कथा : क्याबिनको काम

आइतबार, २७ माघ २०७५, १३ : ०१
कथा : क्याबिनको काम

– अमृता बुढाथोकी    

चुरोटको धुँवाले रगमगाएको क्याबिनबाट मन भरिएको बेला उनका आँखा क्षितिजतिर टोलाउँछन् । धुवाँ, कोलाहल र प्रदूषणले आकुलव्याकुल भएको त्यो क्षण उनलाई क्षितिजको उषा पनि मधुरो लाग्छ । मानौँ, क्यानभासमा आफ्नै अस्तित्वविहीन प्रतिबिम्ब ठिङ्ग उभिएर आफैलाई प्रतिप्रश्न गरेझैँ लाग्छ । कोलाहल र प्रदूषणकै बीचमा पनि आफूलाई एकैछिन ग्राहकको भीडबाट अलग गर्दा मनभित्रको बोझ नै कम भएको आभाष हुन्छ । छाती फुरुङ्ग भई आफै उडेर क्षितिज काटेर जाउँ जस्तै हुन्छ । आफ्नो तेह्रथुमको जन्मभूमिको याद आई बाल्यकालमा बिसमुरे र साठीमुरेको भीरमा लुकामारी खेलेको याद आउँछ ।

मनले भन्छ, आँखा चिम्लिएर एकतमासले उडिरहुँ कतै अनन्तको यात्रामा निस्किहालौँ, गई हालौँ तर उनलाई त्यहीँ जकडेर राख्ने उनको विवषताले त्यसो गर्नै दिँदैन । त्यति नै बेला मनलाई नै घोच्ने गरी तिखो स्वरमा त्यहीँ साहुँको रुखा बोलीले तानिहाल्छ, उनी भित्र पस्छिन् । आफ्नो अधमृत शरीर तथा अनुहार ढाकेको पातलो सल पन्छाउँदै ऐना अगाडि उभिन्छिन् । उत्ताउलो गरी ओठमा पोतिएको रातो लिपिस्टिक, टाढैबाट पुरुषलाई मदहोस पार्नका लागि पोतिएको पाउडर र आँखाको गाजल मिलाउँछिन् । यताउता मिलाए झैं गरी उनी नयाँ ग्राहकको सामु पेश हुन्छिन् । भर्खरै जीवनको छब्बिसौँ वसन्त टेक्दै गरेकी उनी कल्पनाको मिठो उडानलाई यथास्थानमा नै छाडेर आफ्नै नित्यकर्ममा फर्कन्छिन् ।

आज उनको मनमा सदाभन्दा फरक अनुभूतिले डेरा जमाएको छ । कतै डर त कताकता खुसीले बास गरेझैँ गरी मनै फुरुङ्ग भएको छ । उनलाई एकैछिनमा क्षयरोगले थलिएकी आमालाई केही भयो कि भन्ने प्रश्नले तर्साउँछ भने त्यहीँ बेला आफ्नै ६ वर्षको छोरालाई पो कसैले केही गरिदियो कि भन्ने डर लागिरहन्छ । आफ्नो मनभित्रको पीडालाई एकातिर पन्छाएर उनी ग्राहकको छेउमा पेश मात्र के भएकी थिइन् उनलाई आफू चीरपरिचित पुरानो एक किसिमको अनौठो गन्धले च्वास्स मुटु घोच्न पुग्छ । त्यो गन्धले उनको मनमा एकतमासको ढयाङ्ग्रो बजाइ दियो, मुटु तीव्र गतिमा चल्न सुरु भयो ।

आफ्नो हातले समाएको बियरको बोतल खसेर खुट्टा काट्न पुग्यो । उनका आँखा अगाडि फेरि त्यही पुरानो दृश्य पर्दामा चलचित्र जस्तै बनेर नाच्न पुग्यो । तिनै पुराना सपनाहरू दिग्भ्रमित बनेर उनलाई तर्साउन आइपुगे । तैपनि उनलाई आफ्नो विवशताले गर्दा पछाडि फर्कनै दिएन । लाचार भएर उनी त्यही परिचित गन्धको छेउमा गएर बसिन् । उनको मनमा कता कता यो नरकबाट उद्धार पो हुने हो कि रु सानु तिमीले मैले गर्दा यो समाजको छिःछिः र दुरदुर कति खप्नुपर्यो है भन्ने प्रश्न पो सुन्न पाइने हो कि भन्ने झिनो आशा पलायो ।

अब आफू र छोराले समाजको अपहेलनाबाट मुक्ति पो पाइने हो कि भन्ने कल्पनामा मात्र के डुबेकी थिइन् उनको मुखै अगाडि हुस्की र ब्रान्डीको गन्ध हास्स आयो । उसले उनलाई नचिनेको अभिनय गरी आफ्नो भोक मेटाएर निस्कियो । ऊ पटकपटक त्यही रेस्टुराँ आउँछ र उनको शरीरसँग खेलेर निस्कन्छ । मानौँ उनी उपभोग्य वस्तुको खरिदबिक्री केन्द्र हुन् र ऊ ग्राहक मानेर उनलाई उपभोग गरिरहन्छ ।

आफ्नो २०औँ बसन्तको मध्यतिर समाज परिवर्तन गर्ने योद्धा हुँ भनी आफ्नै जन्म घरैमा कुमारी आमा बनाएर फरर त्यो योद्धालाई उनी को हुन्सम्म थाहा छैन । वा थाहाभएर पनि उसले उनलाई उपभोग्य वस्तु बनेर बजारमा गिद्दहरूले लुछिरहेको आनन्दले हेरिरहेको छ । त्यो उनको कल्पनाभन्दा बाहिरै छ । पटक पटक ब्रजपात भएको उनको मनले त्यो विषय खोज्नै सक्दैन ।

एकतिर बजारी दुनियाँमा सिनो बनेर गिद्दको आहार बन्नुपरेको छ भने अर्कोतर्फ सानो छोरो र उनको आमाको पालन पोषणको जिम्मा उनलाई छ । उनी घरैमा गर्भवती भएपछि उनको परिवार र समाजले उनलाई घर निकाली दिएछन् । उनलाई संरक्षण गर्न खोज्दा उनकी आमासमेत घरबाट निकाला भइछिन् । गाउँबाट निकाला भएपछि बाध्य भएर बाच्नका लागि उनले आफ्नै शरीरको सौदा गर्न थालिन् ।

एकैछिनको मदहोस त्यो प्रेमरूपी बासनाले उनलाई घरको न घाटको बनाएर छाडिदियो । यति मात्र कहाँ हो र रु बाँच्न र आपूm आश्रित अरूलाई बचाउन उनी दुनियाँको नजरमा वेश्या बनेर बाँच्न बाध्यछिन् ।

उनलाई त्यो हालतमा पुर्याउने त्यो अनौठो गन्धवाला पुरुष अहिले पनि समाजको गन्यमान्य पात्रका रूपमा आपूmलाई परिचित गराएरै हिँडिरहेको छ । उसका पछि सानी जस्ता दर्जनौँ सानीको जीवन खेलौना भइरहेको छ ।

उनको जीन्दगीको खुसियालीपूर्ण सम्पूर्ण बिसौनी त्यही अनौठो गन्धबाला पुरुषसँग भेटभएकै दिनबाट सकिसकेको छ । उनको जीवनका हरेक गोरेटाहरू समाजको चुनौती सामना गर्दा गर्दै थकित भएर जीर्ण बनिसकेका छन् ।

सुरुमा उनले चार हजार तलबका लागि स्नुकर हाउसमा काम गरिन् रे । व्यापार राम्रो भएको दिन हजार, पन्ध्र सयसम्म थप पैसा पनि पाउँथिन् । त्यहीँ स्नुकर खेल्न आउने एक जना दाइले ‘यहाँ भन्दा राम्रो तलब हुन्छ, होटलमा काम लगाइदिन्छु, गर्छौ रु’ भनेपछि उनी क्याबिनमा काम गर्न पुगिछन् ।

