छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

आइतबार, ३० पुस २०७४, १३ : २७
छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा

अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं । छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं । कतिले त शल्यक्रिया नै गर्छन्।

यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन् । किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ ।

खासमा जवान रहन खासै खर्च वा शल्यक्रिया गर्नु पर्दैन, हामीले आफ्नो जीवनयापनको शैली र भोजनमा ध्यान दिए पुग्छ । हाम्रो शरीर र मस्तिष्कमा हामीले खाने भोजनकै सबैभन्दा बढी प्रभाव पर्छ । जसको तुलनामा कुनै लोसन वा क्रिमको प्रभाव नगन्य हुन्छ ।

छाला किन चाउरी पर्छ ?
छाला चाउरी पर्नुका मुख्य दुई कारण छन् । पहिलो हो घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तन ।

छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ । तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ । यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ । यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ । यसपछि छाला फेरि पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ ।

सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ । किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ । त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ ।

भोजनले छालालाई कसरी जोगाउँछ ?
छालामा भोजनले पार्ने प्रभावबारे विभिन्न अनुसन्धान गरिएका छन् । सन् २००१ मा गरिएको एक अध्ययनले छाला चाउरी पर्ने कारणबारे अनौठो तथ्य पत्ता लगाएको थियो ।
तीन बेग्लाबेग्लै देशमा गरिएको अध्ययनले छाला चाउरी पर्नबाट जोगाउन प्रचुर एन्टिअक्सिडेन्टयुक्त तथा घामबाट पर्ने नकारात्मक प्रभाव जोगाउने भोजन र चिल्लो पदार्थ आवश्यक पर्ने निष्कर्ष निकालेको थियो ।

कतिपय खानेकुरा यस्ता छन्, जुन हाम्रो समग्र स्वास्थ्यका लागि (छालासमेत) अत्यन्त फाइदाजनक हुन्छन् । अझ एन्टी अक्सिडेन्टयुक्त खानेकुराले शरीरबाट फ्रि ¥याडिकल घटाउन सघाउँछन् । फ्रि ¥याडिकलले छालामा क्षति पु¥याउनुका साथै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्त्याउँछ ।

यसबाहेक छालामा चाउरी पार्ने प्रमुख कारण घाम नै भएकाले छालामा कोलाजेन कायम राख्ने र घामको प्रभाव घटाउने खानेकुरा उपयोगी हुन्छन् ।
केही खानेकुरामा पाइने प्mयाट पनि छालाको मोस्चराइजर कायम राख्न आवश्यक हुन्छ ।

छालालाई चाउरीबाट जोगाएर ताजगी बनाइराख्न हाम्रो भोजनमा यी खानेकुरा समावेश गर्न आवश्यक छ ।

गेडागुडी
गेडागुडी परिवारमा बोडी, सिमी, दाल, चना, केराउ जस्ता खानेकुरा पर्छन् । गेडागुडीमा रेशा (फाइबर), प्रोटिन र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, छालाका लागि निकै लाभदायक हुन्छ । यसले पाचन प्रणालीमा जाने दुषित टक्सिनलाई छालाले सोस्नु अगाडि नै शरीरबाट निष्कासन गर्छ ।

गेडागुडी भिटामिन ई र सीको अत्यन्त राम्रो स्रोत हो । यी दुवै भिटामिनले छालालाई घामका पराबैजनी (अल्ट्रा भ्वाइलेट) किरणबाट जोगाउँछन् । दुवै भिटामिन एकसाथ उपभोग गर्दा एन्टी अक्सिडेन्ट शक्ति दोब्बर जस्तै बढ्छ । एन्टिअक्सिडेन्ट पाइने खानेकुराले हाम्रो पूरै शरीरलाई पोषण दिनुका साथै छालालाई पनि स्वस्थ राख्छ । तर, यसको अर्थ यी भिटामिनको उपयोग गरेपछि सनस्क्रिन लगाउनै पर्दैन भन्ने होइन ।

अन्य खानेकुराको तुलनामा गेडागुडी सस्तो, विविध भिटामिनयुक्त र पकाउन सजिलो हुन्छ । एकै खालको गेडागुडी खानुभन्दा धेरै खालका रंगीन मिसाएर खानु उपयुक्त हुन्छ । दिउँसोको खाजामा गेडागुडी र बदामसमेत समावेश गर्नु राम्रो हुन्छ । सातामा २÷४ पटक गेडागुडी खाए छालाका लागि पर्याप्त पोषण प्राप्त हुन्छ ।
बोडी, सिमी र दाल सातामा केही पटक खाने गरे प्रोटिनका लागि बेग्लै खानेकुरा खाइरहनु पर्दैन ।

भिटामिन सीयुक्त खानेकुरा
भिटामिन सीको मात्रा धेरै भएका खानेकुराले छालाको सुख्खापन र चाउरीपना घटाउँछ । भिटामिन सी एन्टिअक्सिडेन्ट भएकाले यसले चाउरी निम्त्याउने अक्सिडेटिभ असर कम गर्छ । अक्सिडेटिभ असर पोषणयुक्त भोजनको कमी, तनाव र प्रदुषणका कारण पनि हुनसक्छ । त्यसैगरी घामले छालामा पार्ने नकारात्मक असरबाट समेत भिटामिन सीले जोगाउँछ ।

सामान्यतया सबै फलफूल र तरकारीमा भिटामिन सी पाइन्छ । तर, भिटामिन सी धेरै पाइने खानेकुरामा कागती, सुन्तला, भोगटे, ज्यामिर, निबुवा, जुनार, स्ट्रबेरी र भेडे खुर्सानी हुन् ।

भिटामिन एयुक्त खानेकुरा
भिटामिन एयुक्त खानेकुराले पनि छालालाई चाउरी पर्नबाट जोगाउँछन् । भिटामिन ए बिटा–क्यारोटिन र सक्रिय भिटामिन ए गरी दुई स्वरुपमा पाइन्छन् । बिटा–क्यारोटिन अधिकांश पहेंला फलफूल, तरकारीमा पाइन्छ भने सक्रिय भिटामिन ए अण्डा, कलेजो र नौनी जस्ता मांसाहारी भोजन र दुग्धजन्य पदार्थमा पाइन्छ ।

भिटामिन ए शरीरका करिब सबै ठाउँका छालाका कोषले उपयोग गर्छन् । भिटामिन ए नभए शरीरमा लागेका घाउ, चोटपटक, खटिरा लगायत निको हुँदैन । यसले छालाका कोषहरूलाई आपसमा खाँदिन सघाउँछ, फलस्वरुप चाउरीपना घट्छ ।

भिटामिन ए छालामा दुई तरिकाले उपयोग हुन्छ । पहिलो भोजनबाट पाउने र अर्को क्रिम (रेटिनोल) का रुपमा सीधै छालामा लगाउने । यो क्रिम चर्मरोग विशेषज्ञले प्रेस्क्राइब गर्छन् । तर, तपाईंले प्रचुर भिटामिन एयुक्त खानेकुरा खाएपछि चर्मरोग विशेषज्ञकोमा जानै पर्दैन । यसका लागि हामीले दिउँसोको खाजामा केही गाजर वा ब्रेकफास्टमा दुई÷तीन वटा अण्डा समावेश गरे दैनिक भिटामिन एको पूर्ति हुन्छ ।

जैतुनको तेल
छाला सुख्खा भयो भने पनि छिटै चाउरी पर्छ । किनभने सुख्खा भएपछि छालाले मोइस्चर राख्न सक्दैन र झोल्लिन थाल्छ । पानीको मात्रा बढाए छालालाई केही मात्रामा मोस्चराइज त गर्छ, तर उपयुक्त प्mयाट (चिल्लो पदार्थ) भएको भोजन नगरुन्जेल छालाका कोषले आफूसँग पानी जम्मा गर्न सक्दैनन् र छाला सुख्खा भइरहन्छ ।

जैतुनको तेलले छालालाई दुई प्रकारले सघाउँछ । यसले पानी जम्मा गर्न छालालाई स्वस्थकर चिल्लो पदार्थ उपलब्ध गराउनुका साथै यो उत्तम एन्टिअक्सिडेन्ट पनि हो । यसमा अन्य वनस्पतिबाट प्राप्त हुने तेलभन्दा निकै बढी भिटामिन ई पाइन्छ । साथै, भिटामिन ए र ल्युटिन जस्ता एन्टी अक्सिडेन्ट पनि जैतुनको तेलमा पाइन्छ । यी सबै पोषणले छालालाई नरम बनाइराख्छ ।

सलाद बनाउँदा वा अन्य परिकारमा पनि जैतुनको तेल प्रयोग गर्नुहोस् । खानेकुरा हलुका तार्नु परे पनि थोरै तापक्रममा यसको प्रयोग गर्न सकिन्छ । तर, जैतुनको तेलमा खानेकुरा डिप फ्राई भने गर्नु हुँदैन । किनभने धेरै तताउँदा यसमा भएका स्वस्थकर प्mयाट नष्ट हुन्छ । जैतुनको तेल पूर्णतया स्वस्थकर भए पनि यसमा क्यालोरी पनि धेरै हुन्छ । त्यसैले भोजन पकाउँदा वा सलादमा प्रयोग गर्दा एक वा दुई ठूलो चम्चा हाले पर्याप्त हुन्छ ।

पोटासियमयुक्त खानेकुरा
पोटासियम सामान्यतया फलफूल र सागसब्जीमा पाइने इलेक्ट्रोलाइट हो । हाम्रो शरीरका कोषहरूमा तरल पदार्थको मात्रा सन्तुलित राख्न पोटासियमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले शरीरमा पानीको मात्रा घटाउने सोडियमको प्रभाव न्यून पार्छ र कोषमा पानीको मात्रा सन्तुलित राखेर छाला नरम र चाउरीरहित हुन्छ ।

फलफूल र तरकारी धेरै खाएर आप्mनो शरीरलाई आवश्यक पोटासियमको मात्रा पूर्ति गर्न सकिन्छ । पालुंगो, केरा र एभोकाडोमा सर्वाधिक पोटासियम पाइन्छ । हामीले नुनको मात्रा धेरै भएका भोजन गर्ने भएकाले सोडियमले डिहाइड्रेसन गराउनुका साथै छाला चाउरी पार्छ । त्यसैले सोडियमको सामना गर्न र छाला चाउरी पर्नबाट रोक्न पोटासियमयुक्त खानेकुरा पर्याप्त उपभोग गर्नु आवश्यक छ ।

माछा
प्रचुर मात्रामा ओमेगा–३ पाइने भएकाले माछा छाला र स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो । छाला मोस्चराइज्ड राखेर चाउरी पर्नबाट जोगाउन ओमेगा–३ अत्यावश्यक प्mयाट हो । ओमेगा–३ ले हाम्रो शरीरका कोषमा तरलता कायम राख्ने तथा शरीरमा हुने दुखाइ र पोलाइ घटाउने भएकाले छाला सुख्खा हुन दिँदैन । छाला चिल्लो र चमकदार राख्नु छ भने सातामा कम्तीमा दुई÷तीन पटक ताजा माछा भोजनमा सामेल गर्नुहोस् । साल्मन, मकरेल, सार्डिन, अल्बाकोर र टुना माछामा सर्वाधिक ओमेगा–३ पाइन्छ ।

प्रोटिनयुक्त खानेकुरा
छाला स्वस्थ राख्न पर्याप्त प्रोटिन आवश्यक पर्छ । हाम्रो छाला प्रोटिनबाट निर्माण भएकाले भोजनमा पर्याप्त प्रोटिन नभए छालाका कोषहरू सुख्खा तथा मृत हुन्छन् । कोष जति चाँडो फेरिन्छन्, त्यति नै छाला पनि चमकदार र जवान देखिन्छ । कुखुराको मासु, माछा, अण्डा, गेडागुडी, दाल र दुग्धजन्य पदार्थमा प्रचुर प्रोटिन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस