरुमा नारीमुक्ति आन्दोलनको शुरुवात अठारौं शताब्दीमा नै भएको पाइन्छ । सन् १७९२ मा सर्वप्रथम मेरी उलस्टोनक्य्राफ्ट्, सन् १८६९ मा मार्गरेट फुलर, सन् १९२० मा रिबेका बेस्ट् तथा भर्जिनिया उल्फ, सन् १९४९ मा साइमन ड बुभा महिला साहित्यकारहरुको योगदानबाट सशक्त बनेको पाइन्छ । खासगरी सन् १९७० पछि नारीवादी दृष्टिकोणलाई प्रख्यात महिला साहित्यकारहरुले साहित्यका माध्यमले फरक मोडमा पु¥याएको पाइन्छ । नारीवादी सोचको विकास निम्न तीन चरणहरुमा भएको पाइन्छ ।

१. नारीजातीय चरण : यो सन् १८४० देखि १८८० को अवधिको चरण हो । यस चरणमा पितृसत्तात्मकताको विरोध नगरी भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण गर्दै घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरिएको पाइन्छ ।
२.नारीवादी चरण : सन् १८८० देखि १९२० सम्मको यस चरणमा नारीहरुले पितृसत्तात्मकताको विरोध गरी भाले मूल्यमान्यताको उपेक्षा गरिएको पाइन्छ ।

३. नारी चरण : सन् १९२० देखि हालसम्मको यस चरणमा नारीहरुले स्वायत्त नारी परिप्रेच्छको जोडदार वकालत गरेका छन् । आफ्नो पहिचानको खोजी गरेका छन् । साथै पितृसत्तात्मक सोचका कमीकमजोरीको पर्दाफास गरी अन्तमा परिवर्तन गर्ने उद्देश्य यस चरणमा राखेको पाइन्छ ।

नारी आन्दोलन किन ?
आज संसारमा अझै पनि नारीहरुलाई हेर्ने दृष्टिकोणमा खासै सुधार भएको पाईंदैन । संसारका विकसित देशहरुमा समेत नारीहरु दोस्रो दर्जाकै रुपमा रहेका छन् । अर्कोतिर नारीहरुले पनि आफूलाई अब्बल, सक्षम र पुरुषभन्दा के कम भनी प्रतिस्पर्धी बनाउन नसकिएको नै देखिन्छ । संसारका खासगरी मुस्लिम देशहरुमा अझै पनि नारीहरुलाई गरिने व्यवहार, राजनितिक हक, अधिकारको बाँडफाँड जस्ता कुराहरुमा विभेद नै गरेको पाइन्छ । महिलाले चुनावमा भोटसम्म हाल्ने अधिकारको लागि लडाईं लड्नु परिरहेको छ । आफू चुनावमा प्रतिस्पर्धी भएर राज्य संचालनमा सहभागी हुने त कहिले हो कहिले ? यतिसम्म कि नारीहरुले सवारी साधन चलाउने लाइसेन्स समेत नपाइरहेको अवस्थामा भर्खरै साउदी अरबमा त्यो अधिकार दिइएको छ । सिनेमा हेर्ने, खेलकुदहरु हेर्ने, स्वतन्त्र घुमफिर गर्ने कुराहरु प्राप्त गर्न पनि आन्दोलन नै गर्नुपर्ने अवस्था छ । 

महिलाहरुप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाहरु यसरी नै पीडित भइरहनु पर्ने अवस्था एकातर्फ छ । यस्ताखाले दमन, अतिक्रमण र प्रभुवादी सोचलाई परास्त गरी समान हक, अधिकार प्राप्त गरी नारी पनि पुरुषजत्तिकै बराबरी हुन् भन्ने कुरा सामाजिक, सांस्कृतिक, राजनितीक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याईं गरी समान हक र समान पहुँचका लागि नारी आन्दोलन अझै अपरिहार्य देखिन्छ ।

नेपालमा नारीहरुको अवस्था
नेपालको सन्दर्भमा महिला हक, अधिकार र स्वतन्त्रताका कुराहरु प्राप्त गर्न पनि महिलालाई निकै आन्दोलन गर्नु परेको इतिहास छ । महिलालाई दोस्रो दर्जाको नागरिक मानी घरको चुलोचौकोमा, बच्चाको स्याहारसुसारमा, अनुत्पादनशील कार्यमा, परिवारको सेवा सुषुश्रामा मात्र सिमित राख्ने अवस्थाबाट बिस्तारै मुक्ति पाउन थालेको संकेत देखा पर्दैछ । यी लगायत महिला भएको कारण गर्भमै भु्रण नष्ट गर्ने, जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कार गर्ने, सानै उमेरमा बिहे गरिदिने, दाइजोका कारण मर्नु पर्ने, बंश परम्परा धान्न बच्चा जन्माउनु पर्ने, श्रीमान छउन्जेल श्रीमानको नियन्त्रणमा रही श्रीमान् मरेपछि छोराको नियन्त्रणमा रहनु पर्ने, प्रजनन् समस्याहरु बोकी बाँच्नु पर्ने र उचित उपचार नगर्ने, छाउपडी प्रथा मान्नु पर्ने, बुढेसकालमा बोक्सीको आरोप सहनु पर्ने जस्ता अनगिन्ती समस्याहरु नेपालमा पनि छन् । जुन कुराहरु कोट्याइरहँदा यहाँ स्थान अभाव होला तर यतिचाहिं भन्नै पर्ने हुन्छ कि नेपालमा महिलाहरुले अन्य देशको तुलनामा अलि बढी राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् । तर यहाँ भन्न खोजिएको कुरा यस्तो अधिकार त्यत्तिकै प्राप्त भएको होइन कि यसमा ठूलो लडाईं गरेर, आन्दोलन गरेर, अनसन बसेर, आत्मदाह गरेर ल्याइएका अधिकार हुन् । 

नेपालमाहालमहिलालाई हरेक निकायहरुमा आरक्षणको व्यवस्था, संविधानमा राजनितिकरुपमा ३३ प्रतिशतको अधिकार, दक्षिण एशियामै पहिलो पटक पूर्णरुपले प्रजनन् वा गर्भपतनको अधिकार जस्ता निकै महत्वपूर्ण प्रगति हासिल गर्न नेपाली नारीहरु सफल भएका छन् । ती अधिकार प्राप्त भएकै कारण आज नेपालको राज्यसत्तामा महिलाहरुको राम्रो उपस्थिति रहेको छ । नेपालमा राष्ट्रप्रमुखकै कुर्सी समेत भेट्टाउनु नेपाली महिलाहरुको कम उपलब्धि हो भन्न मिल्दैन । 

अन्तमा    
महिलाले जन्मनासाथ पुरुषजत्तिकै अधिकार पाएका हुन्छन् तर पुरुषप्रधान राज्य भएका कारण महिलालाई दोस्रो नागरिक ठानी विभेद शुरु हुन्छ । महिलाहरु स्वतः मारमा पर्छन् । निकै सहनशील, दयालु, मायालु र विवेकशील महिलाहरु आखिर पुरुषको षड्यन्त्रमा परिहाल्छन् । विभेदको शिकार हुन्छन् । प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रुपमा केही कमजोर अवश्य बनाएको छ । महिनैपिच्छे हुने शारीरिक समस्या, प्रजनन्को जिम्मा, स्तनपान गराउनु पर्ने बाध्यता जस्ता आदि कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सृजनशीलता आदि अब्बल नै हुने गर्दछ । 

शारीरिक संरचनागत समस्याको फाइदा उठाइ महिलालाई पुरुषले भेदभाव गर्नु र समान सहभागिता गराउन आनाकानी गर्नु केवल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोचको मात्र उपज हो । अतः महिलाहरु कुनै पनि कुरामा पुरुषभन्दा कमजोर नहुने भएपछि बराबरी हक, अधिकार र दायित्वको लागि किन पुरुषसँग लडिरहनु पर्ने ? पुरुषले ती अधिकार दिए प्राप्त गर्ने र नदिए संघर्ष गर्नु पर्ने अवस्था किन ल्याउने ? संसारमा जब महिला र पुरुषमात्र दुई जाति छन् भने विवेकको आधारमा कोही ठूलो र कोही सानो हुनु पर्दैन । यसो गरिए प्राकृतिक असन्तुलनसमेत हुन जान्छ । त्यसकारण महिला पुरुष दुवै बराबरी हुन्, लिंगकै आधारमा कोही पनि ठूलो र सानो हुने होइन, दुवैले समान हक र अधिकार पाउनु पर्छ भन्ने कुरामा सबैले हेक्का राख्नु आवश्यक छ । अझै महिलाले पूर्ण सशक्तिकरण र ५० प्रतिशत पुरुष सरह अधिकार नपाएसम्म आन्दोलनबाट विश्राम लिने अवस्था छैन । यस्तो सोचको विकासको लागि समेत नारी दिवस मनाउनु सान्दर्भिक छ । नारी दिवसको अवसरमा सबै नारीहरुलाई शुभकामना ।
(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन् ।)
 

प्रतिक्रिया दिनुहोस