उनलाई अहिले पलपल मृत्युको आभाष हुन्छ । फेरि एकैछिनमा क्षयरोगको प्रतिरोधका लागि एन्टिबायोटिक खाइरहेकी आमालाई आवश्यक भिटामिन खुवाउन नसकेर थला परेको, छोराले स्कुल जानका लागि झगडा गरेको सम्झिएर फेरि आफ्नो मनको बोझलाई पर राखेर नयाँ ग्राहकको छेउमा गएर नाङ्गिन्छन् । बिनाप्रेम अनुभूति १ अशीम पीडा बोधका साथमा ।

उनलाई अब कुनै सुगन्ध र दुर्गन्धले असर गर्न छाडिसकेको छ । आफ्ना शरीरको अङ्गहरू अरू कसैका खेलौना बनिरहँदा उनी भावशून्य भएर नियतिलाई मात्र सराप्छिन् । उनी मनमनै भन्छिन् दोष कसैको छैन मैले नै त्यो अपरिचितलाई तन, मन नदिएको भए मेरो पनि अरूको जस्तै श्रीमान हुन्थ्यो होला १ मेरो छोराले पनि बाबुको न्यानो काखको अनुभूति गर्न पाउँथ्यो होला । यो कस्तो विडम्बना हो वा प्रेमरूपी बासनाको प्रतिफल उनी छुट्याउनै सक्दिनन् । उनीसँग अब कुनै विकल्प छैन न त जाने नै ठाउँ छ । गहभरि आँशु टिल्पिलाउँदै पटक पटक दुनियाँको छेउमा कृत्रिम हाँसो देखाउनुबाहेक ।

उनी मनमनै भन्छिन्, ‘कुरा त उही हो तर कमसेकम अहिलेको पुरुषले केही रुपियाँ त दिन्छन् उसले त मीठो बोलेर जिन्दगी नै हरेर गयो ।’ साहुले दिएको आठ हजार तलबले के नै हुन्छ र रु काम गर्न थालेको केही दिनपछि त्यो घटना उनी सम्झिन्छन् । साहुको त्यो मान्छे जसले उनलाई मध्यरातसम्म बलात्कार गरेर त्यही साहुलाई मोटो रकम बुझायो । उनको जीवनको दोस्रो कहालीलाग्दो रात बन्न पुग्यो  त्यो दिन । बल्ल–बल्ल उम्केर मध्य रातमा एउटी साथीको कोठामा पुगेको त्यो घटनाले फेरि उनलाई भावविह्वल बनाउँछ । मन कुँडिएर आफू छोरी भएर जन्मनु नै दोष भएको सम्झन पुग्छिन् ।
उसो त सबै मान्छे नराम्रा नै कहाँ हुन्छन् तिनै नारीभोगी पुरुषमा पनि कोही कोही त राम्रा पनि हुँदा रहेछन् । उनी त्यो ग्राहक कुरा झस्स सम्झन पुग्छिन् । उसको कुरा उनको कान हुँदै मुटुमा गएर रोपिन्छ । त्यो ग्राहकले भनेको थियो, ‘जाउँ सानी प्रहरीकोमा तिम्रो छोरालाई बाबुसँग जिम्मा लगाउ अहिले कानुनले विवाहको प्रलोभन देखाई यौन शोषण गर्ने पुरुषलाई सजाय दिने व्यवस्था गरेको छ ।’ धेरैबेर घोरिएर सोचपछि उनी एउटा निर्णयमा पुगिन् उसले मलाई बलात्कार गरेको होइन, ढाँटेको मात्र हो । उसले मलाई माया नगरे नि मैले त उसलाई माया गरेकै हुँ नि । मेरो छोरा त मेरो प्रेमको निशानी हो म उसलाई त्याग्दिनँ, आफ्नै साथमा राख्छु ।
एवम् रीतले उनका दिन, वर्ष र महिना बित्दै गए । यो पेसामा उनी लागेको पनि अब त पाँच वर्ष पुगिसकेछ । ग्राहकले दिएको टिप्सको पैसा बचाएर उनले अहिले आफ्नो छोरालाई पढाउन थालेकी छिन् । आमालाई पनि केही सन्च जस्तै भएको छ । उनका दर्जनौं ग्राहकमध्ये एउटा यस्तो ग्राहक छ ऊ उनीसँग नियमित भेट्न चाहन्छ तर उनको शरीरको उपभोग गर्न चाहँदैन ।

केही समय अगाडिदेखि उनको शरीरको छाला चिलाउँछ । थकाइको महसुस हुने, खोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन लागेका छन् । उनलाई अत्यन्तै गारो भएको देखेर उनको त्यही नियमित ग्राहकले उनलाई अस्पताल लैजान्छ । तीन दिनपछि उनी अस्पताल रिपोर्ट लिन जान्छिन् । रिपोर्ट लिएर डाक्टरलाई देखाउन जाँदा उनी छाँगाबाट खसे जस्तै हुन्छिन् । डाक्टरको एउटै बोली तिमीलाई एचआईभी पोजेटिभ भएको छ । तिमी अब धेरै बाच्न सक्दिनौँ भन्ने आवाज मात्र कानको अन्तरकुन्तरबाट प्रतिविम्बित भएर पुनः त्यही प्रतिध्वनि उनको कानमा गुञ्जमान हुन पुग्छ । उनका अगाडि दुईटा ठूला चुनौती आइपुग्छन् । एक त छोरा सानै छ । अर्को बुढीआमा अब के गर्ने । पीडाले आक्रान्त भएकै बेला पुनः त्यही ग्राहकले उनलाई फोन गर्छ । उसलाई केही भन्न नसकी उनी लुसुलुसु उसले बोलाएको ठाउँमा पुग्छिन् ।

भोलिपल्ट पुनः त्यो ग्राहकले उनलाई फोन गरेर बानेश्वर बोलाउँछ उनी उसले बोलाएको ठाउँमा पुग्छिन् । त्यो ग्राहकले केही नबोली एउटा मोटो चिठीको खाम दिएर जान्छ । त्यो खामभित्र एउटामा असाहय वृद्धवृद्धाको हेरचाका लागि खोलिएको संस्थामा मेरी आमालाई राख्नका लागि पूर्ण विवरणको फर्म र एउटा पुरुषको फोटाको पछाडि नाम र ठेगाना लेखिएको हुन्छ ।

उनी कोठामा पुग्दा उनले आमालाई देख्दिनन् । आमालाई नदेखेपछि आत्तिएर चिच्याउँदै उनी आमाको सुत्ने ओछ्यानमा पुग्छिन् । त्यहाँ उनले एउटा कागजको टुक्रा देख्छिन् । त्यो टुक्रामा लेखिएको थियो स्
मेरी सानी असिम माया अनि सम्झना ।

सानी तिमीलाई यो पत्र पढ्दा अनौठो लाग्न सक्छ । तर नमान हैै । म तिमीलाई र तिम्रो अहिलेको अवस्थासँग राम्रो परिचित छु । सानी तिमी मलाई चिन्दिनौँ तर तिमी मेरो जिन्दगी हौँ । तिमीलाई त्यो पापी समाजले लखेटेदेखि मेरो काम तिमीलाई खोज्ने मात्र हुन पुग्यो । तिमीलाई लाग्छ होला म पनि तिम्रो ग्राहक हुँ तर होइन सानी १ सानी तिमीलाई थाहा छ, तिमीलाई ती दरिद्रहरूले कोर्रा बर्साएको बेला सबैको अगाडि यो बच्चा मेरो हो भनुँ जस्तो लागेको थियो । भन्न पनि खोजे तर कसले सुन्थ्यो र मेरो कुरा आखिर मत दलित न परे । ती दरिद्रले तिम्री आमालाई त छोडेनन् । मलाई त झन के बाँकी राख्थे र रु भन्ने आँट नै भएन भनेको भए सायद तिम्रो यो वियोग हुन्थेन कि १ सानी मैले तिमीलाई धेरै खोजेर फेला पारेको हुँ । म तिमीलाई भेटेकै दिनबाट आफ्नी बनाउन चाहन्थे तर सानी मैले तिमीलाई भेट्दा धेरै ढिला भइसकेको थियो ।

तिमीले सबै पुरुषलाई घृणा गर्न थालिसकेकी थियौँ । मैले तिम्रो मन जित्ने कोशिस धेरै गरे तर सकिन । तिमीले मलाई जहिल्यौँ एक ग्राहकको नजरले हेर्यौँ । तिमी को हौँ र के चाहन्छौँ भनेर कहिले सोधेनौँ ।

तर, अब धन्दा नमान सानी मैले तिम्री आमालाई त्यही फर्म भरेको संस्थामा ल्याएको छु । तिम्रो छोार पनि म  सँगै छ  अहिले । बरु सानी तिमी मलाई स्वीकारर्छौं भने ९८५१०।।। नम्बरमा फोन गर है । म तिमीलाई जिन्दगीको अन्तिम समयमा सम्मानपूर्वक बिदा गर्न चाहन्छु । अनि सानी तिमीसँग मेरो अर्को बाचा म तिम्रो छोरालाई आफ्नो नाम दिन चाहन्छु । यदि तिमी यसलाई स्वीकार गर्दिनौँ भने उसैको बाबुलाई कानुनी रूपमा जिम्मा देऊ है । तर यो कुरा सजिलो छैन तिम्रो त्यो राजेश अहिले ठूलो मान्छे भएको छ । उसले स्वीकार्दैन त्यसैले सानी तिम्रो यो एकतर्फी प्रेमीको पुकार सुनी देऊ मलाई स्वीकार ल ।

अनि अर्को कुरा मैले यसअघिका भेटमा तिमीले राजेशको कुरा धेरै गरेकी थियौँ । त्यसैले उसको फोटा र ठेगाना दिएको छु । मलाई अन्यथा नबुझ है ।

उही तिमीलाई माया गर्ने हर्के ।

पत्र पढिसकेपछि सानीलाई बज्र परेझैँ भयो । आँखै अगाडि पृथ्वी झरेर र खसे जस्तो अँध्यारो भयो । सास फेर्न नै गाह्रो हुँदै गयो । हतार हतार फोनमा म्यासेज लेख्न थालिन् ः हर्के मलाई माफ गर है । मैले तिमीलाई चिन्न सकिनँ । तिम्रो सबै प्रस्ताव स्वीकार छ तर मेरो एउटा कुरा स्वीकार गर है । मैले दुई वर्ष अगाडि मेरो एउटा मिर्गौला बेचेकी थिएँ । त्यसको पैसा र मैले ग्राहकबाट लिएको गरेर १० लाख जति पैसा मेरो बाणिज्य बैङ्कको खानं। १६०।।। मा छ । त्यो पैसाले मेरो छोरालाई पढाइ देऊ ल । आमालाई डाक्टरले अब ६ महिनाभन्दा बढी बाच्नुहुन्न भनेको छ । त्यसैले आमाको मृत्युपछि तिमी बिहे गर है ।
मेरो अन्तिम इच्छा मेरो लासलाई तिम्रो सिन्दुरको होइन, तिमीलाई जीवनसाथीको जरुरी छ बिहे गर ल । यति लेखेर म्यासेज सेन्ड गरिन् । यसो उठ्न मात्र के खोजेकी थिइन् । उनको छातीबाट माथि एउटा मुस्लो जस्तो उठेर आयो सासै फेर्न नदिई उनको प्राण पखेरु हरेर लग्यो ।

प्रतिक्रिया दिनुहोस