देवघाटमा माघेसंक्रान्ति स्नान गर्नेको भीड, वेणी पुग्न सकस

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०७५, १५ : ५५
देवघाटमा माघेसंक्रान्ति स्नान गर्नेको भीड, वेणी पुग्न सकस

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसंक्रान्ति स्नान गर्न मंगलबार बिहान ५ बजे पोखराबाट चितवनका लागि प्रस्थान गर्नु भएका पोखरा महानगरपालिका २६ का भेषराज लामिछाने हतारमा देखिनुहुन्थ्यो । त्रिशुली र कालीगण्डकी नदीको संगम वेणीमा स्नान गर्न जानेहरुको घुइँचो देखेपछि उहाँ वारि नारायणी किनारमा स्नान गरी फर्कनु भयो ।
माघेसंक्रान्ति स्नान गरेर फर्कंदै गर्दा बाटोमा भेटिनु भएका उहाँ भन्नुहुन्छ, “वेणी संगमसम्म पुग्न घण्टौंसम्म लाइनमै बस्नुपर्छ । कालिगण्डीको पानी वारि पनि मिसिन्छ, यता स्नान गरेपनि उता गरेपनि एउटै हो भन्ने लाग्छ । टाढाबाट आएको र फर्कने हतार भएकोले वारि देवघाटमै स्नान गरेर फर्किएँ ।” धार्मिक आस्थाले गर्दा हरेक बर्ष देवघाट आउने गरेको भन्दै उहाँले स्नान गरेपछि मन आन्नदीत तुल्याउने बताउनुभयो ।
छिमेकी र आफ्नो छोराको ब्रतबन्धको लागि राप्ती नगरपालिका ५ भण्डारादेखि आउनु भएकी ३५ बर्षीया गीता कँडेल पनि तनहँु देवघाट जानु भएन । ब्रतबन्ध गर्न जाँदा नदी तर्न हुन्न भन्ने धार्मिक विश्वासका कारण वारि नै ब्रतबन्ध सिध्याएर स्नान गरी फर्किएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरमा धेरै काम छ । ब्रतबन्ध सिध्याएर फर्की हाल्यौं ।”
रत्ननगर नगरपालिका १३ अमेलियाकी सावित्री थपलिया पनि पारि देवघाट पुग्नु भएन । वेणीमा स्नान गर्नेहरुको साह्रै भीड लागेको बताउँदै उहाँले भन्नुभयो, “पारि वेणीसंगमसम्म जाने मन थियो । तर भीडको कारण गईन । वारि नै स्नान गरि पूजा गरेँ ।” देवघाटमा आएर स्नान गर्नाले पुण्य कमाइन्छ, आफ्नो स्वास्थ्य राम्रो हुन्छ भन्ने धार्मिक विश्वासले हरेक बर्ष माघेसंक्रान्तिमा देवघाटधाममा नुहाउन आउने गरेको उहाँको भनाई थियो ।
उत्तर दिशाबाट त्रिशुली नदी र पश्चिम दिशाबाट आएको कालीगण्डीको पानी मिसिएर तनहँुमा वेणी संगम बन्छ । वेणी संगममा यी दुई नदीहरु माघे १ गतेको दिनमा मिसिएको भन्ने धार्मिक किंमदन्तीका कारण तीर्थालुहरु पारि नै स्नान गर्ने चलन बढी छ ।


केही वर्षदेखि वेणी पुग्न घण्टौंसम्म झोलुङ्गे पुल र ढुङगाको लाइनमा बस्नुपर्ने भएकाले चितवन देवघाट गर्ने भक्तजनको संङ्ख्या बढेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।
देवघाटमा  आउँने ६० प्रतिशत भक्तजनहरु चितवन देवघाटमै स्नान र पूजापाठ गर्ने गरेको पौडेलले जानकारी दिनुभयो । तनहुँ देवघाट पुग्नै पर्छ भन्ने मान्यता रही आएको भएपनि पछिल्लो समय चितवन देवघाट मै स्नान गरेर भक्तजन फर्कने क्रम जारी छ । चितवनबाट तनहुँ र तनहुँबाट चितवनतर्फ आवतजावतका लागि भरपर्दो पुल नभएकाले चितवन देवघाटमै स्नान गर्नेको संङ्ख्या बढेको हो ।
तनहुँ देवघाटमा स्नान गर्ने भू–भाग प्रयाप्त छैन । यहाँ माघे संक्रान्ति मेला भर्न मात्रै साढे ५ लाख भक्तजनहरु आउने गर्दछन् ।
तनहुँ देवघाटमा स्नान गर्ने ठाँउ साघँुरो भएकाले पनि चितवन देवघाटमा भक्तजन बढेको समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । साघुँरो ठाउँमा स्नान गर्दा जोखिम पनि बढी हुन्छ,‘उहाँले भन्नुभयो, “ चितवन देवघाटको २ किलोमिटर क्षेत्रमा सहजै स्नान तथा पूजापाठ गर्न मिल्छ । आवश्यकता अनुसार चितवन देवघाटको पूर्वाधार विकासलाई बढाउदै लाने छौ ।”
देवघाटधामलाई नेपाल सरकारले यसबर्षदेखि नेपालको ५० वटा पर्यटकीय स्थलमा समावेश गरेको छ । नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान्तिका दिन सारा देवीदेवता देवघाट क्षेत्रमा आउने विश्वास गरिन्छ । सो दिन त्यहाँ स्नान गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ ।

 

 

प्रतिक्रिया दिनुहोस