संकटमा नेपाल उद्योग वाणिज्य महासंघको साख

संकटमा नेपाल उद्योग वाणिज्य महासंघको साख: चण्डीराज ढकालको डिजाइनमा व्यवसायीको आन्दोलन

सफल खबर संवाददाता

मंगलबार, २१ फागुन २०७५, १२ : ३५
संकटमा नेपाल उद्योग वाणिज्य महासंघको साख: चण्डीराज ढकालको डिजाइनमा व्यवसायीको आन्दोलन

काठमाडौँ । २०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गरेको थियो । त्यसबेला महासंघको अध्यक्ष थिए चण्डीराज ढकाल । महासंघका पूर्वअध्यक्ष ढकालकै कारण पछिल्लो दिनमा उद्योगी, व्यवसायी र नेपाल राष्ट्र बैंक आमनेसामने भएका छन् । 

त्यतिबेला अर्थात् २०६३ सालमा देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे । ठूला र चर्का नारा पनि लगाए । कारण बाहिर देखाइएको थियो, सरकारका कारण काम गर्न सकिएन, उद्योग व्यवसाय चौपट भयो । तर भित्री कारण भने अर्कै थियो, ऋण नतिर्ने ठूला ऋणीलाई राष्ट्र बैंकले गर्न थालेको कारबाही । महासंघका तत्कालीन अध्यक्ष ढकाल आफंै बैंकको ऋण नतिर्ने डिफल्टरमा थिए । उनलाई कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने तयारी गरिएको थियो । सोही निर्णय रोक्नका लागि उनले देशभरका उद्योग प्रतिष्ठान बन्द गराएका थिए ।

यतिबेला व्याजदर वृद्धिको विषयलाई लिएर उद्योगी, व्यवसायी आन्दोलनमा उत्रिए । आन्दोलन व्याजदर वृद्धिलाई लिएर गरिएको भनिएपनि बैंकबाट ऋण लिएर नतिर्ने बैंक डिफल्टरहरुको योजनामा गरिएको पाइएको छ । बैंकको ऋण लिने र तिर्न अटेर गर्ने प्रवृत्तिका मान्छेहरु पछिल्लो पटक महासंघमा हाबी भएका छन् । त्यसैको परिणामस्वरुप आन्दोलन गरिएको र आन्दोलनमा केही राजनीतिक कलेवर समेत लगाइएको  छ ।

२०६४ सालमा महासंघको नयाँ नेतृत्व चयन हुनुपर्ने थियो । महासंघको विगतको परम्परा अनुसार अध्यक्ष बन्ने पालो थियो दिवाकर गोल्छाको । त्यतिबेला विधान अनुसार प्रथम उपाध्यक्ष अध्यक्ष बन्ने चलन थियो । ढकालले महासंघको अध्यक्षमा पुनः आफू नै दोहोरिन खोजे । तर हुनेवाला त्यस्तो थिएन । अध्यक्षको प्रतिस्पर्धाबाट दिवाकर गोल्छा बाहिरिएपछि द्वितीय उपाध्यक्ष रहेका कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । जोशीले ढकाललाई हराइदिए । ढकाल अध्यक्षमा दोहोरिन चाहनुको कारण थियो बैंकको ऋण नतिर्नु । त्यतिबेला ढकाललाई राजस्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । त्यो अनुसन्धानलाई निस्तेज पार्न ढकाल फेरि महासंघको अध्यक्ष बन्न चाहेका थिए । 

कुनैबेला सबैभन्दा बढी तयारी पोशाकको निर्यात गर्ने ढकाल व्यावसायिक रुपमा सफल व्यक्ति भने होइनन् । ‘उनी केवल टापटिपे व्यापारी हुन् । उनको आफ्नो भन्ने देखाउने कुनै व्यवसाय छैन । उनलाई झोले व्यापारी भने पनि हुन्छ’ ढकालनिकट एक व्यापारीले भने । उनका आफन्तहरु पदमा नभएको भए ढकाल बैकिङ कसुरको आरोपमा जेल समेत परिसकेका हुने थिए । 
२०६३ सालमा महासंघ र बैंकबीच ब्याजदरको विवाद बढेको थियो । माओवादी द्वन्द्वको कारण कतिपय व्यवसायहरु धरासायी भएका थिए । ठूला व्यवसायीका कारण सरकारी बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रम नै संचालन गर्नु परेको थियो भने निजी क्षेत्रका बैंकको अवस्था समेत राम्रो थिएन । जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको साख गिराइरहेको छ ।

