गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार ‘अखण्ड आलाप’लाई

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०७५, १८ : ३६
गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार ‘अखण्ड आलाप’लाई

चितवन । साहित्य संगम चितवनले ‘गणेश तथा हस्तकुमारी (लक्ष्मीदेवी) पन्त पुरस्कार २०७५’ कवि मुक्तान थेबालाई दिने निर्णय गरेको छ । 

संगमले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको उक्त पुरस्कार कविता सङ्ग्रह ‘अखण्ड आलाप’को लागि कवि थेबालाई दिन लागिएको हो ।

‘उन्मुक्त पुस्ता’ आन्दोलनका अभियन्ता समेत रहेका कवि थेबाले सामाजिक र राजनीतिक मुद्दाहरूमा कविता लेख्दै आइरहेका छन् ।

उनको यसअघि संयुक्त कविता संग्रहका रुपमा ‘आफर’ र तामाङ भाषामा लेखिएको कविता संग्रह ‘काकलिङ’ प्रकाशित छ ।

वि.सं. २०७४ पुसदेखि २०७५ मंसिरभित्रमा प्रकाशित कृतिहरूमध्ये उत्कृष्टताको आधारमा थेबाको ‘अखण्ड आलाप’लाई पुरस्कृत गर्ने निर्णय गरेको संगमका अध्यक्ष प्रकाश चापागाईंले बताए ।

उनका अनुसार यसअघि यो पुरस्कार निमेष निखिल (२०६५), निभा शाह र सरस्वती प्रतीक्षा (२०६६), सरिता तिवारी (२०६७), धनराज गिरी (२०६८), किसान प्रेमी (२०६९), शकुन्तला जोशी (२०७०), जनकराज सापकोटा (२०७१), सुमनराज श्रेष्ठ (२०७२), मीनराज बसन्त (२०७३) र सुरेन्द्र अस्तफल (२०७४) लाई प्रदान गरिएको थियो ।

एघारौँ संस्करणको पुरस्कार हस्तान्तरण कार्यक्रम यहि माघ ५ गते शनिबार भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा आयोजना गरिने अध्यक्ष चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस