एजेन्सी । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ।
गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको छ।उनले थप भनेका छन्- मानिसहरू अस्पताल र अन्य सुरक्षित स्थानमा गइरहेका छन्।
मुगलले पुंछको मुख्य बजारमा रहेको वन विभागको कार्यालयनजिकै एउटा खोल खसेको बताएका छन्।त्यहाँको अवस्था अझै पनि तनावपूर्ण छ।
बुधबार बिहान उरी सेक्टरमा गोलाबारी भएको एक प्रहरी अधिकारीले फोनमा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। यद्यपि, यस विषयमा उनले थप बताउन चाहेनन्।
यही अप्रिल २२ का दिन जम्मु-कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर एक नेपालीसमेत २६ जना मारेको १५ दिनपछि भारतले मंगलबार मध्यराति पाकिस्तानमा हवाई हमला गरेको हो।
आक्रमणमा कति जना मारिए भन्ने विषयमा अहिलेसम्म कुनै पनि भारतीय सञ्चारमाध्यमले एकिन जानकारी दिन सकेका छैनन्।
भारतीय पत्रिका दैनिक भास्करले भने सयभन्दा बढी आतंककारी मारिएको सूचना प्राप्त भएको दाबी गरेको छ।आक्रमणमा ७ सहरका आतंकवादी लुकेका ९ ठाउँलाई निशाना बनाइएको दाबी भारतले गरेको छ।
तर पाकिस्तानले आतंककारीविरुद्धका नाममा भारतले सर्वसाधारण नागरिकमाथि आक्रमण गरेको दाबी गरेको छ। यसलाई भारतले 'अपरेसन सिन्दूर' नाम दिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ बैशाख २०८२, १० : ३८
लेखकबाट थप