१२ वर्षपछि अहिले पुनः उद्योग वाणिज्य महासंघ र बैंकरबीचको विवाद बढेको छ । यसको सुरुवात विराटनगरबाट भए पनि यसमा पर्दा पछाडिका खेलाडी हुन् उनै ‘झोले व्यापारी’ ढकाल । मोरङ व्यापार संघ र उद्योग संघले बैंकले कर्जाको ब्याजदर बढाएको भन्दै गरेको आन्दोलन सडकहुँदै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्यो । व्यवसायीहरुले खुल्ला बजार अर्थतन्त्र विपरीत सरकारले नै निक्षेप र कर्जाको ब्याजदर तोक्नु पर्ने माग राखे । रुपमा हेर्दा माग जायज जस्तो देखिन्छ, तर सारमा कारण भने बैंक डुबाउने गिरोहको राम्रो नाटक मञ्चन । अहिले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक रुपमा ब्याजदर लिएको कुरा कुनै दुईमत छैन । निक्षेपको ब्याजदर बढ्यो भन्दै एसएमएस गरेर कर्जाको ब्याजदर बढाउने बैंकहरुले घट्दा भने घटाउन खोज्दैनन् । अनावश्यक रुपमा ऋणीसँग लिने सेवा शुल्कले थप आर्थिक भार ऋणीलाई पर्ने गरेको छ । महासंघमा यसपटक ब्याजदर आन्दोलनको पछाडि महासंघको भित्रिया राजनीतिले काम गरेको छ । 

२०६४ सालमा अध्यक्षमा दोहरिन खोज्दा असफल भएका चण्डीराज ढकाल महासंघको नेतृत्व आफ्नो तरिकाले चलाउन चाहन्छन् । २०६४ सालमा चुनाव हारेपछि व्यावसायिक रुपमा ढकालका दुःखका दिन सुरु भए । बैंकले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्यो । धितो राखेको घर लिलाम भयो । २०६४ सालको निर्वाचनमा आफु हारे पनि पदाधिकारीमा चण्डीकै टिमले जितेको थियो । महासंघको संरचनामा भएको भोट भारको आधारमा जिल्ला नगरसँग ५० प्रतिशत मतभार रहेको बताइन्छ । यही फ्याक्टर नै उनको राजनीतिक रुपमा बार्गेनिङ गर्ने थलो बन्दै आएको छ । 

आफ्नो व्यवसाय बैंकका कारण धरासायी भएको भन्ने बुझाई रहेका चण्डीले यसपटक बैंक र महासंघभित्र आफू शक्तिशाली बन्ने कदमको रुपमा बिराटनगरबाट आन्दोलन गर्न उक्साए । महासंघले यसमा नैतिक समर्थन पनि थियो । ब्याजदर नै सरकारले तोक्ने विषय आएपछि पछिल्लो समय धेरै मुद्दामा एकैठाउँमा रहेको उद्योग परिसंघ त्यसमा पछाडि हट्यो । नेउवा महासंघ अध्यक्ष भवानी राणाले सरकारले ब्याजदर तोक्ने विषय महासंघको आधिकारिक धारणा नभएको बताएकी छिन् ।

२०६४ सालमा चुनाव हारे पनि महासंघको राजनीतिमा ढकाल हाबी छन् । ढकालले त्यसपछि जसलाई समर्थन गरे, उसले चुनाव जितेको रेकर्ड छ । २०६७ सालको निर्वाचनमा ढकालले सुरज वैद्यले समर्थन गरे, जिताउन हिँडे । तत्कालीन अध्यक्ष कुशकुमार जोशीले समर्थन गरेका आजाद श्रेष्ठले निर्वाचन हारे । त्यसपछि ढकालले प्रदिपजंग पाण्डेलाई समर्थन गरे । तत्कालीन अध्यक्ष वैद्यले समर्थन गरेका भाष्करराज राजकर्णिकारले चुनाव हारे । पाण्डेले चुनाव जितेपछि उनको भ्रष्टाचारको मुद्दा उठ्यो । एउटा कर्पोरेट गेमको शिकार भएका पाण्डेले एक वर्षमात्र अध्यक्ष बन्न पाए । त्यसपछि तत्कालीन वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका महासंघको अध्यक्ष र भवानी राणा वरिष्ठ उपाध्यक्ष बने । 

यसबीचमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने गरेर महासंघको विधान संशोधन भयो । २०७३ सालमा भएको महासंघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भयो । ढकालको समर्थन गोल्छालाई थियो । त्यसपछि महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका प्रमोद प्रधान स्थानीय चुनाव लड्न गएपछि उपाध्यक्ष पद खाली भयो । ढकालले त्यसमा प्रधानलाई समर्थन गरेर ल्याए । त्यसपछि महासंघमा पुनः विधान संशोधनको कुरा उठ्यो । 

आगामी एक महिनाभित्र महासंघको साधारणसभा हुँदैछ । यसमा ढकालले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउन खोजेका छन् । अर्थात् ११ वर्ष अगाडि अध्यक्षमा पुनः दोहोरिएर महासंघलाई गुटगत राजनीतिको दलदलमा फँसाएका ढकालले फेरि महासंघमा चरम गुटबन्दी गर्न थालेका छन् । जसको कुनै उद्योग नै छैन, जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ, त्यही व्यक्ति उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको साख गिराइरहेको भन्ने उद्योगीहरुको ठहर छ ।

अहिलेको ब्याजदर आन्दोलन किशोर प्रधानलाई महासंघको आगामी अध्यक्ष बनाउने उद्देश्यले भएको उद्योगी व्यवसायीहरु बताउँछन् । त्यसैले किशोर प्रधान बैंकको ब्याजदर राज्यले तोक्नु पर्छ भन्दै आवाज बुलन्द बनाइरहेका छन् । ढकाल, किशोर प्रधान र जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिको दबाबमा महासंघ अध्यक्ष राणाले ब्याज घटाउने आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारलाई अल्टिमेटम दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस