आत्मकथन : कस्तो चलचित्र बनाउने ?

विहीबार, २३ फागुन २०७५, १६ : ३६
आत्मकथन : कस्तो चलचित्र बनाउने ?

– मनोज पण्डित
‘कस्तो झुर फिल्म बना रै'छ’ भनेर गेटपालेले प्रतिक्रिया जनाउँदा म गेटछेउमै थिएँ । आफ्नो फिल्मबारे त्यस्तो प्रतिक्रिया सुनेपछि गेटपालेसँग अत्यन्त रिस उठ्यो, आफैंभित्र एकदम पीडा भयो । त्यत्रो दुःख गरेर बनाएको फिल्ममाथि एउटा गेटपालेले एकैक्षणमा यति सजिलै प्रतिक्रिया दिँदा मूल्यांकनको कठोर कारागारमा आफ्नो स्तर बन्धक भएजस्तो लाग्यो । एउटा निर्देशकको परीक्षाको मूल्यांकन एउटा गेटपालेले गर्न सक्ने अघोर महाभारतको बिचरा भीष्म पितामहजस्तो पो बनिँदोरहेछ त निर्देशकको रूपमा आफ्नो अस्तित्व भनेर आफैँलाई घचघच्याउन पुगेँ ।

जबजब फिल्म निर्माणपछि रिलिजको संघारमा आइपुग्छ, तब मन डरले अतासिन्छ । अनि याद आउँछ, त्यही गेटपाले दाइ, जसले जीवनमा सयौँ फिल्म हप्तैपिच्छे हेरिसकेका छन्, जसका लागि फिल्म केवल पर्दा, प्रोजेक्टरबाट आउने किरणहरू, टिकट, मान्छेहरू र गेटसिवाय केही होइन । उनको मूल्यांकनको त्रास र हीनताबोधले दिनरात गाँजिरहन्छ । एउटा निर्देशक एउटा दर्शकसँग डराइरहेको हुन्छ । यदि दर्शकले मन पराइदिएन भने मेरो यत्रो मिहिनेत भन्ने प्रश्नले दिनरात मन छट्पटाइरहेको हुन्छ ।

कर्म गर्ने हो, परिणाम आफ्नो हातमा हुँदैन भन्ने सैद्धान्तिक ज्ञान हुँदाहुँदै पनि निर्देशकको आँखा दर्शकको प्रतिक्रियाको पर्खाइमा अल्झिरहेको हुन्छ । दर्शकको डर मस्तिष्कमा बोकेर दौडिरहने यो निर्देशक–चेतनामा दर्शक को हुन्, दर्शक के चाहन्छन्, के गर्दा दर्शक खुसी हुन्छन् भन्ने दर्शककेन्द्रित मानसिकताबाट निर्देशित भइरहँदा कठपुतली हुनुको पीडाले पोलिरहन्छ । त्यही पीडाभित्र स्वीकार्यता र अस्वीकार्यताको दोसाँधमा पेन्डुलम भएर तड्पिइरहँदा निर्देशक आफ्नो मानसिकताको उतारचढावमा अत्यन्त उद्वेलित भइरहन्छ, जसले गर्दा अनेकौैँ अनिन्त्रित भाव पैदा हुन्छ ।

त्यसबाट स्वतन्त्र, सन्तुलित र व्यवस्थित भएर बाँच्ने कोसिस गर्नु अत्यन्त कठिन संघर्ष बन्छ । ताली–गाली, सफलता–असफलता, उत्कृष्ट–निकृष्टको तराजुमा जोखिरहँदा निर्देशकको आत्ममूल्यांकनमा अनेकौँ अस्थिरता मडारिइरहन्छन् । यसले गर्दा नियत नियतिको भासमा भासिँदै जाने र त्यसबाट निस्सासिएर उक्सिन खोज्दैमा जीवन बित्ने हुँदा अनिश्चितताको शृंखलाबद्ध अल्पविरामहरूले निर्दशकलाई लखेटिरहन्छ । त्यही लखेटाइमा नै प्रश्नहरूको लुपहोलहरूले औंला ठड्याएर कैदको काँडेतार बिछ्याइरहन्छ ।

अनि त्यही कैदको निस्सासिँदो आकाशमा ऐना हेर्र्दै आत्मप्रश्नहरूको अनेकौँ अनुहारले गिज्याइरहेको पीडा पनि भोग्नुपर्ने हुन्छ । प्रश्नहरूको बहुबलीले निर्देशकलाई घिच्याउँदै स्थापित अवधारणाको सिक्रीभित्र बन्धक बनाउन खोज्छ । यस अवस्थामा कमजोर भइदिँदा निर्देशक दासत्वको दरबारभित्र सिर्जनाको अहंकारमा भ्रमको खेती गर्न पुग्छ र मिराजमा पानी खोजी भड्किरहेको बटुवा बन्न पुग्छ । त्यही क्रममा सहजताको संरचनाभित्र फोटोकपी बन्नुको आत्मसमर्पण पनि थपिन पुग्छ । आधारभूत धरातल खोजी गर्दै निर्देशकको जीवन सिर्जनात्मक दासत्वमै बित्छ । चलचित्रसँग स्वतन्त्रताको सारथी बन्ने अवस्थाको पर्खाइबीच अरूका सिर्जना हेर्नु र बखान गर्न शब्दहरूको खोजीमा प्रायः समय शब्दकोश पल्टाइरहेको अवस्थामा भेटिन्छन् निर्देशक ।

अर्कोतर्फ उपभोक्तावादको दबाब र सिकार हुनु, त्योसँग संघर्ष गर्न, आफ्नो हितका लागि परिस्थिति तयार पार्नु आदिको उल्झनले निर्देशकको मनोविज्ञानमा बारम्बार विरोधाभास स्थापित गर्छ । बजार, निर्माता, कलाकार, विज्ञापन आदिको निर्भरताको बोझबीच हरसमय निर्देशक कृतज्ञ हुनुपर्ने अवस्था पाइलैपिच्छे, खण्डैखण्डमा, विभिन्न आकार र स्वरूपमा स्विकार्दै जाँदा सिर्जनाको एक त्यस्तो अवस्था आइपुग्छ, जहाँ निर्देशक आफ्नै सिर्जनाको आनन्द लिन सक्दैन । त्यसकारण उसको अस्तित्व सधैँ संकटमा घिस्रिरहेको हुन्छ ।

सत्ताको सम्पूर्ण चरित्र अंगीकृत गरेर पात्रको भाग्य निर्माण गर्ने काल्पनिक शक्तिको आत्मबोध एकातिर गर्दै यथार्थ धरातलको टग अफ वारमा पर्दाका अनेकौँ नायकबाट पछारिरहँदाको कुण्ठा बोकेर आफ्नै अस्तित्वमाथि प्रश्न तेस्र्याइरहँदा निर्देशक एक बबुरो बालकजस्तो ठहरिन पुग्छ, जो आमाको स्वीकारोक्ति कुरेर बसिरहेको छ । यसैबाट टाढा भाग्न सिनेमालाई अस्तित्व निर्माणको साधन बनाउने चेष्टा गर्दा सिनेमा फगत साधनमै सीमित भइदिन्छ र जीवनदेखि कोसौँ टाढा पानीविनाको माछाजस्तै छट्पटाइरहन्छ । त्यो छट्पटाहट हेर्न नसकेर निर्देशक आँखामा कालोपट्टी बाँध्ने धृष्टता गर्नतर्फ अग्रसर हुन्छ ।

त्यस्तै अर्को ध्रुवमा समाजको शक्ति संरचना कैँची लिएर काँटछाँटका लागि औँला ठड्याएर बसिरहेको हुन्छ । कला सशक्त त्यो अवस्थामा हुन्छ, जब यसले मानिसका बन्धनबाट मुक्तिको आभास दिलाउँछ । मुक्ति शक्तिका लागि बाधक हुन्छ, त्यसकारण कला शक्तिको विपक्षमा हुन्छ । यही द्वन्द्वमा अल्झिनुपर्ने बाध्यताले पनि निर्देशकको कलात्मक चरित्रमाथि निर्मम प्रहार भइरहन्छ । त्यस्तै कलालाई ईश्वरीय खुड्किलो ठान्ने जमात पनि देवत्वकरणको निर्मम वधशालाभित्र निर्देशकको मानवीयतालाई घाँटी रेटिरहेको हुन्छ, जसको कारण ऊ सधैँ अतिरञ्जनाको कठोर परीक्षामा उत्तीर्ण हुनुपर्ने बाध्यता बोकेर तड्पिइरहेको हुन्छ । काल्पनिकताको उडानमा उड्नु र यथार्थको धरातलमा हिँड्नुपर्ने विरोधाभासी अवस्थाबीच निर्देशक सधैँ यथार्थको खोजमा भड्किरहेको हुन्छ ।

फ्रेमभित्रको यथार्थ र फ्रेमबाहिरको यथार्थको निरन्तर द्वन्द्वमा निर्देशक सधैं घाइते बनिरहन्छ । चलचित्र मानवीय विकृति, कुण्ठा, रुग्णता, नग्नताको जगमा टेक्नुपर्ने हुँदा उसको साक्षात्कार बारम्बार जीवनको हिंसा, बन्धकी र बेथितिसँग भइरहन्छ र यसैलाई आत्मबोध गर्नुपर्ने बाध्यताबीच कहिलेकाहीँ त्यहीँभित्रै हराउनुपर्ने परिणाम पनि बन्छ । यसले उसको जिन्दगी तहसनहस बनाउन सक्ने सम्भावना स्थापित गर्छ । नितान्त मनोवैज्ञानिक, सैद्धान्तिक, आत्मकेन्द्रित द्वन्द्वहरूबीच युद्ध लडिरहनुपर्दा निर्देशकले स–साना कमजोरीमा पनि ठूलै परिणाममा बेथिति भोग्नुपर्ने अवस्था बन्छ ।

सैद्धान्तिक तहमा मात्र होइन, निर्देशकलाई व्यावहारिक तहमै अनेकौँ प्रक्रिया प्रणालीहरूमा चुनौती भोग्नुपर्ने अवस्था बन्छ । अनेकौँ तहतप्का र तरिकाबीच बाँधिने प्रक्रिया–प्रणाली नितान्त प्रश्नहरूको संगालोभित्र गुटमुटिइरहन्छ । कसका लागि चलचित्र बनाउने ? आफ्नो सन्तुष्टिका लागि ? भिडका लागि ? दुवैका लागि ? यी यस्तै प्रश्नले निर्देशकलाई घेर्दै एउटा चुनौतीपूर्ण परिस्थितिमा पुर्‍याउँछ । धेरैजसो अवस्थामा आफ्नै छनोटको पृष्ठभूमि आफैँलाई थाहा हुँदैन । त्यति मात्र होइन, छनोटको केन्द्र नै अस्पष्ट हुन्छ । जसका कारण परिधि सम्बन्धहरू, भाव आदि सबै अस्पष्ट बन्छन् । त्यसपछि उक्त केन्द्रीय सोचको विस्तार आफैँमा चुनौती बन्छ । थुप्रै स्वार्थहरूले केन्द्रीय सोचको विस्तार र विकासमाथि हमला गरिरहँदा त्यसको स्वाभाविकतामाथि नै हस्तक्षेप भइरहेको हुन्छ । यही अवस्था हो, जहाँ साहसको खाँचो पर्छ । 

जीवनका विकृत र विसंगतिलाई डोर्‍याएर आफूसँग हिँडाउन पहाडझैं साहस चाहिन्छ । तर, यही कमजोर भइदिँदा निर्देशक आफैँमा कालरात्रिको बोकाजस्तै भइदिन्छ । तसर्थ निष्कर्ष निर्माण र स्थापित गर्नमा अत्यन्त फितलो हुनुपर्ने अवस्था बन्छ । अर्थात् अभिव्यक्ति र अभिव्यक्तबीच दूरी निर्माण हुन्छ । निर्देशक यहाँ रूपान्तरण हुनुपर्ने अवस्था हो, तर अनेकन पर्खालहरू ठडिँदा र त्यसलाई पार गर्न नसक्दा यो समानान्तर प्रक्रिया आफैँमा अवरुद्ध हुन्छ । अभिव्यक्तिका साधन, स्रोत र सम्बन्धहरूको संयोजनहरूको चुनौतीका सागरमा पौडिनुपर्दा प्रविधि र प्राविधिकको असन्तुलन डुंगामा तैरिनुको पीडा खेप्न बाध्य हुनुपर्ने अवस्था निर्देशकलाई बन्छ ।

व्यवस्थापन आधारशीला भए पनि व्यवस्थापकीय संस्कारलाई अंगीकार गर्न नसक्नुको परिणामका असंख्य घाउ बोकेर आफ्नो उपलब्धिको हिसाब–किताबमा क्यालकुलेटर चलाउँदा पानीका फोकाबाहेक अरू केही हात नपर्ने नैराश्य भोग्न निर्देशक तयार हुनुपर्ने अवस्था बन्छ । यथार्थ, कल्पना, सिर्जना, जीवन, कथा, दृश्य, पर्दा मिक्सिङ, दर्शक, प्रतिक्रिया आदिमै जीवन सकिँदो रहेछ, यो एक्सन–कट निर्देशक जीवन ।

प्रतिक्रिया दिनुहोस