महाकाली सन्धिअनुसार पाउनु पर्ने ३५० क्यूसेक पानी नेपालले पाउनुपर्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १७ : १०
महाकाली सन्धिअनुसार पाउनु पर्ने ३५० क्यूसेक पानी नेपालले पाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धिअनुसार नेपालले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी पाउनुपर्ने बताएका छन् । 
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो । सो बैठकमा उनले २३ बर्षअघि नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने  १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी पाउनु पर्ने बताएका हुन् । 

नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । हालसम्म नेपालले पाउनु पर्ने पानी नपाएकाले  नेपाल–भारत स्तरीय छलफलमा उक्त कुरा खुलेर राख्न र त्यस अनुसारको तयारी गर्न बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए । 

‘हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले पानी पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहँदैन ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन समेत दिए । 
 

प्रतिक्रिया दिनुहोस