काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताएका छन् ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको बताएका हुन् ।
‘जनताले अब ‘सुन्ने’ होइन, ‘अनुभव गर्ने’ विकास खोजेका छन् । योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन्,’ सांसद नेम्वाङले भनेका छन् ।
नेम्वाङले सांसदको रुपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ । सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रुपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण गरेका छन् ।जनतामा साधरणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘अवसरको खोजीमा विदेशिन नपरोस् भन्ने चाहना, खेतीपाती गरेर जिउन सकियोस् भन्ने आशा, छोराछोरीले राम्रो शिक्षा पाऊन् भन्ने इच्छा, र बिरामी पर्दा उपचार पाईयोस् भन्ने विश्वास यी साधारण जस्ता देखिने आकांक्षाहरू आज पनि धेरै नागरिकका लागि अधुरै छन्,’ नेम्वाङले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने ।
आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताउँदै उनले ती मार्गनिर्देशक सिद्धान्तहरू कार्यान्वयनमा ल्याउने प्रयास भएको बताए ।
सरकारले युवाको सशक्तिकरण, सीप विकास, उद्यमशीलता, रोजगारी सिर्जना र नेतृत्वमा लगानी गर्ने प्रतिबद्धता देखाएको उनले बताए । ‘खेलकुद प्रवद्र्धनमार्फत मानसिक र शारीरिक विकासमा समेत योगदान पुर्याउने उद्देश्य प्रशंसनीय छ,’ नेम्वाङले भने ।
योजनाहरूको निरन्तरता—उत्तरदायित्वको प्रतिबद्धता यस नीति तथा कार्यक्रमले अंगिकार गरेको उनले बताए । केवल खर्च गर्ने दस्तावेज मात्रै नभएको सन्देश अहिलेको नीति तथा कार्यक्रमले दिएको उनले बताए ।
‘यो रणनीतिक लगानीमार्फत देशलाई कर र रेमिट्यान्समाथिको निर्भरता घटाउँदै, ऊर्जा, कृषि, पर्यटन र घरेलु उद्योगमा आत्मनिर्भर बनाउने दिशामा अग्रसर भएको छ,’ नेम्वाङले भनेका छन् ।दीर्घकालीन दृष्टिकोण र जनताको साथ आफूहरूले गुमाउन नहुने उनको भनाइ थियो । ‘असफलताबाट पाठ लिँदै, विश्वासका साथ अघि बढ्नु जरुरी छ,’ नेम्वाङले भने ।
युवा, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा लगानीसँगै, स्थानीय नवप्रवर्तन र निजी साझेदारीलाई प्रभावकारी ढंगले अघि बढाउन उनले सुझाव दिए । जनताले विकासको महसुस गर्नसक्नेगरी काम गर्नु आफूहरूको साझा उत्तरदायित्व रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य उपचार गर्न इलामबाट झापा झर्नुपर्ने बाध्यता अन्त्य गरौं : सुहाङ नेम्वाङ
संसदमा सुहाङको पहिलो सम्बोधन: बुवा यहीँ कतै हुनुहुन्छ