एनआरएनएका पदाधिकारीलाई गैंडाकोट नगरको सम्मान

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०८२, १८ : ३२
एनआरएनएका पदाधिकारीलाई गैंडाकोट नगरको सम्मान


चितवन l गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनमा गैंडाकोटबाट प्रतिनिधित्व गरी चयन भएका पदाधिकारीलाई नेपाली कांग्रेस गैंडाकोट नगर वडा नं.५ द्वारा सम्मान तथा शुभकामना ज्ञापन कार्यक्रम बिहीबार गैंडाकोट पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस गैंडाकोटका क्षेत्रीय सभापति अमृत भट्टचन प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व एनआरएनए का सचिव तिलक गैरेले ‘हामी गैरआवासीय नेपालीहरु विश्वको जुनसुकै कुनामा रहेको भएपनि सबैभन्दा पहिला आफ्नो नेपाल राष्ट्र नै सबैभन्दा अगाडि आउँछ’ भन्दै नेपाल सरकारले लगानीको लागि उचित वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले ‘सरकारले लगानीमैत्री परिवेश निर्माणका लागि संविधान तथा कानुनमा उचित परिवर्तन आवश्यक रहेको छ’ भन्दै सहकार्यका लागि सधैं तत्पर रहेको बताउनुभयो ।

त्यसैगरी एनआरएनएका सचिव चिन्तामणि सापकोटाले ८० लाख नेपालीको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा एनआरएनए रहेको उल्लेख गर्दै सरकारले मात्रै नभई स्थानीय निकाय अनि समाजले समेत लगानीका लागि स्पष्ट मोडालिटी पेश गर्ने आग्रह गर्नुभयो । उहाँले विकासका लागि आफूहरु सधैं तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘देशमा रहेको पुँजी पलायन रोक्दै गैरआवासीय नेपालीका सन्ततिहरु समेत नेपालमा फर्किने वातावरण होस् भन्ने हाम्रो चाहना रहेको छ’ सापकोटाले बताउनुभयो ।

गैरआवासीय नेपाली संघको हालै सम्पन्न एकताको महाधिवेशनबाट निर्विरोध निर्वाचित सचिवद्वय तिलक गैर, चिन्तामणि सापकोटा, अमेरिका प्रतिनिधि डिलु पराजुली, प्रवक्ता गंगाधर गौतमलाई टिका तथा मायाको चिनोले सम्मान गरिएको उक्त कार्यक्रममा नगर सभापति बद्री सापकोटा, तरुण दलका मोति चालिसे, सुवास आचार्य, नेपाली कांग्रेसका गोविन्द घिमिरे, डोलराज बराल, ऋषिराम बगालेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडाध्यक्ष लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस