नन्दनको नजरमा रेशमको आराधना अर्गानिक आत्मकथा

सूर्यप्रकाश कँडेल

शनिबार, ११ फागुन २०७५, १७ : २८
नन्दनको नजरमा रेशमको आराधना अर्गानिक आत्मकथा

चितवन । ‘आराधना चोखो आत्मकथा हो, मौलिक र अर्गानिक’ वरिष्ठ गीतकार प्रेमविनोदन नन्दनले शनिबार नारायणगढमा आयोजित रेशमलाल श्रेष्ठको आत्मकथा ‘आराधना’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । साहित्य साधनालाई तपस्यासँग तुलना गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार नन्दनले भन्नुभयो, ‘लाटो लेखाईभन्दा विद्रोही र पहिचानसहितको लेखाई शक्तिशाली हुन्छ, राम्रो हुन्छ ।’

बन्दीपुरमा जन्मेर प्रारम्भिक शिक्षा त्यहीँ पूरा गर्नु भएका ७० वर्षीय रेशमलाल श्रेष्ठले शिक्षण पेशामा ४५ वर्ष बिताउनु भयो । आफ्नो बाल्यकाल, विद्यार्थी जीवन र शिक्षण पेशाका भोगाई र अनुभूतिहरु आराधनामा समेटिएका छन् । आराधनाको लोकार्पण श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

लेखक श्रेष्ठले आराधना रहरको उपज भएको बताउनु भयो । ‘एक दिन मरेर जानु छ, समाजलाई केही दिएर जाउँ भन्ने रहरले यो पुस्तक जन्मिएको हो’ उहाँले भन्नुभयो, ‘म छताछुल्ल पोखिएको छु पुस्तकमा, मलाई पढिदिनु होला ।’

बुक आर्ट नेपालले बजारमा ल्याएको श्रेष्ठको आत्मकथा आराधनामाथि टिप्पणी गर्दै साहित्यकार सरस्वती रिजालले भन्नुभयो, ‘आत्मकथा अरुलाई पनि प्रेरण दिने, घच्घच्याउने खालको हुनु पर्छ । आराधना त्यस्तै छ ।’ उहाँले लेखकका केही नकारात्मक प्रसंग पुस्तकमा नराखेको भए हुने विचार व्यक्त गर्नुभयो । ‘आत्मकथा लेख्न गाह्रो हुन्छ’ उहाँले भन्नुभयो, ‘के लुकाउने ? के फुकाउने ?’ अर्का टिप्पणीकार डा. मतिप्रसाद ढकालले पुस्तकको सांगोपांगो विवरण प्रस्तुत गर्दै पुस्तकमा ८६ वटा निबन्ध रहेको जानकारी गराउनु भयो ।

बन्दीपुर सेवा समिति चितवनले आराधना लोकार्पण कार्यक्रम आयोजना गरेको हो । आयोजक संस्थाका संयोजक विनय श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि केएल भुषण, लेखकका गुरु चिजकुमार मित्र, चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, आयोजक संस्थाका सदस्य सहनलाल प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस