हङकङमा साम्राज्य जमाईरहेका अर्बपति नेपाली

शनिबार, २८ पुस २०७५, १४ : ०७
हङकङमा साम्राज्य जमाईरहेका अर्बपति नेपाली

- शुकदेव चापागाईं 
काठमाडौं । भनिन्छ, नेपाल आर्थिक रुपले विपन्न राष्ट्र हो । तर यसको मतलब यो होईन कि सबै नेपाली गरिब छन् । अधिकांश नेपालीहरु आर्थिक रुपले विपन्न भएपनि नेपालमा जन्मेका केही त्यस्ता नेपालीहरु पनि छन् जसले आफ्नो नाम विश्वमा दर्ज गराएका छन् । अर्काको देशमा गएर संघर्ष गरी आज धनी व्यक्तिहरुको सूचीमा केही नेपालीहरुको पनि नाम स्थापित भएको छ । धनी व्यक्तिहरुको सूचीमा आउने नामहरु मध्ये हङकङमा व्यवसाय गरिरहेका एक जना त्यस्ता नेपाली छन् जसले आफ्नो साम्राज्य जमाईरहेको छ ।

ती नेपाली हुन् ओखलढुंगामा जन्मिएका बलराम चैनराई । उनलाई बलु नामले समेत चिनिन्छ । ब्रिटिश गोर्खा आर्मीमा कार्यरत रही रिटायर्ड भएका पि.जी चैनराईका छोरा हुन्, बलु । बि.सं २०१५ साल असोज महिना (ई.सं. १९५८ अक्टोबर) मा जन्मिएका बलु हङकङका पायोनियर व्यवसायी हुन् । नेपालमा जन्मिएका भएपनि उनले शिक्षा दीक्षा हङकङमै पुरा गरे । उनले क्यान्टोनिज, अंग्रेजी र भारतको सिन्धु क्षेत्रमा बोलिने सिन्धी लगायत विभिन्न देशका भाषा समेत बोल्ने गर्दछन् ।
उनले २६ वर्षको उमेरमा नै हङकङमा व्यवसाय सुरु गरेका हुन् । आज उनी हङकङको अग्रणी व्यवसायीमा पर्दछन् । उनले सन् १९८४ मा हङकङमा हर्निङटन ईन्टरप्राईजेज नामको कम्पनी खोलेका थिए । यो कम्पनीले ईलेक्ट्रोनिक, घरायसी प्रयोजनका, र कम्युटर लगायतका सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्ने गर्दछ । उनको आफ्नो व्यक्तिगत वेभसाईटका अनुसार उनको कम्पनीले वार्षिक २० करोड अमेरिकी डलरको कारोबार गर्ने गर्दछ ।
उनले आफ्नो ईलेक्ट्रोनिक सामानहरुको व्यापार एसिया, मध्य पूर्वी एसिया, युरोप, पूर्वी युरोप, युक्रेन र रसियामा गर्ने गरेका छन् । उनी चैनराई ग्रुप अफ कम्पनीजका सिईओ पनि हुन् । चैनराई ग्रुप अफ कम्पनीज सन् १९४९ मा स्थापना भएको थियो । जुन कम्पनी उनका बुवाले स्थापना गरेका थिए ।

बलुले सन् १९८७ मा हर्निङटन कम्प्युटर्स कम्पनी स्थापना गरे । विशेष गरी उनको कम्पनीले कम्प्युटर र कम्प्युटरसँग सम्बन्धित सामाग्रीहरु उत्पादन र बिक्री वितरण गर्ने गर्दछ । उनले रुसको मस्को स्थित किभ भन्ने ठाउँमा एक व्यापारिक कार्यालय समेत खोलेका छन् । रसिया भरि अकाई, हुन्डाई र टेलिफन्केन ब्राण्डका ईलेक्ट्रोनिक तथा घरायसी सामानहरुको बिक्री वितरण गर्न उनले अफिस खोलेका हुन् ।

उनको हर्निङटन ईन्भेष्टमेन्ट लिमिटेड कम्पनी पनि छ । सन् १९९० मा स्थापना भएको यो कम्पनी बेलायतमा अवस्थित छ । यो कम्पनीले एसिया र युरोपका केही देशहरुमा होटल, रिसोर्ट, घरजग्गा, खानी र सौर्य उर्जामा लगानी गरेको छ । उनले सन् २०१० मा ईंग्लिस प्रिमियर लिग खेल्ने पोर्ट्समाउथ फुटबल क्लब किनेका थिए ।

बलराम जति व्यवसायमा सफल छन् त्यति नै उनी सामाजिक कार्यमा समेत सक्रिय र प्रख्यात छन् । उनी संसारभर हुने विभिन्न च्यारिटी कार्यक्रमहरुमा समेत सहभागी हुँदै उनले आर्थिक सहयोग समेत गर्ने गरेका छन् । उनी रोटरी क्लबका अन्तर्राष्ट्रिय सदस्य हुन् साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत उनको संलग्नता छ । उनी सन् २००१ देखि २००६ सम्म ईन्डियन चेम्बर अफ कमर्श हङकङका उपाध्यक्ष समेत बनेका थिए भने सन् २००७ मा उनी सोही चेम्बरको अध्यक्ष भएका थिए । उनी उद्योगी व्यवसायीको तर्फबाट हङकङ सरकारको हुने उच्चस्तरीय भ्रमण दलमा समेत बारम्बार सहभागी हुँदै आएका छन् ।
उनले ‘द वान’ नाम गरेको एक च्यारिटी संस्था समेत सञ्चालन गरेका छन् । यो एक च्यारिटी संगठन हो ।

प्रतिक्रिया दिनुहोस