‘नाकाबन्दीमा बस्ती’ नामक पुस्तकको विमोचन

सफल खबर संवाददाता

विहीबार, ०३ माघ २०७५, १८ : १६
‘नाकाबन्दीमा बस्ती’ नामक पुस्तकको विमोचन

चितवन । छविलाल न्यौपानेद्वारा लिखित ‘नाकाबन्दीमा बस्ती’ नामक पुस्तकको आज यहाँ विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा आज आयोजित पुस्तक विमोचन समारोहमा माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल र नेपाल प्रेस युनिययनका केन्द्रीय उपाध्यक्ष दिपक आचार्यले संयुक्तरुपमा पुस्तक विमोचन गर्नुभएको हो । 

माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जबाट भोग्नु परेको पीडा, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिको अवस्था, पूर्वाधार विकास, निकुञ्ज ऐनले जनताको अधिकारलाई पारेको असर लगायतका विषयलाई समेटेर लेखिएको यो पुस्तक माडीबासीको पीडालाई उजागर र सरोकारवालाई त्यहाँको अवस्था बुझ्न उपयोगी हुने बताइएको छ ।

लेखक न्यौपानेले माडीबासी र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने जनताले भोगेका भोगाईलाई लेखिएको  पुस्तकले माडीबासीको भित्री पीडालाई सम्बोधन गरेकाले देशका ४५ वटा जिल्लामा पुस्तकको वितरण गर्ने जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष आचार्यले पुस्तकमाथि टिप्पणी गर्दै पुस्तकले त्यहाँको समस्यालाई सक्दो चित्रण गर्न खोजेको बताउनुभयो । पुस्तकले निकुञ्ज नजिक रहेका बासिन्दाहरुलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्यभूति गर्न सरकार अग्रसर हुनु पर्ने धारणा राख्नुभयो ।

विमोचन कार्यक्रममा बोल्दै माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले नेपालका ७५३ स्थानीय निकायमध्ये माडी नगरपालिका सबैभन्दा पीडादायी अवस्थामा गुज्रिनुपरेको गुनासो गर्नुभयो । “माडीमा पुल, बाटो, स्वास्थ्य चौकी निर्माण गर्न निकुञ्जले रोक लगाउँछ । खै नगरिकले बाँच्न पाउने अधिकार सुनिश्चित भएको ?”

‘निकुञ्जलाई कहिलेसम्म ज्यू ज्यू गर्दै बस्ने हो ?’ उहाँले भन्नुभयो, “निकुञ्जले सधै एकतर्फी शासन लगायो । निकुञ्ज ऐनको १० वटा बुदाँ संशोधन नगरे आन्दोलित हुन्छौं ।” कार्यक्रममा पत्रकार वीरेन्द्रमणि पौडेल, कृष्ण गिरी, कोमल भगत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस