संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, १३ : २६
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ। संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ । आज मनोनयन दर्ताको समय छ । सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने बस्तीका अनुसार भोलि साँझ ५ बजे निर्वाचन हुँदै छ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

सुनुवाइ समिति सभापतिको पद यही भदौ १० गतेदेखि रिक्त छ । सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली छ । न्यौपाने सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन् ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीका नियम २५ मा राजीनामा दिएमा सभापति पद रिक्त हुन सक्ने लगायतका प्रावधान छ । रिक्त भएको पदमा पुनः पदपूर्ति गर्ने सम्बन्धी व्यवस्था संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा छैन ।

तर, संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीको नियम ४४ मा संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा नभएका विषय प्रतिनिधि सभा नियमावली बमोजिम हुने भनिएको छ ।

प्रतिनिधि सभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस