रेशम विरही ‘श्रीप्रसाद–रेणुका रेग्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुने

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०७५, १८ : ५६
रेशम विरही ‘श्रीप्रसाद–रेणुका रेग्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुने

भरतपुर । साहित्यकार तथा पत्रकार रेशम विरही ‘श्रीप्रसाद–रेणुका रेग्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् ।प्रगतिशील लेखक संघ, चितवन शाखाले प्रत्येक २ वर्षको अन्तरालमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार २०७५ सालको लागि विरहीलाई दिने निर्णय गरेको हो ।

गोरखाको हर्मीमा जन्मिएर विभिन्न समयमा चितवन, नेपालगञ्ज र काठमाडौँलाई कार्यक्षेत्र बनाई लामो समयदेखि साहित्य लेखन र पत्रकारितामार्फत् नेपाली भाषा र वाङ्मयको सेवा गर्दै आइरहेका विरहीको ९ वटा कृति प्रकाशित छन् ।

उनका ९ वटा कृतिमध्ये मुलाको बोक्रा र आलिमुनिको झ्याउँकिरी (२०३५), भित्ताको रंग (२०५५), मंगली गुप्ताको पान (२०६०), सुन्दरबस्ती (बालकाव्य, २०६५), थालथालमा सपना (२०६९) र तुरुप (२०७४) गरी ६ वटा कविता सङ्ग्रह प्रकाशित छन् । त्यस्तै विरहीको ‘आधारभूत पत्रकारिता शिक्षा’ नामक पाठ्यपुस्तक २०६१ सालमा प्रकाशित भएको थियो ।
गद्य लेखनमा पनि विरही सिद्धहस्त लेखकका रुपमा परिचित छन् । उनले २०७२ सालमा देब्रे आँखा नामक निबन्ध संग्रह ल्याएका थिए । त्यस्तै प्रेमदासको डायरी नामक उनको उपन्यास २०७३ सालमा प्रकाशित भएको थियो ।

प्रगतिशील लेखक संघ, चितवन शाखाद्वारा गठित पुरस्कार छनौट समितिको शनिबार बसेको बैठकले विरहीलाई पुरस्कृत गर्ने प्रस्ताव गरेको थियो । 
पुरस्कार छनौट समितिले गरेको प्रस्तावलाई सदर गर्दै विरहीलाई माघको पहिलो साता पुरस्कार हस्तान्तरण गरिने प्रगतिशील लेखक संघ, चितवनका अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस