यस पटकको चितवन महोत्सवमा पर्यटनलाई प्रमुख प्राथमिकता

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०७५, ११ : ३३
यस पटकको चितवन महोत्सवमा पर्यटनलाई प्रमुख प्राथमिकता

आजको दिनलाई छोडेर गन्ने हो भने चितवन महोत्सव सुरु हुन अब आठ दिनमात्र बाँकी छ । पुस २५ गतेबाट सुरु हुने महोत्सव १० दिनसम्म नारायणी नदी किनारमा चल्नेछ । 
२०५३ सालबाट दुईदुई वर्षको फरकमा हुँदै आएको चितवन महोत्सव यस पटक १२ औं संस्करण हो । नारायणगढको क्याम्पाचौरबाट सुरु भएको महोत्सव नारायणी नदी किनारसम्म आइपुग्दा २२ वर्षको जवान भइसकेको छ । 
यस अवधिसम्म आउँदाको उतारचढाप, हालसम्मको प्रभाव र अहिले हुँदै गरेको चितवन महोत्सवको समष्टिगत विषयमा मूल संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसँग सफल खबरका पत्रकार बाबु कृषभले गरेको कुराकानी :​

१) पहिलेपहिले भइरहेका चितवन महोत्सव र यस पटक हुँदै गरेको चितवन महोत्सवमा केके फरक देख्न सकिन्छ ?
चितवन महोत्सव चितवनको गौरव र गरिमामय प्रस्तुति हो । यो २०५३ सालदेखि हुँदै आएको छ । पहिलो चितवन महोत्सव नारायणगढको क्याम्पाचौरमा भएको थियो । 
त्यहाँदेखिको चितवन महोत्सवलाई मैले नजिकबाट हेर्ने अवसर पाएको छु । क्याम्पाचौरमा साँघुरो भएको महसुस भएपछि महोत्सवको दोस्रो संस्करणदेखि आज १२ औं संस्करणसम्म आइपुग्दा नारायणी नदी किनारमा महोत्सव आयोजना भइरहेको छ । 
पहिलेका चितवन महोत्सव र अहिलेको चितवन महोत्सवमा धेरै नै फरक बनाउने हामीले कसरत गरेका छौँ । महोत्सव भनेपछि खाली पसलजस्ता स्टलमात्र हुनुहुँदैन भन्नेमा हामीले ध्यान दिएका छौँ । 
अवलोकनकर्तालाई केही फरक अनुभूति यसपटकको महोत्सवमा हुनेछ भन्ने अपेक्षा हाम्रो छ । यस वर्षको चितवन महोत्सवमा चितवनको पर्यटनलाई केन्द्रविन्दुमा राखेका छौँ । 
चितवनलाई तेस्रो पर्यटकीय गन्तव्य भनिएको छ, तर हाम्रो जोड दोस्रो गन्तव्य बनाउनमा केन्द्रित हुनेछ । महोत्सवले चितवनलाई दोस्रो पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नेछ । महोत्सवको विविध गतिविधिहरुले चितवनलाई दोस्रो गन्तव्य बनाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । 
यसपटकको महोत्सवमा प्रवेशद्वार कलात्मक बनाइएको छ । प्रवेशद्वारमा दुईवटा हात्तीको ठूलो आकृति प्रवेशद्वारको दायाँबायाँ राखिएको छ । यसबाहेक महोत्सव परिसरमा बालुवामा कुँदिएको माछाको आकृति बनाएका छौँ । यो ज्यादै कलात्मक छ । २० फिट लम्बाइ, १० फिट चौडाइ रहेको माछाको कलात्मक आकृतिले महोत्सवको आकर्षणमा थप टेवा पुग्नेछ ।’
महोत्सवमा रहने स्टलहरु पनि विगतको भन्दा फरक र आकर्षक ढंगले निर्माण गरिएको छ । आधुनिक खालका हुनेछ । खाली पसलजस्तो देखिने स्टलहरुबाट अलिकति माथि उठेका छौँ । सम्भवतः नेपालमै पहिलो पटक कृत्रिम चिडियाखाना यस पटकको महोत्सवमा देख्न पाइन्छ । जहाँ २० वटा जनावरको आकृति देख्न सकिन्छ । १० वटा चितवनमा पाइने जनावरको आकृति हुनेछ । 
यसपटक चार वटा जनजातिका भेषभुषा राखिएको छ । यहाँ आउने अवलोकन कर्ताहरुले विभिन्न जातजातिका भेषभुषा लगाएर फोटो खिच्न सक्नेछन् । यस्तो प्रचलन पहिलेका महोत्सवहरुमा थिएनन् । यसले पनि दर्शकलाई थप मनोरञ्जन दिनेछ । यसबाहेक आदिवासी चेपाङ, दराई, कुमाल र बोटे जनजातिको घरहरु पनि महोत्सवमा देख्न पाइन्छ ।​


२) चितवन महोत्सव हुँदै आएको दुई दशकभन्दा बढी भयो यसले चितवनमा आर्थिक विकासमा केके प्रभाव पारेको देखिन्छ ?
चितवन महोत्सवले अवश्य प्रभाव पारेको छ । पहिलो त यहाँ उत्पादन भएको केरा, तरकारी, माछालगायतले बजार पाइरहेका छन् । यहाँको व्यवसायमा चितवन महोत्सवले प्रवद्र्धन गरेको छ । पर्यटन क्षेत्रमा पनि महोत्सवले प्रभाव पारेको छ । हिजो नारायणी नदी किनारमा घुमघाम गर्न मान्छे आउँथेनन्, तर आज नदी किनारमा हजारौँ मानिसहरु आइरहेका हुन्छन् । यो महोत्सवको प्रभाव हो ।
प्रत्येक पटकको महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सव घुम्न आउनेले समग्र चितवन जिल्लालाई चिनेका हुन्छन् । यसले पर्यटनमा ठूलो टेवा पुराएको छ । महोत्सवमा गोष्ठी, सेमिनारहरु आयोजना हुन्छन् । त्यो गोष्ठीमा कुनै न कुनै निष्कर्ष निकाल्छौँ । त्यो निष्कर्षलाई सम्बन्धित ठाउँमा पु¥याउने गरेका छौँ । चितवन महोत्सवमा गरेका निर्णयहरुलाई नेपाल सरकारका नीति तथा कार्यक्रममा समेटिएको छ । नीतिगत तहमा महोत्सवबाट पारित भएका निर्णयहरु नेपाल सरकारले कार्यान्वयनमा ल्याएको छ । 
चितवन अहिले पोल्ट्रीको राजधानी मानिन्छ, यहाँसम्म पोल्ट्रीलाई ल्याउन महोत्सवले भूमिका खेलेको छ । विगतमा पोल्ट्री मेला पनि भए । यसले चितवनलाई पोल्टीको राजधानी बनाउन सहयोग गरेकै हो । 
यसअघिको चितवन महोत्सवमा केरालाई प्राथमिकता दिइएको थियो । अहिले चितवनमा ३ हजार बिघामा केरा खेती भइरहेको छ । यसअघिको चितवन महोत्सवमा माछालाई प्राथमिकता दिइएको थियो, अहिले चितवनमा माछापालन फस्टाइरहेको छ । अहिले माछामा हामी आत्मनिर्भर हुन सकेका छौँ । कुनै बेला दुग्ध क्षेत्रलाई पनि प्राथमिकता दिइएको थियो । अहिले दूधमा चितवन आत्मनिर्भर नै भइसकेको छ । 

३) यस पटकको चितवन महोत्सवमा कुनकुन क्षेत्रलाई प्राथमिकता दिइएको छ ?
यस वर्षको चितवन महोत्सवमा मुलतः पर्यटनलाई प्राथमिकता दिइएको  छ । चितवनको विभिन्न पर्यटकीय गन्तव्यको ५० वटा फोटो खिचेर हामीले पर्यटकीय गाइड बुक प्रकाशन गर्न लागेका छौँ । उद्घाटन कार्यक्रममा पर्यटन बुकको विमोचन हुनेछ । यो अगेंजी र नेपाली दुबै भाषामा रहेको छ । यसबाहेक कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । कृषि, स्वास्थ्य, पर्यटन र शिक्षाको विषयमा कार्यशाला यस पटक आयोजना हुँदैछ । चितवन मेडिकल सिटीको रुपमा विकास भइरहेको छ । महोत्सवमा हुने सेमिनारले  चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्न र शिक्षाको हब बनाउन सहयोग पुग्नेछ । कृषिमा हुने सेमिनारले कृषिमा महत्वपूर्ण योगदान दिनेछ ।

४) चितवन महोत्सव सुरु हुनुअघि टोलटोलमा मेला महोत्सवहरु आयोजना भए, यसले चितवन महोत्सवलाई केही हानी गर्छ कि ?
चितवन महोत्सको ख्याति कुनै महोत्सवसँग तुलना गर्न सकिदैन । यसको आफ्नै विशेषता छ, पहिचान छ । यो महोत्सव कुनै व्यक्ति विशेषले ठेक्का लिएर गरेको होइन, यसमा सिङ्गो जिल्ला लागेको छ । स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म यसमा कुनै न कुनै भूमिका छ । 
विगत दुई दशकभन्दा बढी समयदेखि चितवन महोत्सव हुँदै आएको छ । यो महोत्सव जिल्लाको गौरव हो । टोलटोलमा हुने महोत्सवलाई निरुत्साहित गर्र्नुपर्छ भन्ने हाम्रो मान्यता छ । 
विभिन्न समूहको नाममा हुने महोत्सवलाई अंकुश लगाउन जिल्ला प्रशासन कार्यालय लागेको छ । सम्बन्धित उद्योग वाणिज्य संघको स्वीकृति लिएर मात्र महोत्सव गर्न पाइने नियम छ । अब पहिलेजस्तो टोलटोलमा महोत्सव नहुने हाम्रो विश्वास छ । 
टोलमा हुने कुनै मेला महोत्सवले चितवन महोत्सको जुन इतिहास छ, जुन लोकप्रियता छ, यसको छविमा कुनै आँच आउँदैन । विगतका महोत्सवमा पनि केही बाधा अवरोधहरु आएका हुन्, तर यसको लोकप्रियता र इतिहासले यसको महिमा झन बढाएको थियो ।  

५) चितवन महोत्सवको तयारी कसरी अगाडि बढाइएको छ ?
चितवन महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने पक्का भएको छ । प्रधानमन्त्री नै आउने भइसकेपछि यसको तयारी पनि त्यही रुपमा अगाडि बढाइरहेका छौँ । 
१० दिनसम्म हुने महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने अनुमान हामीले गरेका छौँ । त्यही अनरुप अहिले तयारी पनि भइरहेको छ । धमाधम नारायणीकिनार झकिझकाउ बनिरहेको छ । स्टल निर्माणका कामहरु भइरहेका छन् । महोत्सवको मुख्य आकर्षण मूल गेट निर्माण भइरहेको छ । आदिवासी जनजातिका घरहरु बनिरहेका छन् ।
चितवन महोत्सवलाई लक्षित गर्दै नारायणीकिनार सरसफाइ पनि भइरहेको छ । महोत्सवको प्रचारप्रसारको कामलाई पनि तीव्र पारिएको छ । फन पार्क निर्माणको काम पनि भइरहेको छ । महोत्सवमा ६ वटा विशेष स्टल र ५०० स्टल रहनेछन् । यस वर्ष बाल उद्यानको नाम फन पार्कले लिएको छ । त्यहाँ बालबालिका मात्र नभई, युवा, पौढ पनि जाने भएकाले बालउद्यान नाम परिवर्तन गरेर फन पार्क राखेका छौँ । साह्रै ध्वनि प्रदुषण गर्ने खेलहरु रहने छैनन्, नयाँ खेलाहरु थप गरिएको छ ।  

६) २५ करोडको कारोबार गर्ने लक्ष्य रहेछ, यसको आम्दानी केके लगानी गर्ने योजना छ ?
चितवन महोत्सव समग्र जिल्लाकै विकासको लागि हो । विगतका वर्षहरुमा पनि महोत्सवको आम्दानीको ६० प्रतिशत नारायणी नदी किनारमा खर्च गरिएको इतिहास छ, यस वर्ष पनि यही हुन्छ । खर्च कटाएर भएको आम्दानीको ६० प्रतिशत नारायणी नदी किनारमा खर्च गरिन्छ । १० वर्षअघिको नारायणी नदी किनार र अहिलेको नारायणी नदी किनारमा आकाशपातालको फरक छ । महोत्सवको आम्दानीको लगानीले नारायणी नदी किनारको रुप परिवर्तन भएको हो । यस पटकको आम्दानी नारायणी नदी किनार र अन्यमा खर्च गर्ने योजना बनाएका छौँ । 
हामी नारायणी नदी किनार महानगरको सम्पत्ति हो । यसको विकास गर्न हामीले चाहेका छौँ । हामीलाई महानगरले यसमा सहयोग गर्नेछ, यसको विकास गर्न पाउने हामीले अपेक्षा गरेका छौँ । 

प्रतिक्रिया दिनुहोस