अन्तरिक्षमा गएपछि किन बढ्छ मान्छेको उचाईँ ?

शनिबार, २९ पुस २०७४, १३ : २५
अन्तरिक्षमा गएपछि किन बढ्छ मान्छेको उचाईँ ?

तिन हप्ता अघिमात्रै अन्तरीक्ष स्टेसनमा आइपुगेका एक जापानी अन्तरिक्षयात्रीले आफ्नो जिउ ९ सेन्टिमिटरले लम्बिएको भनाई सच्चाएका छन् । साथै उनले मापनको गल्तीले गर्दा यस्तो भएको भन्दै माफी मागेका छन् ।

आफु वास्तवमा २ सेन्टिमिटर मात्रले अग्लो भएको भएको तर नापमा गल्ती हुँदा ९ सेन्टिमिटर हुन गएको उनले बताएका छन् । जापानी अन्तरीक्षयात्री नोरिसिगे कानाइले टि्वटमार्फत यस्तो बताएका छन् ।

अन्तरीक्षमा गएपछि ९ सेमी अग्लो भएको भनी उनले यसअघि टि्वट गरेपछि त्यसले विश्वभर नै चर्चा कमाएको थियो  । वैज्ञानिकहरुका अनुसार अन्तरीक्षमा गइसकेपछि यात्रीको सरीर औषतमा २ देखि ५ सेमीले अग्लो हुनु स्वभाविकै हो । तर जापानी अन्तरीक्षयात्री कानाईले चाहीँ आफु ९ सेमी अग्लो भएको जिकिर गरेका थिए ।

उनले टि्वट गरी लेखेका थिए, ‘गुड मर्निङ सबैजनालाई । मैले आज एउटा महत्वपूर्ण घोषणा गर्दैछु । हामी अन्तरीक्षमा पुगेपछि हाम्रो जिउको नाम लिएका थियौँ । र, ओहो म त ९ सेमीले बढेछु ।’जम्मा ३ हप्तामै बिरुवा जस्तै गरी आफु बढेको उनले बताएका थिए ।

उनको यो टि्वटको दाबी गलत रहेको भनी सर्वत्र आलोचना भएपछि उनले अर्को टि्वट गर्दै लेखेका छन्, ‘आफ्नो जिउको बढोत्तरीको विषयमा रुसी कमान्डरले शंका व्यक्त गरेपछि आफुले तत्कालै पुन आफ्नो जिउ नाप्दा आफ्नो जिउ पृथ्वीमा भन्दा केवल २ सेमी मात्र लामो रहेको पाएँ ।’ साथै उनले मापनको गल्तीका कारण सुरुमा ९ सेमी बढेको देखिएको प्रष्ट पारेका छन् ।

वैज्ञानिकहरुका अनुसार अन्तरीक्षमा गुरुत्व बलको अभाव हुने हुँदा मेरुदण्डका हड्डीहरुबीचको ठाउँ फैलिने गर्दछ, जसका कारण मानिसको उचाई बढ्दछ । अन्तरीक्षमा केही बढेका अन्तरीक्षयात्रीहरु पृथ्वीमा फर्किसकेपछि भने केही समयमै पहिलेकै उचाइमा र्झदछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस