चितवन महोत्सव : माछाको आकृतिमा तानिए दर्शक

सफल खबर संवाददाता

बुधबार, ०२ माघ २०७५, १३ : २१
चितवन महोत्सव : माछाको आकृतिमा तानिए दर्शक

भरतपुर । भरतपुर ४ की गंगा सापकोटाले चितवन महोत्सवमा माछाको आकृति देखेपछि भनिन्, ‘आहा कति राम्रो दुरुस्तै ।’ उनीमात्र होइनन्, उनका साथीहरु माछा अगाडि बसेर सेल्फी लिन भ्याए । क्लिक–क्लिक पार्दै तस्बिरहरु पनि लिए । 
यतिबेला चितवन महोत्सवमा माछाको आकृतिले दर्शकको ध्यान खिचिरहेको छ । जोकोही आउने दर्शक पनि माछाको आकृतिमा लोभिएका छन् । १० फिट चौडाइ र २० फिट लम्बाइ भएको माछाको आकृतिले ध्यान तानको छ । 
‘चितवनलाई माछापालनतर्फ अगाडि बढाउन माछाको आकृति राखिएको छ, जसले दर्शकको मन जितिरहेको छ’ महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष सहन प्रधानले भने । उनका अनुसार महोत्सवमा माछाको आकृतिमात्र नभई दर्शक तान्ने धेरै चीजहरु रहेका छन् । 
१२ औँ चितवन महोत्सवमा मेड इन नेपालको छुट्टै परिसर रहेको छ । परिसरमा २२ वटा स्टल रहेका छन् । २२ वटै स्टलमा नेपालमै उत्पादन हुने सामग्री तथा सेवाहरु उपलव्ध भएका छन् । जसले दर्शकको ध्यान खिचिरहेको छ । 
चितवन महोत्सवको गरिमा र मेड इन नेपालको साखलाई थप उँचो बनाएको छ । यसमा निर्माण सामग्री, फर्निचर, जुत्ता, गार्मेन्ट, फेसन इन्डस्ट्री, जुस, पेन्टस्जस्ता स्वदेशी उत्पादन समावेश भएका छन् । 
चितवन महोत्सव २०७५ मा यसपटक कृत्रिम चिडियाघर विशेष आकर्षणका रूपमा रहेको छ । यसले पनि दर्शकको ध्यान तानेको छ ।  चिडियाघरमा विश्वमै लोपोन्मुख प्रजातिका जीवजन्तु, चरचुरुगी तथा गोहीको कृत्रिम आकृति रहेको छ । कृत्रिम चिडियाघरमा करिब २० प्रजातिका जीवजन्तु राखिएका छन् । 
कृत्रिम चिडियाघरमा अवलोकनकर्ताले जनावरको हुबहु स्वरूप, जनावरको आवाज, उनीहरूको वास्तविक वासस्थान, हिँडाइ, आहारा आदि देख्न पाएका छन् । अवलोकनकर्ताले नाचिरहेका मयूर, बच्चा च्यापेर उफ्रिरहेको कंगारु, बाँसको झ्याङमा खेलिरहेका पान्डालाई हेर्दै ती जनावरबारे जानकारी लिन पाएका छन् ।
चितवन महोत्सव २०५३ सालदेखि हुँदै आएको छ । पहिलो चितवन महोत्सव नारायणगढको क्याम्पाचौरमा भएको सांस्कृतिक कार्यक्रममा पनि दर्शक झुम्मिएका छन् । 
यस वर्षको चितवन महोत्सवमा चितवनको पर्यटनलाई केन्द्रविन्दुमा राखेका अध्यक्ष सहन प्रधानले बताए । उनले भने, ‘चितवनलाई तेस्रो पर्यटकीय गन्तव्य भनिएको छ, तर हाम्रो जोड दोस्रो गन्तव्य बनाउनमा केन्द्रित हुनेछ ।’ उनका अनुुसार महोत्सवले चितवनलाई दोस्रो पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नेछ । महोत्सवको विविध गतिविधिहरुले चितवनलाई दोस्रो गन्तव्य बनाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । 
यसपटक चार वटा जनजातिका भेषभुषा राखिएको छ । यहाँ आउने अवलोकन कर्ताहरुले विभिन्न जातजातिका भेषभुषा लगाएर फोटो खिचिरहेका छन् । यसबाहेक आदिवासी चेपाङ, दराई, कुमाल र बोटे जनजातिको घरहरु पनि महोत्सवमा देख्न पाइन्छ ।
चितवनमा माछापालन फस्टाउँदै 
माछा पालनबाट राम्रो आम्दानी हुन थालेपछि चितवनका किसानहरुको आर्कषण बढ्दै गएको छ । थोरै लगानीमा धेरै आम्दानी हुने भएकोले यसतर्फ किसानहरुको आकर्षण बढेको हो । कृषि ज्ञान केन्द्रका अनुसार चितवनमा एक हजारभन्दा बढी किसानहरुले माछापालन गरेका छन् । विशेष गरी पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, रत्ननगर, भण्डारा, खैरहनी, पश्चिम चितवनको गुञ्जानगर, दिव्यनगर, शारदानगर, र माडी व्यवसायिक माछापालन छ । चितवनबाट उत्पादीत माछामध्ये ८० प्रतिशत चितवनमा नै खपत हुने र २० प्रतिशत माछा नेपालका प्रमुख सहरमा जाने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस